जनकपुर पुगेका अमेरिकी राजदूत -यान्डी बेरीले २८ कात्तिकमा ट्विटरमार्फत जानकी मन्दिर परिसरमा खिचिएको आफ्नो तस्बिर मात्र सार्वजनिक गरेनन्, गंगासागरको महागंगा आरतीमा सहभागी हुन पाउँदा धन्य बनेको उल्लेख पनि गरे । पाँच वर्षअघि ‘सेभ द हिस्टोरिकल जनकपुर’को पहलमा सुरु भएको महागंगा आरती लोकप्रिय बन्दै गएको पछिल्लो उदाहरण हो, राजदूत बेरीको ट्विट ।
पछिल्लो समय जनकपुर पुग्ने भिआइपी पाहुनाको मुख्य आकर्षण बनेको छ, यो आरती । गृहनगर आएका वेला पूर्वराष्ट्रपति डा. रामवरण यादव पनि साँझ महागंगा आरतीमा सहभागी हुन छुटाउँदैनन् । जनकपुरमा वास परेका वेला अन्य शीर्ष नेताहरू पनि आरतीस्थलमा पुगेर केही समय बिताउँछन् । ०७१ सालको दशहरादेखि मुलुकमै पहिलोपटक गंगासागर तटमा आरती गर्न थालिएको हो । त्यसअघिसम्म भारत वनारसको गंगा नदी तटमा मात्र यस्तो आरती हुने गथ्र्यो ।
महागंगा आरतीमा एकसाथ गंगा, जानकी र भगवान् शिवको आराधना हुन्छ । ‘त्यसैले यसको बेग्लै महत्व छ,’ जानकी मन्दिरका छोटा महन्थ रामरोशन दास भन्छन् । त्रेतायुगमा राम–सीता विवाहअघि श्रीरामले शिव धनुष तोड्दा त्यसको एउटा टुक्रो खसेको स्थलमा गंगासागर निर्माण गरिएको जनश्रुति छ । ‘सेभ द हिस्टोरिकल जनकपुर’का अध्यक्ष तथा प्रदेश सांसद रामआशिष यादवका अनुसार वनारसको आरतीबाट प्रभावित भएर गंगासागरमा पनि त्यस्तै आरती सुरु गरिएको हो ।
वनारसको आरतीबाट प्रभावित भएर गंगासागरमा पनि त्यस्तै आरती सुरु गरिएको हो । वनारसबाट आएका पण्डितहरूले जनकपुरकै सात युवालाई तालिम दिए । र, अहिले तिनै युवाले आरती सञ्चालन गर्छन् ।
वनारसबाटै पण्डितहरू झिकाएर यसको सुरुवात गरिएको थियो । उनीहरूले जनकपुरकै सात युवालाई तालिम दिए । र, अहिले तिनै युवाले आरती सञ्चालन गर्छन् । ‘जलको संरक्षण र प्रकृतिको पूजा नै महागंगा आरतीको विशेषता हो,’ सांसद यादव भन्छन्, ‘त्यसैले जलकी देवी गंगा र जमिनकी देवी जानकीको एकसाथ पूजा हुन्छ, यस आरतीमा ।’
साँझपख करिब डेढ घन्टा गंगासागर तटको रौनक फरक हुन्छ । तीनजना पण्डितले धार्मिक धुनका साथ आरती गर्ने गर्छन् । त्यसक्रममा आरतीको थाली आराध्यसमक्ष विशेष विधिपूर्वक घुमाइन्छ । आरतीको टुकीमा घ्यू वा तेलको दियो राखिएको हुन्छ । उक्त टुकीमा कपुर पनि मिश्रण गर्ने गरिन्छ । आरतीका साथमा भजन र नृत्य पनि हुने गर्छ । आरती सुरु हुनु एक घन्टाअघिदेखि भक्तजनको भीड एकत्रित भएको हुन्छ ।