Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर ३ मंगलबार ०६:१९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

आगामी शैक्षिक सत्रदेखि कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम लागू हुने

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर ३ मंगलबार ०६:१९:००

अब ११ र १२ मा ६–६ विषय पढाइने, १५ विषयको पाठ्यक्रम पारित, ४० विषयको पारित गर्ने तयारी, कक्षा १ को पाठ्यक्रम १०३ विद्यालयमा परीक्षण

सरकारले आगामी शैक्षिक सत्रमा कक्षा १ र ११ बाट नयाँ पाठ्यक्रम सुरु गर्ने भएको छ । पाठ्यक्रम विकास केन्द्रले १५ विषयको पाठ्यक्रम राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्बाट पारित गरिसकेको छ भने ४० विषयको पाठ्यक्रम तयार गरी पारित गर्न परिषद्मा लैजाँदै छ । 

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा. लेखनाथ पौडेलले आगामी वैशाखबाट कक्षा १ र साउनदेखि कक्षा ११ को पाठ्यक्रम सुरु गर्ने जानकारी दिए । उनले विद्यार्थी संख्या धेरै हुने १५ विषयको पाठ्यक्रम पारित भइसकेको, ४० विषयमा पाठ्यक्रम निर्माण गरी परिषद्बाट पारित गर्ने तयारी भएको बताए । 

अघिल्लो वर्षदेखि नै नयाँ पाठ्यक्रम लागू गर्ने भनिए पनि तयारी कम र निजी विद्यालय सञ्चालकहरूले गुनासो गरेका कारण लागू हुन सकेको थिएन । अघिल्लो वर्ष सात विषय पढाउनुपर्ने व्यवस्था भए पनि त्यसलाई परिवर्तन गरी ६ विषय पढाए पुग्ने व्यवस्था गरिएको थियो ।

 केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूपमा केही परिवर्तन गरेर ०७७ देखि नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको हो । यसअघि सातवटा विषय पढाउनुपर्ने व्यवस्था गरेकामा नयाँ व्यवस्थाअनुसार केन्द्रले ६ विषय पढाउनैपर्ने र क्रेडिट आवर कम भएका विषय पढ्नेले थप एक विषय पढ्न सक्ने व्यवस्था गरेको छ । केन्द्रले राष्ट्रिय पाठ्यक्रमको प्रारूप परिवर्तन गरी नयाँ व्यवस्था गरेको हो । 

निर्देशक पौडेलले आगामी शैक्षिक सत्रमा कक्षा १ र ११ बाट सुरु भएपछि कक्षा १ माथि माथिल्लो कक्षा र ११ बाट १२ तथा तल्ला कक्षामा नयाँ पाठ्यक्रम लागू गर्दै जाने बताए । ०७८ मा कक्षा ६ बाट पनि नयाँ पाठ्यक्रम लागू गर्ने गरी तयारी भइरहेको उनको भनाइ छ । ‘०७७ मा कक्षा ६ को पाठ्यक्रम परीक्षण गर्नेछौँ,’ पौडेलले भने । 
यस वर्ष पाठ्यक्रम विकास केन्द्रले १८ जिल्लाका एक सय तीन विद्यालयमा कक्षा १ को पाठ्यक्रमको परीक्षण 

गरिरहेको छ । केन्द्रका कार्यकारी निर्देशक पौडेलका अनुसार कक्षा ११ मा विषयका केही च्याप्टर परीक्षण हुने बताए । कक्षा १ देखि १२ सम्म विद्यालय शिक्षा भए पनि क्रेडिट आवर भने फरक छ । कक्षा ४ देखि १० सम्म एउटा विषयमा ३२ क्रेडिट आवर राखिएको छ । त्यसैगरी, कक्षा ११ र १२ मा भने क्रेडिट आवर विषयअनुसार फरक छ । कक्षा ११ मा विषयअनुसार २७ देखि ३२ क्रेडिट आवर कायम गरिएको छ । 

यस्तो छ कक्षा ११ र १२ को व्यवस्था
विद्यालय शिक्षामा साधारण, टेक्निकल र परम्परागत धार छुट्याइएको छ । कक्षा ११ र १२ मा संकायका रूपमा विषय नछुट्याए पनि उच्च शिक्षा कुन संकायमा लिने भन्ने आधारमा विषय छनोट गर्न सक्ने व्यवस्था छ । साधारण र टेक्निकल धारमा पनि ऐच्छिक विषय हुनेछन् । 

कक्षा ११ र १२ मा तीन–तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक विषय छनोट गर्न सकिनेछ । कक्षा ११ मा अंग्रेजी, नेपाली र सामाजिक विषयलाई अनिवार्य गरिएको छ । त्यसैगरी, कक्षा १२ मा नेपाली, अंग्रेजी र जीवनोपयोगी शिक्षालाई अनिवार्य गरिएको छ । तीनवटा ऐच्छिक विषय लिनुपर्ने र एउटा थप लिन सक्ने गरी व्यवस्था छ । कक्षा ११ र १२ मा एक सयभन्दा बढी विषय हुनेछन् । 

नयाँ र पुरानो संरचनामा फरक
अहिलेको र नयाँ पाठ्यक्रममा फोकस फरक हुन्छ । कक्षा १२ विद्यालय तहको अन्तिम कक्षा हो । त्यो पार गर्दासम्म केही सिके पनि आफ्नो जीवनयापन र रोजगारीका लागि केही न केही सीप पाउने व्यवस्था अबको पाठ्यक्रममा हुने निर्देशक पौडेलले बताए । नयाँ पाठ्यक्रममा प्राविधिक धार पनि छ । प्राविधिक धार भएपछि मध्यमस्तरको जनशक्ति उत्पादन हुने पौडेलले बताए ।