मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर २ सोमबार ११:३६:००
Read Time : < 1 मिनेट
प्रदेश

अलैँचीका बिरुवा नर्सरीमा सुक्दै 

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २ सोमबार ११:३६:००

बजार नपाउँदा रुकुम (पश्चिम)मा उत्पादन भएका अलैँचीका १५ हजार बिरुवा नर्सरीमै रहेका छन् । असार–साउनमै रोप्नुपर्ने बिरुवा अहिलेसम्म बिक्री नहुँदा खेर जाने अवस्थामा पुगेका हुन् । 

जिल्लाको चाँपास्थित समशीतोष्ण तरकारी बिउ उत्पादन केन्द्रले अलैँचीका १५ हजार बिरुवा उत्पादन गरेको छ । गत वर्ष र यस वर्ष नयाँ उत्पादन गरिएका एक लाख ५० हजार रुपैयाँ बराबरका बिरुवा बिक्री नभएको केन्द्रका प्रमुख किशोरमान श्रेष्ठले बताए । ‘जिल्लाभित्र र बाहिर बजार नपाउँदा तयारी अवस्थामा रहेका बिरुवा यत्तिकै थन्काउनुको विकल्प छैन,’ श्रेष्ठले भने । 

असारदेखि नै बिरुवा बिक्रीका लागि स्थानीय तह, कृषकलगायत सरोकारवाला सबैलाई आग्रह गर्दा पनि बिक्री नभएको उनले बताए । सस्तो मूल्यमा बिक्री गर्दा पनि स्थानीय कृषकले वास्ता नगरेको उनको भनाइ छ । केन्द्रले प्रतिबिरुवा १० रुपैयाँ तोकेको छ । 

केन्द्रले गत वर्ष अलैँचीका २५ हजार बिरुवा बिक्री गरेको थियो । यो वर्ष भने अहिलेसम्म एउटा पनि बिरुवा बिक्री नभएको उलने बताए । ‘बिरुवा दिनदिनै बढिरहेका छन्, जति पुराना हुँदै छन् त्यति नै संरक्षणका लागि मुस्किल भइरहेको छ,’ उनले भने । 

केन्द्रका अनुसार, जिल्लामा बर्सेनि लाखौँ मूल्य बराबरका अलैँचीका बिरुवा खपत हुने गरेका छन् । तर, जिल्ला बाहिरबाट आयात हुँदा केन्द्रले उत्पादन गरेका बिरुवा बिक्री नभएको श्रेष्ठको भनाइ छ । ‘जिल्ला बाहिरबाट ल्याउँदा बिलमा तलमाथि गर्न पाइन्छ, यहीँ खरिद गर्दा केही हुँदैन । कमिसनको लागि यहाँका बिरुवा खरिद भएनन्,’ उनले भने ।