१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका धनगढी
२०७६ मङ्सिर १ आइतबार १२:२३:००
Read Time : > 1 मिनेट
प्रदेश

हजार गाई अटाउने गौशाला बनाइँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका धनगढी
२०७६ मङ्सिर १ आइतबार १२:२३:००

कैलालीको लम्की–चुहा नगरपालिकाले छाडा गाईको व्यवस्थापनका लागि गौशाला बनाउन सुरु गरेको छ । एक हजार गाईको व्यवस्थापन गर्ने लक्ष्यसहित लम्की–चुहा नगरपालिका–३ स्थित कैलाशधाम क्षेत्रमा गौशाला भवनको शिलान्यास गरिएको छ ।

छाडा चौपाया समस्याका रूपमा रहेकाले व्यवस्थापन गर्न लागिएको मेयर महादेव बजगाईँले बताए । आयआर्जनसँग जोडेर गाई व्यवस्थापन गरिने उनको भनाइ छ । गाईको गोबरलाई जैविक मलका रूपमा किसानलाई बिक्री गरिने नगरपालिकाको योजना छ । 

त्यस्तै, गाईको गहुँतलाई हिन्दू धर्मावलम्बीले पूजाआजामा प्रयोग गर्ने भएकाले बिक्री गर्नका लागि पतञ्जलिसँग सहकार्य भएको उनले बताए । ‘आम्दानी हुन छाडेपछि नागरिकले छाडेका गाईलाई आम्दानीसँग जोडेर व्यवस्थापन गर्ने लक्ष्य हो,’ मेयर बजगाईँले भने, ‘जैविक मल र गहुँत बिक्रीबाट हुने आम्दानीले गाई व्यवस्थापनमा सहज हुने ठानेका छौँ ।’ गौशाला निर्माण र व्यवस्थापनमा एक करोड ५० लाख खर्च हुने जनाएको छ । यसका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा ४० लाख बजेट छुट्याएको छ ।

गाईको गोबरलाई जैविक मलका रूपमा कृषकलाई बिक्री गरिने लम्की चुहा–३ का वडाध्यक्ष भक्त चलाउनेले बताए । यसले कृषि उत्पादन बढाउन पनि मद्दत पुग्ने उनको भनाइ छ । अहिले डेढ सय गाईलाई संरक्षण गरी राखिएको छ । गौशालाबाट निकालेर बिहान जंगलमा छाड्ने र बेलुकी ल्याएर थुन्ने गरिएको उनले बताए । आर्थिक अभावले आहारा व्यवस्थापन गर्न नसकिएको धामका संरक्षक भूपेन्द्र जोशीले बताए ।

दर्जनौँको संख्यामा राजमार्गमा हिँड्ने छाडा चौपायाले दुर्घटना बढेका छन् । चौपायाले बालीनाली खाएर सखाप पार्ने गरेका स्थानीय किसानको गुनासो छ । 

व्यवस्थापनको खाका बनाइँदै
गौशालाको केही दिनअघि शिलान्यास गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कैलाली र कञ्चनपुरमा ठूलो समस्याका रूपमा देखिएको छाडा चौपाया व्यवस्थापनमा सरकार जुटेको बताए । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले छाडा चौपाया व्यवस्थापनको खाका तयार गरिरहेको मुख्यमन्त्री भट्टको भनाइ थियो । 

मुख्यमन्त्री भट्टले केही दिनअघि स्थानीय तहका प्रमुखसँग छाडा चौपाया व्यवस्थापनबारे छलफल गरेका थिए । चौपाया व्यवस्थापनको खाका तयार पार्ने जिम्मा मन्त्रालयलाई दिने निर्णय उक्त छलफलमा भएको थियो । सरकारले स्थानीय तहसँग मिलेर चौपाया व्यवस्थापन गर्ने उल्लेख गर्दै मुख्यमन्त्री भट्टले यसमा आवश्यक परे संघीय सरकारको पनि सहयोग मागिने बताए । 

कैलाली र कञ्चनपुरमा राजमार्ग क्षेत्रमा मात्रै सयौँ छाडा चौपाया रहेका छन् । छाडा चौपाया व्यवस्थापनका लागि स्थानीय तहले लाखौँ रुपैयाँ खर्च पनि गरेका छन् । तर, व्यवस्थापन हुन सकेको छैन ।