मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर १ आइतबार ११:४३:००
Read Time : > 3 मिनेट
अन्तर्वार्ता

उपलब्ध लगानी उपकरणमध्ये ऋणपत्र सबैभन्दा सुरक्षित छ : जनक शर्मा

Read Time : > 3 मिनेट
२०७६ मङ्सिर १ आइतबार ११:४३:००

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकलाई अनिवार्य रूपमा ऋणपत्र निष्कासन गर्नुपर्ने व्यवस्था गरेको छ । बैंकमा लगानीयोग्य तरलता अभाव भएपछि सबै वाणिज्य बैंकले चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र बिक्री खुला गर्नुपर्ने व्यवस्था गरेको हो, जसअनुसार सन्राइज बैंकले पनि ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला गरेको छ । १०.२५ प्रतिशत ब्याज तोकिएको ऋणपत्र १९ मंसिरसम्म बिक्री खुला रहनेछ । ७ वर्षको समयावधि रहेको र प्रतिकित्ता १ हजार रुपैयाँँ तोकिएको ऋणपत्र बिक्रीको अवस्था र ऋणपत्रसम्बन्धी विभिन्न जानकारी दिने उद्देश्यले सुदीपकुमार ढुंगानाविजयराज खनालले बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालसँग गरेको कुराकानी :

 

जनक शर्मा पौड्याल
सिइओ, सन्राइज बैंक लिमिटेड

सन्राइज बैंकले जारी गरिरहेको ऋणपत्रमा कस्तो आकर्षण देखिएको छ ?
ऋणपत्रप्रति आकर्षण बढेको मैले पाएको छु, जुन किसिमले सर्वसाधारण र संघ संस्थाबाट प्रतिक्रियाअनुसार म सन्तुष्ट छु । हुन त छिटोमा बिक्री बन्द गर्ने म्याद सकिएको छ । तर, त्यो धेरै छोटो अवधि हुने गर्छ । हामीले जति रकमको ऋणपत्र निष्कासन गरेका छौँ । त्यसअनुसार केही समय त लाग्छ नै निजी क्षेत्रले गरेको मागसमेत जोड्ने हो भने एक अर्ब ६५ करोडभन्दा बढीको बुकिङ भएको जानकारी आएको छ । पब्लिकको हिसाबले चार दिनमा ५ करोडको माग हुनु भनेको आफैंमा पनि राम्रो र ठूलो कुरो हो । रेटिङको हिसाबले पनि एकदमै सुरक्षित र डिफल्टको सम्भावना शून्य भएको, जोखिम न्यून भएको र पे ब्याकको हिसाबले जोखिम हुँदै नभएको हुनाले १०.२५ प्रतिशत प्रतिफल दिने योभन्दा उपयुक्त लगानीको माध्यम अहिले बजारमा छैन । विशेष अवसर खोजेर बसिरहेको ग्राहकका लागि यो सबैभन्दा राम्रो विकल्प भएको कुरो सबैले बुझिसकेका छन् । 

निक्षेपकोे ब्याजदर ३ महिनामा पाइने भएकाले ऋणपत्रको ब्याज भुक्तानी अवधिलाई पनि घटाउनुपर्ने धारणा आइरहेका छन्, सम्भव छ ?
यसको नियमन फरक छ । त्यसैले सामान्य बचत वा मुद्दतीजस्तो फ्रिक्वेन्सीमा जाने कुरा भएन । तीन महिनामै ब्याज पाए हुन्थ्यो भन्ने सोच्नु ठिक हो । तर, हिसाबले ६÷६ महिनामा ब्याज दिनु पनि ठिकै हो । किनभने, कतिपय बचतपत्र अथवा यस्ता ऋणपत्रमा म्याचुरिटीमा पनि आउने गरेको हुन्छ । डिस्काउन्ट गर्न सकिन्छ । त्यो आप्mनो ठाउँमा छ । अहिले आएका यस्ता फिड ब्याकलाई हामीले ध्यान दिएका छौँ । किनकि पछिका समयमा अहिलेको फिड ब्याकबाट अघि बढ्न सहज हुन्छ । 

 ऋणपत्रको परिपक्व अवधिकै कारण छोटो समयमा ब्याज भुक्तानी पाइयोस् भन्ने लगानीकर्ताको चाहना हो नि ? 
१०–१५ वर्षको अवधि मानिसलाई लामो हुन्छ । कतिपय मानिसलाई छोराछोरीको विवाह गर्ने समय गुज्रेला । कतिले आफैँ प्रयोग गर्न नपाउलान् । तर, यो सातवर्षे ऋणपत्र भने एकदम ठिक समयको छ । यो एकदमै छोटो समयको पनि भएन र धेरै लामो समयको पनि होइन । त्यसैले आत्तिनुपर्ने अवधि पनि भएन । एउटा निश्चित ब्याज पनि पाइरहने भयो । आजभन्दा ७ वर्षअगाडि फर्किने हो भने चार वर्षभन्दा अगाडिसम्म बैंकले मुद्दतीमा ५ प्रतिशत पनि ब्याज नदिएको अवस्था थियो । अबको केही वर्षपछि फेरि त्यही धरातलमा पुग्यो भने पनि अहिले ऋणपत्र किन्नेले त १० प्रतिशतभन्दा बढी नै पाउँछ । 

हालसम्म दोस्रो बजारमा ऋणपत्रको कारोबार न्यून छ । अब सबै वाणिज्य बैंकले ऋणपत्र जारी गर्नैपर्ने भएकाले सेयर बजारमा कारोबार बढ्ला ? 
राष्ट्र बैंकले जब मौद्रिक नीतिमै वाणिज्य बैंक ऋणपत्रमा जानुपर्ने प्रावधान ल्यायो । लामो हिसाबले हेर्ने हो भने यो सही हिसाबले आएको छ र सकारात्मक ढंगले नै अघि बढ्छ । सन् १९९४ को हाराहारीमा जब नबिल बैंक खुलेको थियो । त्यो वेलासम्म जनतालाई सेयरको मूल्यलगायत केही कुरा पनि थाहा थिएन । जारी गरिएको सेयर नै बिक्री हुँदैनथ्यो । जब उनीहरूले कमाएर प्रतिफल दिन थाले, त्यसपछि बजारमा बैंक पनि थपिए । लगानीकर्ता पनि थपिए । 

त्यसवेला ग्रिन्डलेज बैंक वा नबिल बैंकको १० कित्ता सेयर हुनेले अहिले करिब २ करोड कमायो होला । जबकि त्यसको दोब्बर नगद पनि पाएका छन् । दोस्रो र तेस्रो चरणमा बैंक आउँदा मानिसले प्रसस्त बुझे । आइपिओ छोड्नु हुन्न है भन्ने भयो । तर, ऋणपत्र अहिले पनि बजारमा कारोबार भइसकेको वा खुला रूपले मानिसले बुझिसकेको अवस्था छैन । 

ऋणपत्रको आपूर्तिचाहिँ बढ्छ । २८ वटै बैंकले पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्दा यसको आपूर्ति बढ्नु स्वाभाविक पनि हो । विश्वमा बन्डको बजार राम्रो छ । नेपालमा बन्डबारे सर्वसाधारणले बुझेका छैनन् । ऋणपत्र पनि धेरै कमले मात्र बुझेका छन् । यो एकदम सुरक्षित छ किनभने साधारण सेयर, अग्राधिकार सेयरभन्दा अगाडि यो आउँछ । कम्पनी खारेजीमा गयो भने पनि सबैभन्दा पहिले यो भुक्तानी गर्नुपर्छ । एकदमै खराब अवस्थामा पनि ऋणपत्रका लगानी सुरक्षित हुने हुनाले आँखा चिम्लेर लगानी गर्दा हुन्छ । 

 त्यसो भए दोस्रो बजारमा कारोबार बढ्छ ?
राष्ट्र बैंकले धेरै प्रकारका विनिमयपत्र, ऋणपत्र खरिद–बिक्री हुन सकून् । बन्ड मार्केटको अलिकति विकास होस् भन्ने किसिमले जसरी आएको छ, यो समयसापेक्ष छ । भोलिका दिनमा नेपालका इन्स्ट्रुमेन्ट सिंगापुरमा कारोबार हुन् । सिंगापुरका इन्स्ट्रुमेन्ट नेपालमा किन्ने र कारोबार गर्ने पनि हल्ला होस् । आजको दिनमा खुला अर्थतन्त्र हुँदाहुँदै पनि हामीलाई आफ्नाअप्ठेरा छन् । विदेशी मुद्रा लिनका लागि विचारै गर्नुपर्छ । भोलिका दिनमा यी पनि खुला हुन्छन् र बोन्ड मार्केट नेपालमा विकसित हुन्छ ।
पहिला–पहिला ऋणपत्रबाट ८० प्रतिशत ऋण पाइन्थ्यो । अहिले शतप्रतिशत नै ऋण पाइन्छ । बैंकलाई पनि समस्या छैन । सिसिडीमा पनि छुट दिएको छ । 

बैंकले हरेक वर्ष २० प्रतिशतका दरले अलग्गै सञ्चित कोष बनाएर जम्मा गर्दै जान्छ । त्यसैले परिपक्व अवधि नपुग्दै सबै रकम जम्मा भइसकेको हुन्छ । त्यसैले यसमा जोखिम छैन । प्रतिफलको हिसाबले पनि यो एकदमै राम्रो छ । जोखिमका आधारमा पनि कम जोखिम छ । एउटा तटस्थ निकायले गरेको रेटिङमा ए माइनस छ । यसले शून्य जोखिम संकेत गर्छ । 

 ऋणपत्रकै कारण बैंकले लभांश घटाउँछन् कि भन्ने आशंका पनि लगानीकर्तामा छ । यस्तो हुन्छ त ? 
यसमा कमी आउँदैन । किनकि हामीले हरेक वर्ष ऋणपत्र कोषमा फन्ड छुट्याएर जान्छौँ । यसको ब्याज दायित्व महँगो नै हुन्छ । त्यसपछिको नाफाबाट हामीले सेयर लगानीकर्तालाई डिभिडेन्ड तोक्ने हो । ऋणपत्र भनेको एउटा पूरक पुँजीको रूपमा मात्र रहन्छ । यसले तत्काल सिसिडीलाई सहयोग पुर्‍याउँछ । यत्रो मात्रामा ऋण उठाउँदा बजारमा रकमको अझ कमी हुन्छ कि भन्ने प्रश्न पनि उठ्ने गरेको छ । हो, यसले बजारमा रकमको कमी हुने अवस्था हुन्थ्यो । तर, यसको शतप्रतिशत रकम नै लगानी गर्न पाउने गरी राष्ट्र बैंकले व्यवस्था गरेको हुनाले वातावरण अहिलेभन्दा सहज हुन्छ ।