मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
पूर्णप्रसाद न्यौपाने
२०७५ पौष २७ शुक्रबार १६:१६:००
Read Time : > 1 मिनेट
समाचार

ओखलढुंगामा ३२ विद्यालय पुनर्निर्माण सम्पन्न, १ सय १२ वटा बन्दै

Read Time : > 1 मिनेट
पूर्णप्रसाद न्यौपाने
२०७५ पौष २७ शुक्रबार १६:१६:००

ओखलढुंगामा भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ शिक्षाले विद्यालय पुननिर्माणको काम अघि बढाएको हो । 

२०७२ को भूकम्पबाट क्षतिग्रस्त भएका २ सय ६० विद्यालय मध्ये ३२ वटा विद्यालयमा नयाँ भवन निर्माणको काम सकिएको छ । अन्य १ सय १२ विद्यालय भवन निर्माणको काम भइरहेको ईकाइका इन्जिनियर सविन लामाले जानकारी दिए । उनका अनुसार केही विद्यालय ठेकेदार मार्फत र अन्य विद्यालय व्यवस्थापन समिति मार्फत बनाउने काम भइरहेको छ । ‘मारुसिन सिताकासहितका केही ठेकेदार कम्पनीले काम गरिरहेका छन्, अरु विद्यालय व्यवस्थापन समितिकै सकृयतामा धमाधम विद्यालय भवन निर्माणको काम गरिरहेका छौं ।’ लामाले भने, ‘सबैको सकृयताले विद्यालय पुननिर्माणको कामले गति लिएको छ । यहि रफ्तारमा काम भयो भने छिटै सबै विद्यालय पुनर्निर्माणको काम सकिन्छ ।’ लामाका अनुसार रामपुर र रुम्जाटारका २ वटा विद्यालयलाई नमुनाका रुपमा पुनर्निर्माण गर्ने प्राधिकरणको लक्ष्य छ । 

अझै १ सय १६ विद्यालय निर्माणको पहुँच बाहिर छन् । भूकम्पबाट पूर्ण क्षति भएको भएपनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुननिर्माण कायसूचीमा ती विद्यालयहरु परेका छैनन् । आगामी कार्यक्रमहरुले पुनर्निर्माणको पहुँचमा नरहेका विद्यालयमा पनि नयाँ भवनका लागि प्रयास गरिने आयोजना प्रमुख डिल्ली लुुइटेलले बताए । ‘हामीले तोकिएका कामहरु गर्ने हो अहिले पनि विद्यालय थपिनेक्रम जारी छ । सम्भवतः सबै विद्यालयहरुमा पुनर्निर्माणको काम हुन्छ ।’ प्रमुख लुुइटेलले भने, ‘अहिले बनेका विद्यालय भवनहरु अब लामो समय सम्मका लागि ढुक्कका छन् कुनै विपत्तीले असर गर्ने छैन ।’ विद्यालय पूननिर्माणको काम सुरु भएका ठाँउमा सक्दो छिटो काम गर्न उनले आग्रह गरेका छन् । 

 

कुन्तामाविको भवन हस्तान्तरण 
कुन्तामावि ज्यामीरेको नव निर्मित भवन हस्तान्तरण तथा उद्घाटन गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ शिक्षाको सहयोगमा विद्यालय व्यवस्थापन समितिको सक्रियातामा बनेको ८ कोठे भवनको एक कार्यक्रमकाबीच हस्तान्तरण तथा उद्घाटन गरिएको हो । सांसद यज्ञराज सुनुवार, अम्बिरबाबु गुरुङ र मोहन खड्काले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । भवन उद्घाटनसभालाई सम्बोधन गर्दै सांसदहरुले गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरेका छन् । 

भूकम्पपछि टेन्ट तथा अस्थाई टहरोमार्फत पठनपाठन गराउँदै आएकोमा नयाँ भवन बनेपछि पठनपानमा सहज हुने कुन्ता माध्यमिक विद्यालय ज्यामीरेका विव्यस अध्यक्ष पहलमान खड्काले बताए । सुविधा सम्पन्न नयाँ भवन पढ्न पाउने भएपछि विद्यार्थीहरु पनि खुसी भएका छन् । केही समय अघि खानी भञ्ज्याङको सरस्वती मावि र कुईभिरको कुईभिर माविको भवन विद्यालयलाई हस्तान्तरण गरिसकिएको छ ।