१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ मङ्सिर १ आइतबार ०९:४८:००
Read Time : > 2 मिनेट
विश्व

हिंसाले चुनावी मैदान छाड्दै बेलायती महिला सांसद

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर १ आइतबार ०९:४८:००

बेलायतमा आगामी डिसेम्बर १२ मा आमनिर्वाचन हुँदै छ । बेलायतको तल्लो सदन हाउस अफ कमन्सको कुल ६ सय ५० सदस्यका लागि आमनिर्वाचन हुन लागेको हो । ब्रेक्जिटको विषय जटिल बन्दै गएपछि सरकारले निर्धारित समयभन्दा दुई वर्षअगावै निर्वाचनको मिति घोषणा गरेको थियो । 

चुनावको मिति नजिँकै जाँदा केही सांसद आसन्न निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् । आफूहरूमाथिको दुव्र्यवहार र धम्कीका कारण केही सांसदले आगामी निर्वाचनमा भाग नलिने बताएका हुन् । अहिलेसम्म ५७ जना सांसदले आमनिर्वाचनमा भाग नलिने घोषणा गरेका छन् । जसमा १८ जना महिला छन् । अघिल्लो चुनावको तुलनामा यो आँकडा अझै न्यून हो । सन् २०१० मा एक सय ४९ सांसद र १९९७ मा एक सय १७ जना सांसदले चुनावमा नलड्ने घोषणा गरेका थिए ।

महिलामाथि अभद्र टिप्पणी बढ्दो
बेलायतमा महिला सांसदमाथि अभद्र टिप्पणी गर्नेक्रम बढ्दो छ । महिला सांसदमाथि बलात्कार र हत्याका धम्की आउनु सामान्यजस्तै भएको छ । ‘अ हिस्ट्री अफ वुमन इन पार्लियामेन्ट’ पुस्तककी लेखिका तथा लेबर पार्टीकी सांसद रेचल रिभ्सका अनुसार हत्याको धम्की ‘महिला सांसदले सामना गरेका नियमितजस्तो घटना’ हुन् । 

बेलायत संस्कृतिमन्त्री निक्की मोर्गानलाई पनि बारम्बार धम्की आउने गरेका छन् । उनलाई फोनमार्फत धम्की दिने एक ६४ वर्षीय रोबर्ट विल्डर १८ हप्ताका लागि कारागारमा जेलजीवन बिताइरहेका छन् । ब्रेक्जिटविरोधी मत दिएको भन्दै बिल्डरले मोर्गानलगायत ६ जना सांसदमाथि चेतावनी दिएका थिए । उनले स्वतन्त्र सांसद निक बोल्स, टोरी सांसद डोमिनिक ग्रिभ र लेबर सांसदहरू केर स्टारमर, ब्यारी गार्डिनर र जेनी च्यापम्यानलाई पनि धम्की दिएका थिए ।

निक्की भन्छिन्, ‘सांसद हुँदा सम्पूर्ण परिवार नै प्रभावित हुन्छन् । पछिल्लो एक दशकमा महिला नेतृमाथि हुने अभद्र टिप्पणीको शृंखला बढेको छ । किनकि, अहिले देशमा ब्रेक्जिटमाथि बहस भइरहेको छ ।’

पूर्वटोरी सांसद हेडी एलेन पनि आसन्न चुनावमा प्रतिस्पर्धा नगर्ने निर्णय गरेकी छिन् । उनले आफूलाई ज्यान मार्ने धम्की आएको बताउँदै आएकी छिन् । बेजिक्टको विषयमा ५१ वर्षीय एक व्यक्तिको इमेल आइडीबाट उनलाई चुनावमा नलड्न धम्की आएको थियो । ती व्यक्तिलाई ४२ हप्ताको जेल सजाय सुनाइएको छ ।

एलेनलले आफ्नो चुनाव क्षेत्रका मानिसलाई लेखेको पत्रमा भनिएको छ, ‘कुनै पनि काममा कसैलाई पनि धम्की दिनुहुन्न । त्रसित गराउने इमेल पठाउनु र सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्नु हुँदैन । यसको असर दीर्घकालीन हुन्छ ।’

एमनेस्टी इन्टरनेसनलले गरेको एक अध्ययनका अनुसार महिला सांसदमाथि हुने अभद्र टिप्पणीमा सबैभन्दा धेरै सिकार लेबर दलकी छाया गृहमन्त्री डिएन एबट रहेकी छिन् । सन् २०१७ को निर्वाचका क्रममा महिला सांसदहरूलाई लक्षित दुव्र्यवहारयुक्त ट्विटमध्ये आधा ट्विट उनलाई पठाइएको थियो । उनीमाथिको दुव्र्यवहार शृंखला नरोकिए पनि आउने चुनावमा उनी आफ्नो पार्टीको दमदार आवाज बन्नेछिन् ।

ब्रेक्जिट पक्षधरलाई पनि धम्की
ब्रेक्जिट पक्षधर सांसदहरूले पनि विभिन्न धम्की सामना गरेका छन् । टोरी सांसद ब्रेक्जिटका पक्षधर एन्ड्रिय जेनकिन्सले पनि इमेलमार्फत यौन दुव्र्यवहारको धम्की सामना गरेकी छिन् । धम्कीपछि उनले आफ्नो निर्वाचन क्षेत्रको कार्यालयमा आत्महत्याको सांकेतिक चित्र कोरेकी थिइन् । तर, उनले हरेस खाएकी छैनन् र आसन्न चुनावमा सहभागी हुने निर्णय लिएकी छिन् । ‘निर्वाचन प्रचारका लागि मेरा निर्नाचन प्रतिस्पर्धा गर्ने क्षेत्रमा पुगेकी छु । मेरो क्षेत्रमा प्रतिनिधित्व गर्न मलाई मन छ ।’ उनले भनिन् ।

कन्जर्भेटिभ पार्टी परित्याग गरेकी लिबरल डेमोक्र्याटिक सांसद सारा बोलास्टनलाई प्रहरीले आफ्नो अवस्थाबारे खुलासा नगर्न र आफ्नो निर्वाचन क्षेत्रमा सार्वजनिक अन्तक्र्रिया तथा प्रचार–प्रसार नगर्न सुझाएको छ । जेन्किन्सजस्तै उनी पुनः निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताएकी छिन् । 

टोरी अध्यक्ष जेम्स क्लेबर्लीले आगामी चुनावमा सहभागी नहुने महिला सांसद ३२ प्रतिशत रहेको जानकारी दिएका छन् । ब्रेक्जिटको विपक्षमा मत दिएका ८९ प्रतिशत सांसदले आसन्न निर्वाचनमा भाग नलिने घोषणा गरिएको विषयलाई भने महत्वपूर्णका साथ हेरिएको छ ।