१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर १ आइतबार ०९:२३:००
Read Time : > 1 मिनेट
खेलकुद

कीर्तिपुर मैदानमा तेन्दुलकरको ब्याटिङ

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर १ आइतबार ०९:२३:००

‘जीवनमा तपाईं जति नै सफल हुनुहोस्, त्यसले अर्थ राख्दैन । तपाईं असल व्यक्ति हुनुहुन्छ भने त्यसले अर्थ राख्नेछ । सधैँ सहयोग गर्न तयार हुनुहोस्, अरूको अनुहारमा मुस्कान ल्याउने कारण बन्ने प्रयास गर्नुहोस् ।’ यही सन्देशसँगै भारतीय चर्चित क्रिकेटर सचिन तेन्दुलकरले शनिबार कीर्तिपुर मैदानमा आफ्नो भनाइ अन्त्य गरे । सामान्य चर्चाबीच शुक्रबार नेपाल आइपुगेका तेन्दुलकर शनिबार कीर्तिपुर मैदान पुगे । काठमाडौंका केही सरकारी विद्यालयबाट छनोट भएका बालबालिकासँग तेन्दुलकरले झन्डै दुई घन्टा (आठ–आठ ओभरको) क्रिकेट खेले । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासले कप्तानी गरेको रातो टोलीविरुद्ध उनले कप्तानी गरेको निलो टोली नौ विकेटले विजयी भयो । उनले आफ्नो टोलीलाई विजयी बनाउन बलिङ, ब्याटिङ र फिल्डिङ गरे ।

अन्तर्राष्ट्रिय क्रिकेटमा दर्जनभन्दा बढी कीर्तिमान आफ्नो नाममा लेखाएका यी क्रिकेटरलाई पहिलोपटक प्रत्यक्ष देख्दा कीर्तिपुर मैदानमा उपस्थित समर्थक हर्षित थिए । उनी मैदानमा रहुन्जेल उपस्थित दर्शकबाट हुटिङको साथ पाइरहे । उनले मैदानभित्र रहँदा बालबालिकालाई क्रिकेट खेल्न मात्रै सिकाएनन्, उनीहरूलाई खेलप्रति प्रोत्साहित गर्ने प्रयास पनि गरिरहे । नेपाली महिला राष्ट्रिय टोलीका खेलाडीलाई छुट्टै भेटेर हौसला प्रदान गर्ने प्रयास गरे ।

‘जित कसैका लागि पनि निश्चित छैन । जो नडराई खेल्छ, आफूले गर्न चाहेको काम निडर भएर गर्छ, जित उसकै निश्चित हुन्छ,’ महिला टोलीलाई तेन्दुलकरको सन्देश थियो, ‘त्यसैले तपाईंहरू पनि देशका लागि खेल्दा जे गर्न चाहनुहुन्छ, नडराई गर्नुहोस् । मुस्किल समयमा सबै सँगै बसेर समस्याको समाधान खोज्ने प्रयास गर्नुहोस् । एकअर्काको साथ खोज्नुहोस्, सफलता मिल्नेछ ।’

तेन्दुलकरले सफलताको अर्काे सूत्र पनि सुनाए । ‘यदि तपाईंले रन हान्नुहुन्छ भने सबैको साथ पाउनुहुनेछ । जुन दिन रन हान्नुहुन्न, त्यसवेला सबैले तपाईंको साथ छाड्नेछन् । तपाईंको तीव्र आलोचना हुनेछ,’ तेन्दुलकरको भनाइ थियो, ‘आलोचना सकारात्मक छ भने त्यसलाई ग्रहण गर्नुपर्दछ । तर, त्योभन्दा बढी आफ्नो समस्याको समाधान खोज्न केन्द्रित हुनुपर्नेछ । तपाईं जब समस्याबाट माथि उठ्नुहुनेछ, फेरि समर्थक तपाईंको पछाडि आउनेछन् ।’  

उनले कीर्तिपुर मैदानमा खेलभन्दा बढी बालबालिकाको अधिकारको पक्षमा बोले । बालबालिकाको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्था युनिसेफका सद्भाव दूत तेन्दुलकर सोही उद्देश्यका लागि नेपाल आएका हुन् । संयुक्त राष्ट्रसंघले बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले तेन्दुलकरलाई नेपाल बोलाएको हो । 

‘बालबालिकाले गल्ती गरे भनेर कहिल्यै गाली नगर्नुहोस्, उनीहरूको गल्ती सुधार्ने जिम्मेवारी अभिभावकको हो,’ तेन्दुलकरले भने, ‘गल्ती सुधार्ने सहज तरिका खोज्नुपर्दछ । पिटेर वा गाली गरेर भन्दा अन्य तरिकाबाट बालबालिकालाई सिकाउने प्रयास गर्नुपर्दछ ।’ तेन्दुलकरले बालबालिकालाई आफ्नो इच्छाअनुसार अघि बढ्न दिनुपर्ने सन्देश नेपाली अभिभावकलाई दिए । ‘मेरो छोरा पनि अहिले क्रिकेट खेल्दै छ । तर, मैले उनलाई कहिल्यै क्रिकेट खेल्नुपर्छ भनेर जोड गरिनँ, न मलाई मेरा अभिभावकले त्यसो गर्नुभएको थियो,’ तेन्दुलकरले आफ्नो अनुभव सुनाउँदै भने, ‘नेपाली अभिभावकलाई मेरो सन्देश पनि त्यही हुनेछ कि, तपाईंहरू पनि आफ्ना नानीहरूको इच्छाअनुसार अघि बढ्न सहयोग गर्नुहोला ।’