मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर १ आइतबार ०८:२३:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

मोरालेसको बहिर्गमनले सिकाएको पाठ 

Read Time : > 3 मिनेट
२०७६ मङ्सिर १ आइतबार ०८:२३:००

विश्वभरि लोकतन्त्रमाथि धक्का लागिरहेको भनेर दुःखी भइरहेका उदार लोकतन्त्रवादीका लागि इभो मोरालेसको पतनले नयाँ आशा दिएको छ । नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई पूर्ण बेवास्ता गरिरहेको एउटा सरकारमाथि प्रभावकारी रूपमा अन्ततः लगाम लगाइएको छ । यो राम्रो समाचार हो । यो प्रकरणको नराम्रो पक्ष के रह्यो भने मोरालेसको शासनमाथि लगाम लगाउन उठाइएको कदम आशा गरिएजस्तो विशुद्ध प्रजातान्त्रिक रहेन । त्यहाँ नागरिक प्रतिरोध मात्र होइन, सैन्य धम्कीसमेत प्रयोग भए । तर, यो फोहोरीपनलाई पनि स्तब्धकारी मान्न हुँदैन । बोलिभियाको घटनाक्रमले अर्ध–लोकतान्त्रिक नेतालाई रोक्न प्रयोग हुने प्रक्रिया पनि अर्ध–लोकतान्त्रिक हुने पाठ दिएको छ । मोरालेसको शासनमा बोलिभिया ‘प्रजातान्त्रिक पश्चगमन’बाट जुग्रियो । यस प्रक्रियामा देशले बिस्तारै तानाशाही चरित्र ग्रहण गर्न थाल्छ । शासन पूर्ण तानाशाही त हुँदैन, तर नियन्त्रण र सन्तुलन तथा बहुलवादमा उल्लेख्य क्षति पुग्छ । देशको पहिलो आदिवासी नेताका रूपमा उनले असमानता घटाउने र बोलिभियाका आदिवासी जनतालाई राजनीतिक संस्थानमा समेट्ने वाचासहित राष्ट्रपति पद सम्हालेका थिए । सुरुमा उनले आफ्नो वाचा पूरा पनि गरे । 

जेभियर कारोलेस

तर, पछिल्लो पाँच वर्षमा यी लोकप्रिय र लोकतान्त्रिक रूपमा चुनिएका राष्ट्रपति बिस्तारै कम लोकप्रिय र कम लोकतान्त्रिक बन्दै गए । लोकतान्त्रिक संस्थान उनको सत्ताको विस्तारमा रूपान्तरित हुन थाले । पार्टी मुभमेन्ट टु सोसियालिजम (एमएएस) मोरालेसलाई सत्तामा टिकाइराख्ने औजार बन्यो । कंग्रेस ‘रबर स्ट्याम्प’मा रूपान्तरित भयो र अदालत राज्यको कार्यकारीको अर्को निकायमा सीमित भयो । उनी आफ्नो आलोचकप्रति पटक–पटक विषवमन र जातिगत कार्ड प्रयोग गर्थे । संस्थानमाथिको अत्यधिक नियन्त्रणको फलस्वरूप उनी अक्टोबरमा चौथोपटक निर्वाचनमा प्रत्यासी बने । त्यससँगै उनले राष्ट्रपतिको पदलाई दुई कार्यकालको बनाउने संवैधानिक व्यवस्थाको उल्लंघन गरे । कुनै समय उक्त संवैधानिक व्यवस्था उनी आफैँले समर्थन गरेका थिए । 

सत्तामा टाँसिने उनको यो पछिल्लो कदमलाई धेरैले मन पराएका थिएनन् । उनको पुनःनिर्वाचनको चाहनाप्रति पनि परम्परागत एमएएस मतदाता पनि रुष्ट थिए । निर्वाचनको रात, देशको सर्वोच्च निर्वाचन संस्थाले गन्दागन्दैको मतगणना रोक्यो । त्यसपछिको परिणाममा मोरालेस उनका प्रमुख प्रतिस्पर्धी कार्लोस मेसाभन्दा झन्डै १०.६ प्रतिशतले अघि देखिए । बोलिभियामा राष्ट्रपति जित्नका लागि उम्मेदवारले ५० प्रतिशत मत ल्याउनुपर्छ । यदि ५० प्रतिशत ल्याउन सकेन भने विजेताले प्रतिस्पर्धीभन्दा १० प्रतिशत बढी मत ल्याएको हुनुपर्छ । अन्यथा निर्वाचनमा बढी मत ल्याउने दुई उमेदवारबीच दोस्रो चरणको निर्वाचन हुन्छ । विपक्षीले मोरालेसविरुद्ध अनियममितताको आरोप लगाए । त्यसपछि बोलिभियामा राजनीतिक संकट आइपर्‍यो र केही हप्तामै मोरालेसको सरकार ढल्यो । 

इभो मोरालेसको पतनले अर्धलोकतान्त्रिक व्यवस्था फ्याँक्ने काम सधैँ पूर्ण लोकतान्त्रिक विधि पालना गरेर हुँदैन भन्ने पाठ सिकाएको छ

धेरै तानाशाही सरकार चुनावी धक्का बेहोर्छन्, तर तीमध्ये थोरैको मात्र यी धक्काका कारण पतन हुन्छन् । यो सन्दर्भमा बोलिभिया असामान्य उदाहरण हो । किनकि थोरै मात्र प्रजातान्त्रिक पश्चगमनमा गएका सरकारले बोलिभियामा जस्तो हार बेहोरेका छन् । माेरालेसको पतन शानदार र उत्तिकै अपमानजनक रह्यो । विपक्षीले देशव्यापी शान्तिपूर्ण प्रदर्शन आयोजना गरे । सरकारले दमन र बदनाम गर्ने प्रयास गरेको भए पनि प्रदर्शन जारी रहे । प्रदर्शनको दबाबबीच सरकार ‘अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स’लाई मतगगणनाको परीक्षण गर्न दिन राजी भयो । परीक्षणबाट निर्वाचनको मतगणनामा व्यापक अनियमितता भएको देखियो र ओएसएसको टोलीले पुनः निर्वाचन गराउन सिफारिस गर्‍यो । 

त्यसपछि घटनाक्रम झनै बिग्रँदै गयो । प्रदर्शनले हिंसात्मक मार्ग अवलम्बन गर्‍यो । एक सीमान्तकृत दक्षिणपन्थी नेताले अगाडि बढेर सरकार र सरकारी अधिकारीको राजीनामा तथा तिनका समर्थकलाई सजायको माग गरे । उनले ‘बाइबललाई दरबारमा फर्काउन’ आह्वानसमेत गरे । अन्य समूह, प्रहरी निकाय र विगतमा राष्ट्रपति मोरालेसप्रति बफादार रहेको एउटा ठूलो युनियनले विरोधी धारमा आफूलाई समाहित गरायो । आइतबार बिहानसम्म सरकार केही नरम भयो र प्रदर्शनकारीका केही माग पूरा गर्न अग्रसर देखियो । नयाँ निर्वाचन निकायमार्फत निर्वाचन गराउने घोषणा गर्‍यो । तर, प्रदर्शनकारीलाई यसले पनि चित्त बुझाउन सकेन । मुडभेडको अवस्था अवश्यंम्भावी बन्दै गएको अवस्थामा सेना दृश्यमा देखियो । परम्परागत सैनिक ‘कु’मा सैन्य नेतृत्व सरकार प्रमुखविरुद्ध फौज परिचालन गर्छ । त्यसपछि ऊ प्रदर्शनकारीकै दमनमा अघि बढ्छ, तर बोलिभियामा यो प्रक्रिया दोहरिएन । बरु ऊ परिष्कृत रूपमा प्रस्तुत भयो । सैन्य नेतृत्वले राष्ट्रपतिलाई शान्ति सुरक्षाका खातिर राजीनामा दिन ‘सुझाब’ दियो । सेनाको यो सुझाबलाई कसरी लिने भन्ने विषयमा अवलोकनकर्ता विभाजित भए । केहीले यसलाई ‘कु’ भने जबकि सरकार आफैँले त्यस्तो परिस्थितिलाई निम्त्याएको थियो । अन्यले भने यसलाई ‘कु’ नभई प्रदर्शनकारीविरुद्ध हुन सक्ने ‘कु’ रोक्न सेनाले पहल लिएको अर्थमा बुझे । 

यदि सेना तटस्थ रहेको हुन्थ्यो भने सैन्य नेतृत्व मोरालेसको पक्षमा उभिनुपथ्र्यो । जबकि सरकार प्रजातन्त्रलाई थप क्षति पुर्‍याउँदै थियो । झनै नराम्रो त के भने सरकार विपक्षीको दमनमा उत्रिएको थियो । सबैलाई आश्चर्य पार्दै सेनाको सुझाबपछि मोरालेसले राजीनामा दिए । बाहिरिँदै गर्दा मोरालेसले सेनासहित कैयन् पक्षले आफूलाई राजीनामा दिन बाध्य पारेको दोष लगाए । कैयन्ले मारोलेसको अवसानलाई ‘कु’ भनेका छन्, तर ‘कु’लाई दोष दिनेले रोगका लक्षणलाई मात्रै दोष दिइरहेका छन् । रोग निम्त्याउन जिम्मेवार प्रजातान्त्रिक पश्चगमनलाई उनीहरूले बेवास्ता गरिरहेका छन् । प्रजातान्त्रिक पश्चगमनले मतदातालाई ध्रुवीकृत गरिरहेकाले देश स्तब्ध थियो । यसले गर्दा यो सन्दर्भमा लोकतान्त्रिक सुधार निकै कठिन बनेको थियो । बोलिभियाले विशेष पाठ सिकाएको छ । प्रजातान्त्रिक पश्चगमन निकै परिष्कृत भएको र नागरिक असन्तोष बढिरहेको परिस्थितिमा प्रजातान्त्र पुर्स्थापना पूर्णतः लोकतान्त्रिक रूपमा हासिल हुन्छ भनेर आशा गर्नु अपरिपक्वता हुन्छ । बरु, हामीसामु एउटा दुःखद् तथ्य के आइपुगेको छ भने, अर्ध–लोकतान्त्रिक व्यवस्था फ्याँक्ने काम सधैँ पूर्णलोकतान्त्रिक विधि पालना गरेर हुँदैन । 

जेभियर कारोलेस एमहर्स्ट कलेजका राजनीतिशास्त्रका प्राध्यापक हुन् ।

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य