मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ मङ्सिर १ आइतबार ०८:१३:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

चिकित्सकका व्यथा

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर १ आइतबार ०८:१३:००
प्रा.डा. प्रेमराज ज्ञवाली

केही दिनअघि एकजना कुशल चिकित्सकले भनेको कुरा सुन्दा मन खिन्न भयो । कहीँ मैले चिकित्सा पेसा अँगालेर गल्ती त गरिनँ भन्ने भयो ! विकसित देश त्यागेर नेपाल फर्कने मेरो निर्णयमा गल्ती त भएन भन्ने प्रश्न जन्मियो । शिक्षित वर्गलाई सम्मान नगर्ने, तर मुढे बललाई सम्मान गर्ने समाजको दुर्गति अवश्यंभावी हुन्छ । देश कस्तो तप्काको हातमा छ भन्ने प्रश्नसँगै ममा आफ्ना सन्तानको भविष्यलाई लिएर मनमा प्रश्न आइरहे । मैले जतिवेला चिकित्सा शास्त्रको अध्ययन गरेँ, तिनताका अहिलेजस्तो पैसा तिरेर डाक्टर बन्न पाइने चलन थिएन । यदि त्यस्तै हुन्थ्यो भने अहिलेका अधिकांश चिकित्सक यो पेसामा आउने नै थिएनन् होला । रेडियो नेपालबाट प्रसारण हुने छात्रवृत्तिको सूचना सुनेर गाउँका कुना कन्दराबाट परीक्षार्थी परीक्षा दिन आइपुग्थे । र, तीमध्ये केही मात्रै चिकित्सा शिक्षाको अध्ययनका लागि छनोट हुन्थे । 

तीमध्ये कति त भोकभोकै पढाइ अघि बढाइरहेका हुन्थे । गाउँबाट पैसा पठाउने हैसियत सबैको थिएन । काठमाडौं राखेर पढाउने क्षमता नभए पनि विद्यार्थीको प्रतिभाले गर्दा ऊ निकै मिहिनेतसाथ आफ्नो अध्ययन गर्ने गर्थ्यो। 

यस्तो मिहिनेतबाट सफलता हात पार्ने कुरा निश्चित थियो । तर, आज तिनै मिहिनेतीलाई शोषक र सामन्तीको बिल्ला भिराइएको छ । त्यो पनि ती विद्यार्थीबाट, जो हिजो पढाइभन्दा अन्य विषयमा आफ्नो ध्यान दिइरहेका हुन्थे । जुनसुकै देशमा अध्ययन गरे पनि स्वदेश फर्किएर काम गर्ने भनेको यहीँको अस्पतालमा हो । अनि यहाँको अस्पतालमा काम गर्न भनसुनको आवश्यकता पर्छ, अन्यथा महिनौँसम्म स्वयंसेवकका रूपमा काम गर्नुपर्ने हुन्छ ।

आत्मसम्मान गिरेको कुनै पनि नागरिकले देशको भलो गर्न सक्दैन भनेजस्तै नूर गिरेको कुनै पनि चिकित्सकले बिरामीको उच्च मनोबलसाथ उपचार गर्न सक्दैन 
 

एउटा चिकित्सकले आफ्नो क्षेत्रमा जति समय काम गरिरहेको हुन्छ, त्यस हिसाबले उसले पारिश्रमिक निकै थोरै पाउने गर्छ । अस्पतालले उसको वृत्ति–विकासका लागि कुनै प्रकारको तालिम, कार्यशालाको व्यवस्था गरेको हुँदैन । अझै व्यक्तिगत प्रयासमा आफ्नो वृत्तिविकासतर्फ लागियो भने पनि तिनलाई हतोत्साहित पार्न खोजिन्छ । न्यून तलबका कारण कैयौँ चिकित्सक दुई ठाउँमा काम गर्न बाध्य छन्, जसले गर्दा उनीहरूको पारिवारिक जीवन ध्वस्तप्रायः छ । 

यति मात्रै कहाँ हो र, उपचारका क्रममा कुनै बिरामीको ज्यान गएमा उसलाई ज्यानमाराको बिल्ला लाग्छ । कुनै कानुनी प्रक्रियाले त्यसमा कुनै अर्थ राख्दैन । मुढेबल र तोडफोडले सबैलाई माथ खुवाइरहेको हुन्छ । बिरामीको ज्यान कसरी गएको हो ? तथा त्यसमा अस्पताल र डाक्टरको लापरबाही छ कि छैन भन्ने कसैले बुझ्न चाहँदैन । हाम्रो समाजले डाक्टर–नर्स पनि मानिस हुन् र उनीहरू यही समाजका नागरिक हुन् भनेर बुझ्न सकेको छैन ।

 त्यसैमाथि फलानो अस्पताल र फलानो डाक्टर भनेर विभिन्न समाचार बनाइँदा के ती डाक्टर र नर्सको घरमा उनीहरूको नूर गिर्दैन ? यसबारे कसैले ध्यान दिन सकेका छैनन् । हामीले एउटा साधारण कुरा बुझ्नुपर्नेछ, चिकित्साविज्ञान र चिकित्सकले मानिसलाई उच्च सेवा प्रदान गर्ने हो न कि जीवन । जीवन दिन सक्ने भए हाम्रो संसारका वैज्ञानिक, खर्बपति र नेताको मृत्यु नै हुँदैनथ्यो होला । चिकित्सकको मनोबल गिराउँदा कुनै पनि चिकित्सकले राम्रो सेवा र ज्ञान बाँड्न सक्दैन । आत्मसम्मान गिरेको कुनै पनि नागरिकले देशको भलो गर्न सक्दैन भनेजस्तै नूर गिरेको कुनै पनि चिकित्सकले बिरामीको उच्च मनाबवलसाथ उपचार गर्न सक्दैन । त्यसैले यसतर्फ सबैको ध्यान जान जरुरी छ । 

(लेखक ग्रान्डी अस्पतालमा युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष हुन्)