मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर १ आइतबार ०७:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नयाँ अधिवेशन सुरु नहुँदा विधेयक प्रमाणीकरण प्रभावित

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १ आइतबार ०७:१६:००

संसद्को नयाँ अधिवेशनको सुरुवात नहुँदा विधेयक प्रमाणीकरणदेखि सांसदहरूको राष्ट्रिय–अन्तर्राष्ट्रिय भ्रमणसमेत अड्केका छन् । नयाँ अर्थात् पाँचौँ अधिवेशन कहिलेबाट सुरु हुन्छ भन्ने निधो भइसकेको छैन । सभामुख कहिले चुनिने भन्ने पनि टुंगो छैन । सांसदहरूको राष्ट्रिय/अन्तर्राष्ट्रिय भ्रमण पनि रोकिएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे बताउँछन् । उनी भन्छन्, ‘सभामुख हुँदा उहाँले समितिहरूलाई सहजीकरण गर्नुहुन्थ्यो, जुन अहिले भएको छैन । पाहुनाहरूलाई स्वागत गर्नसमेत सभामुखको अभाव खड्किएको छ । मुख्य कुरा त ऐनका रूपमा आइसक्नुपर्ने विधेयक रोकिएका छन् ।’ 

अहिले संसद्को दुवै सदनले पास गरिसकेका ५ विधेयक प्रमाणीकरण भएका छैनन् । नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, प्रहरी समायोजन विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, भूमिसम्बन्धी आठौँ संशोधन विधेयक, औद्योगिक व्यवसाय विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाले पारित गरे पनि ऐन बन्न सकेका छैनन् ।

प्रतिनिधिसभा नियमावलीको नियम १३५ अनुसार दुवै सदनबाट पारित भएका विधेयक सभामुखले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था गरेको छ । यसैको उपनियम २ मा भनिएको छ, ‘राष्ट्रपतिबाट प्रमाणीकरण भएको सूचना प्राप्त भएपछि सभामुखले सो सूचना बैठकमा पढेर सुनाउनेछन् । अधिवेशन चालू नभएको अवस्थामा त्यस्तो सूचना सचिवले सभाको सूचनापत्रमा प्रकाशन गराई सार्वजनिक गर्नेछन् ।’

विधेयक प्रमाणीकरणका सन्दर्भमा संविधानले सभामुख वा अध्यक्षको अनिवार्य आवश्यकता देखाएको छ । विधेयक प्रमाणीकरणका सन्दर्भमा संविधानको धारा ११३ को उपधारा (१)मा भनिएको छ,  ‘प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिने विधेयक उत्पत्ति भएको सदनको सभामुख वा अध्यक्षले प्रमाणित गरी पेस गर्नुपर्नेछ । तर, अर्थ विधेयकका हकमा अर्थ विधेयक हो भनी सभामुखले प्रमाणित गर्नुपर्नेछ ।’