१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक ३० शनिबार ०६:५०:००
Read Time : > 1 मिनेट
खेलकुद

च्याम्पियन खेलाडीलाई जनही तीन लाख घोषणा

Read Time : > 1 मिनेट
२०७६ कार्तिक ३० शनिबार ०६:५०:००

राष्ट्रिय खेलकुद परिषद्ले महिला भलिबल इतिहासमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको टोलीका प्रत्येक खेलाडीलाई जनही तीन लाख प्रदान गर्ने भएको छ । परिषद्का सदस्य–सचिव रमेश सिलवालले खेलाडीको स्वागत गर्दै शुक्रबार टोलीका सदस्यहरूलाई तीन लाखबाट सम्मानित गर्ने घोषणा गरेका हुन् । अरुण शाहीको कप्तानीमा नेपाली टोलीले बंगलादेशमा अपराजित रहँदै पहिलो एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिता जितेको थियो । नेपालले बिहीबार उपाधि भिडन्तमा माल्दिभ्सलाई ३–० को सेटमा सहज पराजित गर्दै उपाधि उचालेको थियो । 

च्याम्पियनसिप ट्रफी बोकेर त्रिभुवन विमानस्थलमा उत्रँदा खेलाडीहरूलाई नेपाल भलिबल संघ तथा परिषद्का पदाधिकारीले स्वागत गरेका थिए । यसका साथै समर्थकले पनि टोलीको स्वागत गरेको थियो । विमानस्थलमा टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट निकै प्रशन्न मुद्रामा देखिए । पत्रकार र समर्थकको हुलले घेरिएका प्रशिक्षक भट्टले आफूहरू उपाधि जित्ने लक्ष्यका साथ बंगलादेश गएको प्रतिक्रिया दिएका छन् । 

‘हाम्रो मुख्य उद्देश्य नै बंगलादेशमा स्वर्ण जित्नु थियो । खेलाडीहरू समूह चरणदेखि नै फाइनलसम्म एकनाशको प्रदर्शन गरी ऐतिहासिक सफलता दिलाउन सफल भए,’ महिला खेलाडीको सफलताबाट प्रफुल्लित भट्टले भने, ‘अझ हामी प्रतियोगिताभरि अपराजित रह्यौँ ।’ नेपालले फाइनलमा माल्दिभ्सलाई पहिलो सेटमा २५–१३, दोस्रोमा २५–१२ र तेस्रोमा २५–८ ले पराजित गरेको थियो । 

च्याम्पियनसिपबाट आसन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालको प्रदर्शन राम्रो हुने प्रशिक्षक भट्टको भनाइ रह्यो । ‘घरमै आयोजना हुने सागमा हाम्रो लक्ष्य स्वर्ण नै हुनेछ,’ उनले भने, ‘बंगलादेशमा खेलाडीले अन्तर्राष्ट्रिय एक्सपोजर पाएका छन्, उनीहरूको मनोबल उच्च रहेको छ ।’ यता कप्तान शाहीले आफ्नो नेतृत्वमै उपाधि जित्दा लक्की भएको बताएकी छिन् । ‘मैले कप्तानी गरेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता नै जित्दा म आफूलाई भाग्यमानी मान्छु,’ हर्षित हुँदै शाहीले भनिन् । सात वर्षअघि भलिबल खेल्न सुरु गरेकी शाहीले टिमवर्कका कारण सफलता मिलेको बताइन् ।