मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ कार्तिक ३० शनिबार ०६:०४:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

आलमआतंक : जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडे

रौतहटमा राख्न जोखिम भएकाले आलम नख्खु कारागार चलान

Read Time : > 3 मिनेट
२०७६ कार्तिक ३० शनिबार ०६:०४:००

आलमलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिने जिल्ला न्यायाधीश दीपक ढकाल र वकालत गर्ने न्यायाधिवक्ता फणीन्द्रराज कटवालले न्यायपरिषद्सँग सरुवा मागे, आदेशलगत्तै शुक्रबार साँझ नै जिल्ला छाडे

  • आलमले भारतबाट भाडाका अपराधीसमेत जिल्लामा खटाएको सूचनापछि ढकाल र कटवालले हतारहतार जिल्ला छाडेका हुन्
  •  अदालतमा बहस चलिरहेका वेला गत मंगलबार दिउँसो रौतहटको मठिया प्रहरी चौकीमा बम प्रहार
  •  राज्य संयन्त्रलाई नै आतंकित बनाउने योजनाका साथ आलमले नै बम हान्न लगाएको प्रारम्भिक विश्लेषण 
  •  रौतहटमा राख्न जोखिम भएकाले आलम नख्खु कारागार चलान


आफैले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएका युवाहरूलाई जिउँदै इँटाभट्टामा हाल्ने मोहम्मद अफ्ताब आलमको आतंक कुन हदसम्म छ ? १२ वर्षपछि उनलाई जेल पठाउने न्यायाधीशको मनस्थितिले पनि यो बयान गर्छ । पुर्पक्षका लागि आलमलाई जेल पठाउने न्यायाधीश दीपक ढकालले रौतहटबाट आफूलाई तत्काल सरुवा गर्न न्यायपरिषद्लाई आग्रह गरेका छन् । आदेश दिएलगत्तै शुक्रबार साँझ नै उनले जिल्ला छाडेका छन् । आलमविरुद्ध बहस गर्ने जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) फणीन्द्रराज कटवाल पनि सरुवाको माग गर्दै शुक्रबार नै रौतहटबाट हिँडेका छन् ।

अदालतमा बहस चल्दै गर्दा जाहेरवाला र साक्षीलाई धम्की दिने, बन्धक बनाउने र बयान फेर्न लगाउने आलमले न्यायाधिवक्ता र न्यायाधीशलाई समेत विभिन्न माध्यमबाट त्रासमा पारेका थिए । अदालत स्रोतका अनुसार असुरक्षित महसुस गरेर नै उनीहरूले जिल्ला छाडेका हुन् । ‘उहाँहरू अहिले बिदामा काठमाडौं जानुभएको छ,’ अदालतका एक अधिकारीले भने, ‘आदेश दिएपछि यहाँ बस्ने परिवेश छैन ।’ आफ्नै चुनाव प्रचारमा जुटेका र आलमका लागि बनिरहेको बम विस्फोट हुँदा घाइते भएकालाई इँटाभट्टामा जलाउने व्यक्तिले जे पनि गर्न सक्ने भन्दै उनीहरूले सरुवा मागेको महान्यायाधिवक्ता कार्यालयका एक अधिकारीले बताए । मुद्दा नचलाउन न्यायाधिवक्ता कटवालमाथि र आलमलाई साधारण तारेखमा छाड्न न्यायाधीश ढकालमाथि दबाब परेको थियो । आलमको पक्षमा आदेश नआए जेसुकै हुन सक्ने सन्देश पनि उनीहरूले पठाएका थिए । आलमले भारतबाट भाडाका अपराधीसमेत जिल्लामा खटाएको सूचनापछि ढकाल र कटवालले हतारहतार जिल्ला छाडेका हुन् । स्रोतका अनुसार उनीहरूको सरुवाबारे छलफल अघि बढिसकेको छ । 

आलमलाई जिल्लामा राख्नसमेत जोखिम भएकाले नख्खु कारागार चलान गरिएको छ । उनलाई शुक्रबार राति नै ललितपुरतर्फ हिँडाइएको छ । गृह मन्त्रालयको आदेशमा उनलाई नख्खु पठाइएको हो ।  सुरक्षाको दृष्टिकोणले उनलाई त्यहाँ राख्नु उपयुक्त नभएमा अन्य कारागारमा स्थानान्तरण गर्न सकिने व्यहोरा अदालतको आदेशमा उल्लेख छ । 

यहीबीचमा रौतहटको ईशनाथ नगरपालिका–४ स्थित मठिया प्रहरी चौकीमा गत मंगलबार दिउँसो बम प्रहार पनि भएको थियो । ड्युटीमा रहेका प्रहरी जवानलाई लक्षित गरी सुतली बम प्रहार गरेको आरोपमा भारतीय नागरिक २५ वर्षीय चन्दन कुमारलाई प्रहरीले पक्राउ गरेको छ । बिआर ०५ एच ६५०९ नम्बरको मोटरसाइकलमा आएका दुईजना व्यक्तिले बम प्रहार गरी भागेका थिए । प्रहरीले पिछा गरेर मोटरसाइकलचालक कुमारलाई पक्राउ गरे पनि पछाडि बसेर बम फाल्ने व्यक्ति पक्राउ परेका छैनन् । राज्य संयन्त्रलाई नै आतंकित बनाउने योजनाका साथ आलमकै योजनामा प्रहरी चौकीमा बम प्रहार भएको हुन सक्ने प्रहरीको अनुमान छ । 

आलमको भविष्यमाथि उत्सुक भिड रौतहट जिल्ला अदालतमा

जघन्य अपराध गरेर पनि १२ वर्षसम्म कहिले सांसद र कहिले मन्त्रीका रूपमा निस्फिक्री घुम्दै आएका आलमले पक्राउ हुने वेला प्रहरीलाई नै धम्क्याएका थिए । उनले सुरुमा पक्राउ पुर्जीसमेत लिन मानेका थिएनन् । तर, प्रहरीले जनकपुरबाट समेत थप फौज मगाएर आलमलाई पक्राउ गरेको थियो । 

प्रहरीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेपछि आलमले अदालतलाई प्रभावित गर्न खोजेका थिए । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापा, प्रेमबहादुर खड्का, शेरबहादुर केसी, पूर्वमहासचिव रमण श्रेष्ठलगायत ३३ अधिवक्ताको वकालतनामा लेखाएर उनले जिल्ला न्यायाधीशलाई मनोवैज्ञानिक दबाबमा राख्न खोजेका थिए । १२ दिनअघि सुरु भएको बहसमा २८ जना वकिलले आलमको पक्षमा र १४ जनाले पीडितको पक्षमा बहस गरेका थिए । 

घटनाका पीडित र साक्षीलाई त्रास र आसमा पारेर बयान फेर्न लगाउने रणनीतिका साथ बहस लम्ब्याउन पनि उनले धेरै वकिल राखेका थिए । यहीबीचमा घटनाका साक्षी गौरीशंकर रामलाई बन्धक बनाएर बयान फेर्न लगाएको तथ्य पनि खुलेको थियो । बम विस्फोट हुँदा गौरीशंकर पनि घाइते भएका थिए, तर उनी भागेर ज्यान जोगाउन सफल भएका थिए । प्रहरीले उनलाई साक्षीका रूपमा प्रस्तुत गरेको थियो । तर, आलमका मान्छेले अपहरण गरेर ज्यान लिने धम्की दिएपछि बम विस्फोट भएको होइन, स्टोभ पड्किएर घाइते भएको बयान दिने भन्दै उनी सोमबार अदालत पुगेका थिए । तर, अदालत पुग्नासाथ प्रहरीको साथ पाएपछि उनले १२ वर्षअघि घटना भएको, आफू पनि घाइते भएको साँचो भएको दोहोर्‍याएका थिए । विस्फोटले घाइते भएको उनको छातीमा अहिले पनि डरलाग्दो खत छ । उनका दुवै कान उडेका छन् । हाल उनी प्रहरी संरक्षणमा छन् । 

त्यस्तै, भट्टामा जलाइएका ओसी अख्तरकी श्रीमती अमना खातुनले समेत आफ्ना श्रीमान वैदेशिक रोजगारमा गएको र उतै हराएको भन्दै अदालतमा बयान फेर्न खोजेकी थिइन् । जब कि प्रशासनले ओसीको मृत्युदर्ताको प्रमाणपत्र जारी गरिसकेको छ । त्यसैले, अमनाको निवेदन अदालतले स्वीकार गरेन । पाँच लाख रुपैयाँ नगद र पाँच कट्ठा जग्गा दिने प्रलोभनमा पारेर आलमका सहयोगीले अमनालाई प्रभावित बनाउने प्रयास गरेका थिए । बयान नफेरे सासूको जस्तै हालत हुने धम्की पनि उनीहरूले दिएका थिए । अमनाकी सासू अर्थात् ओसीकी आमा न्यायको लागि लड्दै सर्वोच्च अदालतसम्म आएकी थिइन् । तर, उनलाई गाउँमै दिउँसै गोली हानेर मारिएको थियो । 

ओसीसँगै मारिएका त्रिलोकप्रताप सिंह (पिन्टु)का पिता श्रीनारायणसिंह राजपुत र घटनाका अर्का साक्षी सफी अहम्मदलाई प्रहरीले सुरक्षा दिँदै आएको छ । आलमका सहयोगीहरूले पहिलेदेखि नै धम्क्याउँदै आएकाले उनीहरूलाई सुरक्षा प्रदान गरिएको हो । अन्य केही साक्षीसमेत प्रहरी सुरक्षामा छन् । स्रोतका अनुसार दुई साक्षीलाई रौतहटबाहिर लगेर प्रहरीले सुरक्षा दिएको छ । 

जाहेरीवाला र साक्षीको सुरक्षामा विशेष व्यवस्था गर्न अदालतले चारबुँदे आदेश दिएको छ । सुरक्षित रूपमा अदालत ल्याउने, बसोवाससम्म सुरक्षित रूपमा पुर्‍याउने, संरक्षणगृह वा कुनै संस्थामा बसोवास गर्ने व्यवस्था मिलाउने, व्यक्तिगत वासस्थानको सुरक्षा मिलाउने तथा उनीहरूको सुरक्षामा खलल पुर्‍याएमा कानुनी कारबाही गर्नसमेत अदालतले आदेश दिएको छ ।  

जिउँदै भट्टामा जलाइएका पिन्टुका बुबा श्रीनारायणसिंह राजपुत भन्छन्– बल्ल न्यायको अनुभूत भयो, अब छोराको काजकिरिया गर्छु

बम विस्फोटमा सामान्य घाइते मात्रै भएको मेरो छोरा पिन्टुलाई सुई लगाएर बेहोस बनाई आलमले जिउँदै इँटाभट्टामा खरानी पारिदियो । छोराको हत्यारालाई कारबाही गर्नुपर्‍यो भन्दै १२ वर्षसम्म म न्यायका लागि कहाँ मात्र पुगिनँ ? तर, सधैँ न्यायको पनि गला निमोठियो । आलमले राजनीतिक शक्तिका आडमा आफूलाई चोख्याउन खोज्यो । मेरोसमेत ज्यान लिने धम्की आए । भर्भराउँदो छोरोलाई त सिध्याए, अब म बुढो मरे मर्छु भनेर लडाइँमा डटिरहेँ । आज अदालतको आदेशले मलाई न्याय मिलेको अनुभूत भएको छ । अब बनारसमा गएर छोराको काजकिरिया गर्छु ।