मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २८ बिहीबार ११:४९:००
Read Time : > 1 मिनेट
प्रदेश

बंगलादेशका राष्ट्रपति हमिद पोखरामा चार घन्टा रहने

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २८ बिहीबार ११:४९:००

फेवातालमा डुंगा सयरदेखि रूपाकोटबाट दृश्यावलोकन गराइने

नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पोखरा आउँदै छन् । राष्ट्रपति हमिद बिहीबार बिहान ११ बजे पोखरा आइपुग्ने गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिए । 

राष्ट्रपतिका लागि बुद्ध एयरको विमान र हेलिकोप्टर चार्टर गरिएको छ । विमानमा बंगलादेशीसहित ७० जना नेपाली उच्च सुरक्षा टोली आउनेछन् भने राष्ट्रपति हमिद हेलिकोप्टरमा आउने उनले जानकारी दिए । राष्ट्रपति हमिदलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सम्मालेका मन्त्री गुरुङले विमानस्थलमा स्वागत गर्नेछन् । 


राष्ट्रपति हमिदले डुंगा सयर गर्नेराष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको फेवातालमा डुंगा सयर गर्नेछन् । विमानस्थलबाट सीधै फेवाताल प्रस्थान गर्ने र ४० मिनेट फेवातालमा बोटिङ गर्ने कार्यसूची रहेको कार्यवाहक मुख्यमन्त्री गुरुङले जानकारी दिए ।

डुंगा सयरपछि राष्ट्रपति हमिदका लागि तालपारि फिस्टेल लजमा वेलकम लन्चको व्यवस्था गरिएको छ । प्रदेश सरकारको तर्फबाट हुने वेलकम लन्चमा मन्त्री गुरुङ र गण्डकी प्रदेश प्रमुख अमिक शेरचन सहभागी हुनेछन् । राष्ट्रपतिसँगै आएको टोलीलाई भने गाडीमार्फत रूपाकोट रिसोर्टमा लगिनेछ । उनीहरूका लागि लञ्चको व्यवस्था रिसोर्टमा गरिएको छ ।

राष्ट्रपति हमिद भने फिस्टेलमा वेलकम लन्चपछि हेलिकोप्टरमार्फत रूपाकोट रिसोर्ट पुग्नेछन् । त्यहाँ गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान नेतृत्वमा भौतिक योजनामन्त्री रामशरण बस्नेतसहित मन्त्रीहरूको टोलीले स्वागत गर्नेछ । कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार राष्ट्रपति हमिदको पोखरा बसाइ चार घन्टा हुनेछ ।

पर्यटन व्यवसायी उत्साहित
राष्ट्रपति हमिदको भ्रमणले पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । राष्ट्रपति आएका ठाउँमा बंगलादेशका जनताले समेत चासो राख्ने र यहाँका बारेमा अन्तर्राष्ट्रियस्तरमा चर्चा हुने उनको भनाइ छ । राष्ट्रपति हमिदको पोखरा भ्रमणले नेपाल भ्रमण वर्ष सन् २०२० लाई सघाउ पुग्ने उनले प्रतिक्रिया दिए । गण्डकीमा अहिले आन्तरिक पर्यटन वर्ष २०१९ चलिरहेको छ । सन् २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्रदेश सरकारको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन गरेपछि भारतीय पर्यटकको आवगमन बढेको स्मरण गर्दै बंगलादेशका राष्ट्रपति हमिदको भ्रमणले पनि बंगलादेशी नागरिकको आगमन बढ्ने पर्यटन व्यवसायीको विश्वास छ । 

राष्ट्रपतिको स्वागत भव्य बनाउने तयारी 
कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पोखरामा राष्ट्रपति हमिदको भव्य स्वागत हुने जानकारी दिए । पोखरा महानगरपालिका वडा नम्बर ७ र ६ का अध्यक्षसहित टोलविकास संस्था र आमा समूहलगायत सर्वसाधारणले बाटोमा पानीको घडासहित स्वागत गर्नेछन् ।

राष्ट्रपति स्वागतका लागि प्रदेश सरकार, पोखरा महानगर, पोखरा उद्योग वाण्ज्यि संघ र पर्यटन व्यवसायी अनि रूपाकोट गाउँपालिकाले विभिन्न चार स्थानमा स्वागत गेट निर्माण गरेका छन् । ठाउँठाउँमा नेपाल र बंगलादेशको झन्डा राखिएको छ । उनलाई पोखरा महानगरको तर्फबाट विभिन्न जातीय, सांस्कृतिक, कला, प्रदर्शनी, पञ्चेबाजा बजाएर स्वागत गर्ने कार्यक्रम छ ।

रुपा गाउँपालिका–७ स्थित रूपाकोटबाट विभिन्न दृश्य अवलोकन गरेपछि बंगलादेशी राष्ट्रपतिसहितको टोली बिहीबार नै काठमाडौं फर्किने कार्यक्रम छ । राष्ट्रपछि हमिदको भ्रमण व्यवस्थापन प्रदेश सरकारले गरेको गण्डकी प्रदेशका प्रवक्ता एवं भौतिक योजना तथा निर्माणमन्त्रीले जानकारी दिए ।