मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २८ बिहीबार ०८:२६:००
Read Time : > 1 मिनेट
सम्पादकीय

नेपाल–बंगलादेश सम्बन्ध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २८ बिहीबार ०८:२६:००

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमणका क्रममा छन् । जम्मा ३८ किमि भू–सतहको दूरीमा भेटिने बंगलादेश र नेपाल एउटै ऐतिहासिक विकासक्रमका अर्थसामाजिक विकास व्यहोर्दै आएका समाज हुन् ।

औपनिवेशिक शासनका आखिरी दिनमा पाकिस्तानको अधीनस्थ बन्न पुगेको बंगलादेश सन् १९७१ मा स्वतन्त्र राष्ट्रका रूपमा उदायो । त्यसपछि राजनीतिक सत्तापलट र सैन्य शासनका अनेक झमेला व्यहोरेको बंगलादेशले पनि नेपालको १९९० को परिवर्तनको वरपरबाटै संसदीय प्रणालीमा प्रवेश गर्‍यो । त्यसयता पनि केही समय राजनीतिक संघर्षका कारण उठ्न नसकेको बंगलादेशले विगत दश वर्षयता भने राम्रो आर्थिक सामाजिक प्रगति गरिरहेको छ ।

अल्पविकसित देशका रूपमा नेपालसँग विश्वका मञ्चहरू साझेदारी गर्ने बंगलादेशले एक दशकयता सरदर ६.६ को आर्थिक वृद्धिदर कायम गरेको छ । गत तीन वर्षमा यो दर ७.४ रहेको छ भने यो वर्ष आठ प्रतिशतभन्दा माथिको गार्हस्थ उत्पादन वृद्धिदर कायम हुँदै छ । केही वर्षयता दक्षिण एसिया र विश्वमै उच्च आर्थिक वृद्धदर हासिल गर्ने देशमध्ये एउटा बनेको छ ।

अहिले वार्षिक ४० अर्ब अमेरिकी डलरबराबरको निर्यात गर्ने बंगलादेशको अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान ३० प्रतिशतभन्दा माथि पुगेको छ । यसका प्रभाव सामाजिक क्षेत्र र मानिसको जीवनस्तरमा पनि परेको छ । मुख्यतः निर्यातमूलक गार्मेन्ट उद्योगमा आधारित रहेर भइरहेको बंगलादेशको यो उन्नति कति दिगो हुन्छ भन्ने निश्चित नभए पनि केही वर्षभित्र अल्पविकसितबाट विकासशील देशमा फड्को मार्ने नेपालभन्दा क्षेत्रफलमा सानो रहेको तर १६ करोडभन्दा बढी जनसंख्या रहेको बंगलादेशले बितेका दश वर्षमा गरेको आर्थिक उन्नति लोभलाग्दो छ । उसको तागत र आत्मविश्वास बढ्दै गएको छ ।

निकटका छिमेकी र उस्तै गरिबी सामना गर्र्दै आएका र आर्थिक विकासका लागि संघर्ष गरिरहेका नेपाल र बंगलादेशबीच जेजति मात्रामा सहयोग आदान–प्रदान र खासगरी आर्थिक लगानी र व्यापारिक सम्बन्ध विस्तार हुनुपर्ने हो, त्यो भने भएको छैन । यसमा केही हदसम्म स्थलमार्गबाट सहज व्यापारिक र यातायात सञ्जाल विकास हुन भारतले पुर्‍याएका अवरोध जिम्मेवार भए पनि मूलतः दुई देशले एकअर्कालाई दिनुपर्नेजति महत्व नदिएर पनि समस्या रहने गरेको छ ।

नेपाल र बंगलादेशबीच जेजति मात्रामा सहयोग आदानप्रदान र खासगरी आर्थिक लगानी र व्यापारिक सम्बन्ध विस्तार हुनुपर्ने हो, त्यो हुन सकेको छैन
 

नेपाल र बंगलादेशबीचको व्यापारले हाम्रो कुल वैदेशिक व्यापारको नगण्य हिस्सा मात्र ओगटेको छ । सार्क या बिमस्टेक र मेडिकल साइन्स पढ्न जाने विद्यार्थीको विषयमा हुने चर्चामा मात्र नेपालमा बंगलादेशबारे चासो राखिन्छ । अब समय आएको छ, दुवै देशको आर्थिक सम्बन्धलाई थप जोड दिने ।

अहिले भुटानका कारण रोकिएको नेपाल, भारत, भुटान र बंगलादेशबीचको सडक यातायात सञ्जाल विस्तारको विषयलाई प्राथमिकता दिने र नेपाल र बंगलादेशबीच सीधा यातायात सञ्जाल विस्तारमा सहजतासाथ अघि लाने हो भने दुई देशले एकअर्काबाट फाइदा लिन सक्ने धेरै क्षेत्र छ ।

विद्युत्को ठूलो समस्या भोगिरहेको बंगलादेश नेपालमा विद्युत्मा प्रत्यक्ष लगानी बढाउन र यताबाट आयात गर्न चाहन्छ । यही क्षेत्रबाट अघि बढ्यो भने पनि दुई देशबीच आर्थिक सम्बन्ध विस्तारको आधार तयार हुनेछ । अहिले भइरहेको राष्ट्रपति हमिदको भ्रमणपछि पनि भ्रमणहरूको आदान–प्रदान र आर्थिक सहकार्यलाई ठोस आधार प्रदान गर्न दुवै देशबीच पहल हुनु जरुरी छ ।