Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
उज्ज्वल काफ्ले
२०७६ कार्तिक २८ बिहीबार ०८:१२:००
Read Time : > 1 मिनेट
नयाँCity

हरेक सामान ६०० मा

Read Time : > 1 मिनेट
उज्ज्वल काफ्ले
२०७६ कार्तिक २८ बिहीबार ०८:१२:००

सहरको  ट्रेन्ड

एक समय बजारमा हरेक सामान रु. ९९ मा बिक्री गर्ने लहर चल्यो, जुन अद्यापि कायम छ । एक रुपैयाँ कम मूल्य राखेर ग्राहकलाई आफ्नो पसलमा सस्तोमा सामान पाइने विश्वास दिलाउन खोजेका थिए, व्यवसायीहरूले । त्यसैको सिको गर्दै अहिले बजारमा रु. ६०० को ट्रेन्ड चलेको छ ।

काठमाडौं पुरानो बानेश्वरको ‘ग्वाङजाउ मार्केट’ले सोही ट्रेन्ड फलो गरेको छ । व्यवसायी श्याम रोक्काले यो पसल सञ्चालनमा ल्याएको ६ महिना बित्यो । उनको पसलमा पाइन्ट, थर्मकोट, हाइनेक, आउटर, ट्राउजर, जिन्स, सर्ट, दौरा–सुरुवाल, ज्याकेट, गलबन्दीलगायत सामान पाइन्छन् । यसबीचमा उनले जोरपाटी र बल्खुमा पनि शाखा खोलिसकेका छन् । सामान ल्याउन बारम्बार चीन पुग्नुपर्ने भएकाले उनले मन्डारिन भाषा पनि सिकेका छन् ।

उनले पसलमा दौरा–सुरुवाल, साडी, कुर्ता–सुरुवाललगायत सामान भने महाबौद्ध र न्युरोडका होलसेलबाट ल्याउँछन् । भन्छन्, ‘नेपाली बजारमा पाइने ६५ प्रतिशत कपडा नेपालकै गार्मेन्टमा बन्छन् ।’ चीनमा बनेका कपडा नेपाल ल्याइपु-याउँदा प्रतिपिस पाँच सय रुपैयाँसम्म पर्छ । नेपालमा त्यसभन्दा कम मूल्यमै तयार हुन्छन् ।
उनले दैनिक दुई सयदेखि तीन सय पिस कपडा बिक्री गर्छन् । पसल खोल्दा लिएको २१ लाख रुपैयाँ ऋण उनले ६ महिनाभित्रमा तिरिसकेका छन् । चीनबाट केरुङ नाका हुँदै कपडा नेपाल भित्र्रयाउँछन् ।

पुतलीसडकको ‘होङ्दा ट्रेडिङ इम्पोर्ट एन्ड एक्स्पोर्ट’ नामक पसलले पनि चार महिनादेखि रु. ६०० को ट्रेन्ड चलाएको छ । यस पसलका सञ्चालक हुन्, प्रकाश खड्का । हाइनेक, ज्याकेट, पाइन्ट, जिन्स, झोला, जुत्ता, सर्टलगायत सामान पाइन्छन्, यस पसलमा । म्यानेजर जीवन राईका अनुसार सबै सामान चीनबाटै आयात हुन्छन् । 

‘होङ्दा ट्रेडिङ इम्पोर्ट एन्ड एक्स्पोर्ट’को मुख्य पसल चाबहिलमा छ । पुतलीसडक, खसीबजार, सामाखुसी, कलंकी, बागबजारलगायत आठ ठाउँमा शाखा छन् ।
‘बजारमा ग्राहकलाई ठग्ने प्रतिस्पर्धा नै चल्ने गरेको छ,’ ग्वाङजाउ मार्केटका सञ्चालक रोक्का भन्छन् । पाँच सय पर्ने टी–सर्टलाई १८ सय र एक हजारको सर्टलाई २७ सय रुपैयाँसम्म तिरेको अनुभव छ, उनीसँग । ‘एउटा सामान किन्दा एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्म ठग्ने गरेका छन्, व्यापारीले,’ उनी भन्छन्, ‘त्यही ठगी रोक्न रु. ६०० को ट्रेन्ड चलाएका हौँ ।’