मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २८ बिहीबार ०७:२२:००
Read Time : > 1 मिनेट
विश्व

बोलिभियामा राजनीतिक संकट : महिला सिनेटरले घोषणा  गरिन् आफैँलाई राष्ट्रपति 

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २८ बिहीबार ०७:२२:००

बोलिभियाको सिनेटकी उपप्रमुख जानिन्ये आनिएसले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेकी छिन् । राष्ट्रपति इभो मोरालेसले राजीनामा दिएर मेक्सिकोमा शरण लिएपछि सिनेटर आनिएसले संसद् बैठकमा आफूलाई राष्ट्रपति घोषणा गरेकी हुन् । वरिष्ठता र रोलक्रमका आधारमा आफू राष्ट्रपति भएको उनले दाबी गरेकी छिन् । उनको नियुक्ति गर्न आयोजित कंग्रेस बैठकलाई मोरालेस नेतृत्वको समाजवादी पार्टीले बहिष्कार गरेको थियो ।

आफू संविधानबमोजिम राष्ट्रपतिको लाइनमा रहेको भन्दै उनले चाँडै निर्वाचन गर्ने वाचा गरिन् । उनको नियुक्तिलाई बोलिभियाको संवैधानिक अदालतले पारित गरेको छ । तीन साताअघि सम्पन्न राष्ट्रपति निर्वाचनमा मोरालेस चौथो कार्यकालका लागि विजयी भएका थिए । 

तर, निर्वाचनमा व्यापक धाँधली भएको भन्दै सडक र सदनबाट उनको विरोध हुन थालेपछि उनी समस्यामा परेका थिए । सेनाले समेत समर्थन नगर्ने चेतावनी दिएपछि उनले बाध्य भएर राजीनामा दिएका थिए । सम्भावित रक्तपातबाट मुलुकलाई जोगाउन आफूले राजीनामा दिएको उनले बताउँदै आएका छन् । उनको राजीनामापछि रिक्त राष्ट्रपति पदमा अनेजले दाबी गरेकी हुन् ।

मेक्सिकोबाट निन्दा गरे मोरालेसले
आनिएसले आफूलाई राष्ट्रपति घोषणा गरेपछि निवर्तमान राष्ट्रपति मोरालेसले विरोध गरेका छन् । मेक्सिकोबाट ट्विट गर्दै उनले भनेका छन्, ‘इतिहासमै तुच्छ र घृणित ‘कु’को निन्दा गर्छु ।’ आनिएसको घोषणालाई मोरालेसले तिरस्कार गर्दै उनी ‘कु’ चाहने दक्षिणपन्थी सिनेटर भएको बताए । आफ्नो जीवन जोखिममा रहेको भन्दै निवर्तमान राष्ट्रपति मोरालेसले मेक्सिकोमा शरण लिएको बताए ।

मोरालेसको उदय र पतन
पूर्वकिसानसमेत रहेका मोरालेस सन् २००६ मा भएको राष्ट्रपति निर्वाचनमा विजयी भएका थिए । उनी जनजाति समुदायको तर्फबाट बोलिभियाको पहिलो राष्ट्रपति बनेका थिए । झन्डै १४ वर्ष लामो कार्यकालमा उनले गरिबी न्यूनीकरण र देशको अर्थतन्त्र सुधारमा उल्लेख्य भूमिका खेलेका थिए । तर, चौथोपटक राष्ट्रपतिमा विजयी भएपछि भने विवादमा तानिएका थिए । चुनावमा धाँधली गरेको भनी अमेरिकी राज्यहरूको संगठनले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाउँदै निर्वाचन रद्द गर्न आह्वान गरेको थियो । त्यसको जवाफमा मोरालेसले ताजा निर्वाचन गर्न सहमति जनाएका थिए । तर, उनका मुख्य प्रतिद्वन्द्वी कार्लोस मेसाले निर्वाचनमा मोरालेसले प्रतिस्पर्धा गर्न नपाउने अडान राख्दै त्यसको विरोध गरेका थिए । 

सेनाका प्रमुख जनरल विलियम कालिम्यानले शान्ति र स्थिरताका लागि मोरालेसलाई तत्काल राजीनामा दिन दबाब दिएका थिए । उनले राजीनामा नदिएको भए तत्कालै सेनाको ‘कु’ गर्ने तयारी थियो । सेनाको चेतावनीपछि उनले तत्काल राजीनामा दिएका थिए । राजधानी ला पाजमा उनका समर्थक र सुरक्षाकर्मीबीच झडप भइरहेका वेला उनी मंगलबार शरणका लागि मेक्सिको पुगेका थिए । आफ्नो जीवन बचाइदिएकोमा उनले मेक्सिकन राष्ट्रपति एन्डिस म्यानुअल लोपेज ओब्रडरप्रति आभार व्यक्त गरेका छन् ।

सिनेटर कसरी बनिन् अन्तरिम राष्ट्रपति ?
आनिएसले मंगलबार सिनेटको अस्थायी नेतृत्व आफ्नो हातमा लिइन् । उपराष्ट्रपतिलगायत वरिष्ठ नेताहरूले राजीनामा दिएपछि उनलाई राष्ट्रपतिको दाबेदार बन्ने बाटो खुलेको थियो । 

‘राष्ट्रपति, उपराष्ट्रपति तथा चेम्बर अफ सिनेटर्सका अध्यक्षको अनुपस्थितिमा संविधानबमोजिम म तत्कालै राष्ट्रपतिको जिम्मेवारी वहन गर्छु,’ आनिएसले भनिन् । उनलाई राष्ट्रपति नियुक्त गर्नेबारे चलेको संसदीय बैठकलाई मेरालेसको लेफटिस्ट मुभमेन्ट फर सोसलिज्म पार्टीका सांसदले बहिष्कार गरेका थिए । उनको नियुक्ति अवैधानिक भएको सो पार्टीले जनाएको छ । बोलिभियाको उच्च संवैधानिक अदालतले उनको समर्थन गरेको छ ।

५२ वर्षीय एनेज योग्य वकिल हुन् । टोटलभिजन टेलिभिजन स्टेसनकी पूर्वनिर्देशक उनी मोरालेसको खरो आलोचकसमेत हुन् । उनी सन् २०१० देखि नेसनल एसेम्बलीकी सिनेटर हुन् ।