१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ कार्तिक २८ बिहीबार ०७:०७:००
Read Time : > 1 मिनेट
प्रदेश

चेपाङ बस्तीमा भूकम्पले भत्काएका विद्यालय धमाधम बन्दै

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २८ बिहीबार ०७:०७:००

जर्मन नागरिक डानिलाको पहलमा चेपाङ बालबालिकाले पाए पुनः अध्ययनको मौका

०७२ को भूकम्पले चेपाङ बस्ती रहेको मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका अधिकांश विद्यालय भवन ध्वस्त भए । आफू पढ्ने विद्यालय भवन ध्यस्त भएपछि प्रायः चेपाङ बालबालिका विद्यालय जान मात्र छाडेनन्, पठनपाठन निकै समय प्रभावित बन्यो । 

यस्तो अवस्था चलिरहेको करिब ६ महिना आसपास लिसा हिमालय इभी जर्मनीका अध्यक्ष डानिला झारिङ चेपाङ बस्तीमा पुगिन् । भूकम्पका कारण प्रभावित बनेको बस्तीसँगै विद्यालय अवलोकनका क्रममा ध्वस्त अवस्था देखेपछि उनले मन थाम्न सकिनन् । त्यसवेलै उनले संकल्प गरिन्, ‘पठनपाठनविहीन बनेका चेपाङ विद्यार्थीका लागि मेरो पहलमा छिटोभन्दा छिटो यहाँका विद्यालय बनाउनेछु ।’ 

 चार वर्षमा पाँच विद्यालय बने
उनको संकल्पकै कारण विकट राक्सिराङको ६, ७ र ८ नम्बर वडामा पाँचवटा सुविधासम्पन्न विद्यालय भवन निर्माण गरिएको छ । चार वर्ष अवधिमा निर्माण गरिएका पाँचवटा विद्यालय भवनको मंगलबार उद्घाटनसमेत भयो । डानिलाको प्रत्येक्ष निगरानीमा भवन निर्माण गरिएको हो । भूकम्पपछि राक्सिराङ आएकी डानिलाले हालसम्म ३ महिना मात्र जर्मनीमा बिताइन् । उनी भवन निर्माण सुरुदेखि राक्सिराङमै रहँदै आएकी छिन् । 

विद्यालय भवन उद्घाटनका क्रममा डानिलाले भनिन्, ‘४ वर्षअघि भूकम्पलगत्तै यहाँ आएकी थिएँ  । ध्वस्त विद्यालय भवन देख्दा म निकै भावुक भएँ । मैले त्यसैवेला संकल्प गरेँ । मेरो पहल र प्रत्येक निगरानीमा छिटोभन्दा छिटो राम्रा विद्यालय भवन बनाउनेछु ।’

चेपाङ विद्यार्थीका लागि विकट क्षेत्रमा डानिलाको संकल्पकै कारण विद्यालय पुनर्निर्माणमा सहज भएको इभी जर्मनीका नेपाल प्रतिनिधि स्टेफनले दाबी गरे ।  गैरसरकारी क्षेत्रबाट स्थानीय सरकारलाई शिक्षा क्षेत्रमा गरेको सहयोग अमूल्य रहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।  नेपाल सरकार, राक्सिराङ गाउँपालिका, जिल्ला शिक्षा समन्वय एकाइको समन्वयमा जर्मनस्थित लिसा हिमालय इभी र दिगो विकासका लागि एकता नेपाल नामक गैरसरकारी संस्थाले विद्यालयका भवन निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ ।

 ६ करोड लागतमा बने पाँच विद्यालय
भूकम्पपछि राक्सिराङ गाउँपलिकाको चेपाङ बस्तीमा ६ करोड ७० लाख ८६ हजार रुपैयाँ लागतमा पाँचवटा विद्यालय निर्माण गरिएको छ । दुई करोड ५७ लाख ९९ हजार लागतमा दामराङ आधारभूत, एक करोड ४० लाखमा जनसेवा प्राथमिक, ७७ लाख ७५ हजारमा टिकेढुंगा प्राथमिक, ९७ लाख ९९ हजारमा जनज्योति प्रावि र ९६ लाख ९५ हजार लागतमा प्रजा कल्याण प्राथमिक विद्यालय निर्माण गरिएको हिमालयन इभीले जनाएको छ ।