मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
विदुर पौडेल सिन्धुली
२०७६ कार्तिक २८ बिहीबार ०७:०७:००
Read Time : > 1 मिनेट
प्रदेश

चिकित्सक अभावले सिन्धुली अस्पतालको आकस्मिक सेवा बन्द

Read Time : > 1 मिनेट
विदुर पौडेल सिन्धुली
२०७६ कार्तिक २८ बिहीबार ०७:०७:००

दरबन्दी चारजना मेडिकल अधिकृतको तर, करारमा एकजना मात्रै कार्यरत

सिन्धुली अस्तालको इमर्जेन्सी सेवा बन्द भएको छ । अस्तालमा डाक्टरहरू नभएका कारण इमर्जेन्सी सेवा बन्द गर्नुपर्ने अवस्था भएको अस्पताल विकास समितिका अध्यक्ष प्रह्लाद पोखरलेले बताए । 

अस्पतलामा चारजना मेडिकल अधिकृतको दरबन्दी रहेकोमा हाल दरबन्दीका एकजना पनि अधिकृत नभएको उनले बताए । करारका दुईजना मेडिकल अधिकृतहरू कार्यरत भए पनि एकजना बिरामी परेकाले उपचारका लागि  गएको र एकजना अधिकृतले ओपिडीदेखि इमर्जेन्सीसमेत सञ्चालन गर्न नसक्ने भएकाले सेवामा अवरुद्ध भएको अध्यक्ष पोखरेलले बताए । ‘हाल अस्पतालमा दैनिक दुई सय हाराहारीमा बिरामीहरू आउने गरेका छन्, ती सबैलाई एकजनाले चेकजाँच गर्नुपर्ने बाध्यता छ,’ अध्यक्ष पोखरेलले भने । 

 निःशुल्क औषधिको अभाव
नेपाल सरकारले तोकेअनुसारको अस्पतालबाट वितरण गर्नुपर्ने प्रायः औषधि सकिएको अध्यक्ष पोखरेलले बताए । ‘नेपाल सरकारबाट वितरण गर्ने करिब ७० प्रकारका औषधिहरूमध्ये २–४ प्रकारका भए मात्र नभए छैनन्,’ उनले भने । अस्पताल विकास समितिले ३० लाख उधारो र पाँच लाख रुपैयाँ ऋण गरेर औषधि खरिद गरेको भए पनि त्यो औषधि सकिएकाले हाल अस्पतालमा निःशुल्क वितरण गर्ने औषधि नभएको उनले बताए । 

 छैनन्, विशेषज्ञ डाक्टर
सिन्धुली अस्पतालमा ६ जना विशेषज्ञ डाक्टरहरूको दरबन्दी भएको भए पनि हाल तीनजना मात्र विशेषज्ञहरू अस्पतालमा रहेको उनले बताए । एकजना फिजिसियन, रेडियोलोजिस्ट र एनजिडिपी एकजना मात्र अस्पतालमा रहेको उनले बताए । तीनजना विषेशज्ञहरू अस्पतालमा भए पनि प्रत्यक्ष बिरामीसँग बसेर काम गर्ने गाइजोलोजिस्ट, बालरोग विशेषज्ञलगायत डाक्टरहरू नभएका कारण अस्पतालको सेवा प्रवाहमा समस्या परेको अध्यक्ष पोखरेलले बताए । स्वास्थ्य विभागले चार दिनभित्रमा मेडिकल अधिकत र दुईजना विशेषज्ञ डाक्टर पठाउने भनेको भए पनि महिनौँ बितिसक्दासमेत एकजना पनि डाक्टरहरू नआएको उनले बताए । 

 एचएको दरबन्दी पूरै खाली
सिन्धुली अस्पतालमा दुईजना एचएहरू पठाउने गरी विभागले सरुवा गरेको भए पनि हालसम्म दुवैजना नआएको उनले बताए । विभागले टीका लुइँटेल र कृष्ण अधिकारीलाई सिन्धुली अस्पतालमा खटाएको चिठी ८ असोजमा पठाएको भए पनि हालसम्म दुवैजना आइनसकेको अध्यक्ष पोखरेलले जानकारी दिए । 

 नर्सिङ अधिकृतको अत्तोपत्तो छैन 
स्वास्थ विभागले सिन्धुली अस्पतालका लागि एकजना नर्सिङ अधिकृत खटाएको भए पनि हालसम्म अस्पतालमा आइनपुगेका छैनन् । ‘विभागले नर्सिङ अधिकृत इन्दिरा पौडेल प्रधानलाई सिन्धुली अस्पतालमा खटाएको भए पनि उहाँ अहिलेसम्म अस्पतालमा हाजिर हुन आइपुगेकी छैनन्,’ पोखरेलले भने । 

 भाडामा डाक्टर ल्याएर सेवा 
अस्पतलामा गाइनोलोजिस्ट सेवा नभएका कारण भाडामा हप्ताको दुई दिन अस्तालबाट सर्जन सेवासहितको प्रसूति सेवा प्रदान गरेको अध्यक्ष पोखरेलले बताए । सर्जन सेवाका लागि खुर्कोटमा रहेको शुभ जीवन अस्पतालबाट गाइनोलोजिस्ट डा. राजन न्यौपानेलाई ल्याएर सेवा सुचारु गरेको अध्यक्ष पोखरेलले बताए । 

 अस्पतालमा आधा घटे बिरामी
अस्पतालमा डाक्टरहरू नहुँदा आधा बिरामीहरू घटेको अध्यक्ष पोखरेलले बताए । साउनसम्म सबै डाक्टरहरू हुँदा अस्पतालमा दैनिक चार–पाँच सय बिरामीहरू आउने गरेकामा हाल दुई सय हाराहारीमा मात्र बिरामीहरू आउने गरेको उनको भनाइ छ । डाक्टर अभावसँगै सेवा दिन समस्या भएका कारण बिरामीहरूको संख्या घटेको हुन सक्ने पोखरेलले बताए ।

चार महिनादेखि मेडिकल सुपरिटेन्डेन्ट छैनन्
सिन्धुली अस्पतालमा चार महिनादेखि मेडिकल सुपरिटेन्डेन्ट नहुँदा अस्पतालका सम्पूर्ण आर्थिक तथा प्रशासनिक कामहरू रोकिएको अध्यक्ष पोखरेलले बताए । अस्तालकी मेडिकल सुपरिटेन्डेन्ट सरुवा भएर गएको भए पनि अस्पतालमा आउनुपर्ने सुपरिटेन्डेन्ट नआइपुगेका कारण अस्पतलाका सम्पूर्ण आर्थिक तथा प्रशासनिक काम रोकिएको उनले बताए ।

 सुपरिटेन्डेन्ट नहुँदा अस्पतालको खातामा पैसा भएर पनि औषधि खरिद गर्न नसकिएको पोखरेलले बताए । ‘अस्पतलामा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हाल्न डा. लक्षमण खड्का आउनुपर्नेमा उहाँ पनि आइपुग्नु भएको छैन,’ अध्यक्ष पोखरेलले भने ।