१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २८ बिहीबार ०६:४८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

आलमको पक्षमा वरिष्ठ अधिवक्ताहरूको पैरवी : पटकपटक चुनाव जित्ने लोकप्रिय नेतालाई फसाउन राज्य, मिडिया र सामाजिक सञ्जाल योजनाबद्ध लागे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २८ बिहीबार ०६:४८:००

इँटाभट्टामा जिउँदै मान्छे जलाउने गम्भीर अपराधमा संलग्न मोहम्मद अफ्ताब आलमको पक्षमा बहस गरिरहेका नेपाल बारका पूर्वमहासचिव रमण श्रेष्ठले आलमलाई फसाउन राज्य, मिडिया र सामाजिक सञ्जाल योजनाबद्ध ढंगले लागेको जिकिर गरेका छन् । 

पटकपटक चुनाव जितेर मन्त्री भएका लोकप्रिय नेता आलमलाई राजनीतिक रूपमा हराउन नसकेपछि विरोधीहरूले बम विस्फोट गराएर हत्या गरेको झुटा तानाबाना बुनेको श्रेष्ठको दादाबी छ । ‘आलम पटकपटक चुनावबाट निर्वाचित भए । मन्त्री भए । उनका विरोधीले यो देख्न सकेनन् । राजनीतिक रूपमा हराउन नसकेपछि आलमलाई फसाउन झुटा घटना रचना गरियो । त्यसैले विस्फोटको घटना नै पूरापूर झुटा र काल्पनिक हो । तानाबाना बुनिएका हुन्,’ बुधबार जिल्ला अदालत गौरमा आलमको पक्षमा बहस गर्दै वरिष्ठ अधिवक्ता श्रेष्ठले भने । 

बुधबार वरिष्ठ अधिवक्ता श्रेष्ठसँगै अधिवक्ताहरू सञ्जीवकुमार मल्लिक, अजय पटेल र लालबाबु यादवले आलमविरुद्ध राज्य लागेको र मिडिया प्रयोग भएको तर्क गरेका थिए । काठमाडौंबाट गएका वरिष्ठ अधिवक्ता श्रेष्ठले एक घन्टा राज्य, मिडिया र सामाजिक सञ्जालविरुद्ध बहस गरे । 

‘आलमविरुद्ध मिडिया प्रयोग भयो । सामाजिक सञ्जाल पनि त्यत्तिकै प्रयोग भयो । मिडिया र सामाजिक सञ्जाल मुद्दा प्रभावित गर्न लागे । राज्यले यसमा उनीहरूलाई साथ दियो । एउटा व्यक्तिविरुद्ध मिडिया, सामाजिक सञ्जाल र राज्य प्रयोग हुनु गलत हो । यसरी मुद्दा प्रभावित तुल्याउनु गलत हो,’ श्रेष्ठले भने । 

त्यसपछि बल्ल उनी बम विस्फोटको विषयमा प्रवेश गरेका थिए । उनले २७ चैत ०६४ मा राजपुरमा बम विस्फोट नै नभएको दाबी गरे । विस्फोट नै नभएकाले आलममाथि लागेको व्यक्तिहत्याको आरोप झुटो रहेको तर्क पेस गरे । 

‘बम विस्फोट भएको ठाउँ कहिले घर भनिएको छ । कहिले गोठ भनिएको छ । यो विषय नै विवादित देखियो । फसाउन खोजिएकोजस्तो देखिन्छ,’ श्रेष्ठले अगाडि भने, ‘विस्फोटका घटना नै नभएको पाइएपछि यस्ता तानाबाना बुनिएको देखिन्छ । विस्फोट नभएपछि कसरी हत्या हुन्छ ? यो सबै झुट हो । आलमलाई फसाउन खोजिएको हो ।’

आलमको पक्षमा वरिष्ठ अधिवक्ताहरूको परेड

अधिवक्ता रमण श्रेष्ठ भन्छन्–सामाजिक प्रतिष्ठाको कुरा छाड्नोस्, व्यवसायको कुरा गर्नुस्


एक बजे सुरु भएर ३ बजेसम्म बहस गरेका उनले पटकपटक चुनाव जितेका र मन्त्री भएका लोकप्रिय नेता आलमको इष्र्या गर्नेहरू उनको पृष्ठभूमि सक्न षड्यन्त्रमा उत्रिएको श्रेष्ठको तर्क थियो । बहसमा उत्रिएका अन्य अधिवक्ताले पनि आलमविरुद्ध ‘मिडिया ट्रायल’ भएको तर्क गरेका थिए । उनीहरूले पनि विस्फोट नै नभएको र कसैको हत्या नभएको भन्दै आलमको बचाउ गरे । 

बम विस्फोटका घाइतेलाई समेत इँटाभट्टामा हालेर जलाएको अभियोग लागेका आलमको पक्षमा बारका तीन पूर्वअध्यक्ष शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसी तथा पूर्वमहासचिवद्वय रमण श्रेष्ठ र सुनील पोखरेलसहित ३३ अधिवक्ताले वकालतनामा भरेका छन् । मंगलबार वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, यदुनाथ खनाल र सतीश झाले बहस गरेका थिए । 

बारका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काको यस्तो जिकिर
सांसद अफ्ताब आलमलाई राजनीतिक पूर्वाग्रहबाट १२ वर्षअघिको मनगढन्ते बमकाण्डको मुख्य अभियुक्त बनाएर फसाउन खोजिएको छ । प्रहरीले शैलेन्द्र साहलाई साक्षी बनाएकोबाट पनि यो कुरा प्रस्ट हुन्छ । उनी निर्वाचनमा आलमले पराजित गरेका एमालेका नेता हुन् । ०६४ को संविधानसभा चुनावको पूर्वसन्ध्यामा मौन अवधिको समयमा साह कसरी १५ जनासहित घटनास्थलमा पुगे र घटनाको प्रत्यक्षदर्शी बने ? यो कुरा प्रहरीले प्रमाणित गरेर देखाओस् । जनताबाट निर्वाचित प्रतिनिधिलाई त्यसरी फसाउनुहुन्न ।