१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २८ बिहीबार ०६:२१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

घर जान बस चढेकी बालिका दिल्लीको कोठीमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २८ बिहीबार ०६:२१:००

आमाको मृत्युपछि बुबाले कान्छी श्रीमती ल्याए । बालिकाले बुबाबाट वात्सल्य पाइनन् । पेट पाल्ने आधार खोज्दै १५ वर्षीया बालिका काठमाडौं छिरिन् । एउटा घरमा घरेलु कामदार बनिन् । सामान्य जीवन चल्दै थियो । त्यहीवेला नाताले काकी पर्ने नुवाकोट सूर्यगढी–६ की कृष्णमाया उनको सम्पर्कमा आइन् । बालिकाले दुःख सुनाएपछि कृष्णमायाले जागिरको आश्वासन दिइन् । बालिका आफू बस्दै गरेको घर छाडेर कृष्णमायाको डेरामा पुगिन् । 

घटना ०६८ माघको हो । आफ्नो गाउँ लैजाने भन्दै कृष्णमायाले बालिकालाई गाडी चढाइन् । बसमा बान्ता रोक्ने भन्दै औषधि खुवाइन् । तर, औषधि बेहोस गराउने थियो । ब्युँझिँदा बालिका दिल्ली पुगिसकेकी थिइन् । कृष्णमायाले १० हजार भारु लिएर बालिकालाई कोठीमा सुम्पिइन् । सुरुको एक महिना कोठामा बन्धक बनाएर उनलाई जवान बनाउने सुई र औषधि दिइयो । त्यसपछि वेश्यावृत्तिमा लगाइयो । 

घटनाको आठ वर्षपछि बुधबार प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले बालिका बेच्ने कृष्णमायालाई पक्राउ गरेको छ । बालिकालाई झुक्याएर दिल्लीमा बेचेको प्रहरीले जनाएको छ । कृष्णमाया काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेकी हुन् । घटनामा कृष्णमायाका श्रीमान् शेरबहादुरको समेत संलग्नता देखिएको भन्दै खोजी भइरहेको ब्युरोका एसपी अनुपमशमशेर राणाले बताए । भारतमा बन्धक बनाएर बालिकालाई सुई लगाउने लक्ष्मी र हेमा नामका महिलाको पनि खोजी सुरु गरेको छ । 

ग्राहकले गरेका थिए उद्धार 
कोठीमा पुगेका नेपाली ग्राहकले ०७५ जेठमा उद्धार गरेका थिए । बालिका हुँदा बेचिएकी उनी उद्धार हुँदा २२ वर्षकी भइसकेकी थिइन् । त्यसपछि उनी माइती नेपालको सहयोगमा देश फर्किन् । तर, एक वर्षपछि मात्रै प्रहरीमा उजुरी दिन तयार भएकी थिइन् । उनकै उजुरीपछि कृष्णमाया पक्राउ परेकी हुन् ।

एक वर्षमा साढे आठ सय फरार अभियुक्त पक्राउ
यस वर्ष प्रहरीले अघिल्लो वर्षको तुलनामा चार गुणा बढी फरार अभियुक्त पक्राउ गरेको छ । आव ०७५/७६ मा आठ सय ५७ फरार अभियुक्त पक्राउ परेका हुन् । आव ०७४/७५ मा दुई सय २६ पक्राउ परेका थिए । पक्राउ पर्नेमा २० वर्ष पुरानो अपराधका अभियुक्तसमेत छन् ।

२० वर्षअघि आफ्नै बुबालाई धारिलो हतियार प्रयोग गरी फरार काभ्रेका रनबहादुर तामाङलाई सिआइबीले यसै वर्ष पक्राउ गरेको छ । प्रहरीबाट जोगिन उनले आफ्नो नाम फेरेर रणकाजी बनाएका थिए । १९ वर्षअघिको सामूहिक बलात्कार र हत्या मुद्दाका अभियुक्तलाई प्रहरीले अमेरिकाबाट पक्राउ गरी ल्याएको छ ।

अदालतबाट दोषी ठहर भएका लीलाराज गौतमलाई ६ कात्तिकमा नेपाल ल्याइएको हो । जन्मकैद सजायको फैसला भएका गौतमलाई इन्टरपोल र अमेरिकी प्रहरीको सहयोगमा ल्याइएको हो । अमेरिकाबाट फरार अभियुक्त ल्याइएको यो पहिलोपटक हो । 

हत्याका अभियुक्तहरू धादिङका गोम लामा तामाङ र शुक्र लामा तामाङ पनि १८ वर्षपछि गत आइतबार काठमाडौंमा पक्राउ परेका छन् । धादिङ खनियाबास गाउँपालिका–३ का ४२ वर्षीय गोम घटना हुँदा २४ वर्षका थिए । उनीहरू धादिङकै दार्खामा २९ कात्तिक ०५९ मा भएको एकादशी मेलामा भएको परशुराम तामाङको हत्याका अभियुक्त रहेको सिआइबी प्रवक्ता बेलबहादुर पाण्डेले बताए । अपराधबाट उम्किन गोम दुबई तथा शुक्र कतार र मलेसियासमेत गएका थिए ।

घटनामा संलग्न चारमध्ये गोम मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको छ । उनी पछिल्लो समय गागलफेदीमा कृषि फार्म चलाउँदै आएका थिए । पक्राउ पर्ने डरले उनी श्रीमती बस्ने घरछेउको अर्को घरमा डेरा लिएर बस्दै आएका थिए । उनी पक्राउ परेपछि नै थप सूचनाका आधारमा शुक्र पक्राउ परेका हुन् । शुक्र मूलपानीमा चिया पसल चलाउँथे । 

६ वर्षअघि हेटौँमा किशोरीलाई एसिड हान्ने दिलीपराज केशरीलाई पनि १४ कात्तिकमा भारतबाट पक्राउ गरी नेपाल ल्याइएको छ । पक्राउ पर्नेमा सबैभन्दा धेरै सार्वजनिक हित, स्वास्थ्य सुरुक्षाविरुद्धको कसुरका अभियुक्त छन् । यो मुद्दाका एक सय ९१, लागुऔषध मुद्दाका एक सय ८४, ठगीका ५७, चोरी मुद्दाका एक सय २५, बलात्कार मुद्दाका ४१, ज्यान मार्ने उद्योगका १५ तथा कर्तव्य ज्यान मुद्दाका नौजना एक वर्षमा पक्राउ परेका हुन् । 

फरार अभियुक्तहरू पक्राउ गर्ने अभियान देशभरि सञ्चालन गरिएको र त्यो सफल भएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलले बताए । विभिन्न मुद्दामा फरार रही विदेश भागेका अभियुक्तलाई समेत नेपाल ल्याउन प्रहरीले ती देशका प्रहरीसँग सहकार्य गरिरहेको छ । विभिन्न देशमा लुकेर बसेकाहरूलाई नेपाल ल्याउन पहल भइरहेको सहप्रवक्ता उमेशराज जोशीले बताए । फरार अभियुक्त पक्राउ गर्न सिआइबीमा विशेष पिलर नै स्थापना गरिएको छ । जसले अदालतबाट दोषी ठहर भएका अभियुक्तहरूलाई पक्राउ गर्छ ।