मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २७ बुधबार १८:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

राैतहट सदरमुकाम गाैर प्रवेश गर्न कडा सुरक्षा जाँच

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २७ बुधबार १८:५४:००

अहिले रौतहट सदरमुकाममा गौर प्रवेश गर्न सहज छैन । प्रहरीको कडा सुरक्षा जाँचपछि मात्र गौर जान सकिन्छ । एक ठाउँमा मात्र नभई धेरै ठाउँमा सुरक्षा जाँच हुन्छ ।

पूर्व मन्त्री एवं सांसद माेहमद आफताव आलमलाई कर्तव्य ज्यानसहितको मुद्दामा पक्राउ गरी कारबाही अघि बढाएसँगै गौरमा सुरक्षा जाँच कडा बनाइएको हो । गौर प्रवेशअघि प्रहरीले झोला, सवारी साधन र यात्रुकाे जाँच गर्न थालेको छ ।

रौतहटका एसपी भूपेन्द्र खत्रीले सुरक्षालाई विशेष ध्यान दिनुपर्ने अवस्था रहेको बताए । ‘सीमा क्षेत्र भएकाले साना हतियार ओसारपसार हुने सम्भावना हुन्छ,’ उनले भने, ‘यो मुद्दा (आलमविरुद्ध) का कारण पनि सुरक्षा संवेदनशिलता बढेको छ । त्यसैले थप मद्दत मगाएर सुरक्षा व्यवस्थालाई चुस्त बनाइएका छाैँ ।’

सातौ दिन पनि बहस सकिएन

आलमविरुद्धको मुद्दामा रौतहट जिल्ला अदालतमा जारी थुनछेक बहस सातौँ दिन (बुधबार) पनि सकिएको छैन । प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस नटुंगिएकाले थुनछेक आदेश हुन सकेकाे छैन ।

बुधबार आलमका तर्फबाट वरिष्ठ अधिवक्ता एवं पूर्व महान्याधीवक्ता रमण श्रेष्ठ, अधिवक्ताहरु सन्जिव मल्लिक, अजय पटेल र लालबाबु रायले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट तीन दर्जनभन्दा बढीले वकालतमा नाम भरेका छन् । सबैले बहस गर्दा शुक्रबारसम्म लाग्न सक्छ । रौतहट जिल्ला अदालतका स्रेस्तेदार गुणराज पराजुलीले थुनछेक बहस जारी रहेको बताए ।