मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २७ बुधबार ११:०५:००
Read Time : < 1 मिनेट
प्रदेश

नारायणगढ–बुटवल सडकखण्डमा जैविकमार्ग

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २७ बुधबार ११:०५:००

पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा वन्यजन्तुका लागि सडक वारपार गर्न जैविकमार्ग निर्माण गरिने भएको छ । वन्यजन्तु सहजै वारपार गर्न मिल्ने गरी जैविकमार्गका रूपमा पुल बन्न लागेको हो । 

नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी पूर्वनवलपुरमा मात्रै कम्तीमा १५ वटा यस्ता पुल निर्माण गरिने आयोजनाका पूर्वीखण्डका योजना प्रमुख सुजन अधिकारीले बताए । सडकमुनिबाट वन्यजन्तु वारपार गर्न सक्ने गरी पुल निर्माण हुने उनको भनाइ छ । 

यस्तै, पहिलो खण्ड गैँडाकोटदेखि दाउन्नेसम्ममा कम्तीमा १५ वटा जैविकमार्ग निर्माण गरिने योजना प्रमुख अधिकारीले बताए । गैँडाकोटदेखि दाउन्ने क्षेत्रमा धेरै जंगल पर्ने भएकाले वन्यजन्तु वारपार गर्ने पुल निर्माण गर्न लागेको उनको भनाइ छ । यो खण्डमा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसमेत पर्छ ।

 हाल पानी निकासका लागि १० स्थानमा बनाइएका कल्भर्टलाई नै वन्यजन्तु वारपार गर्न सक्ने गरी व्यवस्थापन गरिनेछ । पानी निकास र वन्यजन्तु वारपार दुवै प्रयोजनका लागि हुने गरी व्यस्थापन गरिने योजना प्रमुख अधिकारीले बताए  । गैँडाकोटदेखि दाउन्नेसम्मका पाँच स्थानमा भने वन्यजन्तु वारपारकै लागि भनेर नयाँ पुल निर्माण गरिनेछ । 

यी स्थानमा बन्दै छन् जैविकमार्ग
गैँडाकोटको थुम्सी, कावासोतीको खरकट्टा, डण्डा–चोरमारबीचको चालिस किलो, चोरमार–अरुणखोला, अरुणखोला–दुम्किवास र दाउन्ने क्षेत्रको जंगलमा वन्यजन्तुका लागि वारपार गर्ने पुल निर्माण हुनेछन् ।  

दाउन्नेमा भने ‘ओभरपास’ (सडकमाथिबाट वारपार गर्ने स्थान) बनाउने योजनाबारे छलफल भइरहेको प्रमुख अधिकारीले जानकारी दिए । ठेक्का सम्झौताभित्र ‘ओभरपास’ बनाउने विषय नसमेटिए पनि एसियन विकास बैंक (एडिबी) सँग छलफल चलिरहेको उनले बताए ।