मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ कार्तिक २७ बुधबार १०:४५:००
Read Time : > 1 मिनेट
प्रदेश

विद्यालय जान  दैनिक पाँच घन्टा पैदल  

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २७ बुधबार १०:४५:००

तिला गाउँपालिकामा पर्ने घोडेमहादेव र मालिकाठाटाका बालबालिकालाई विद्यालय जान दैनिक पाँच घन्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । सडक सञ्जालमा नजोडिएका घोडेमहादेव र मालिकाठाटा साबिकका दुई गाविस हुन् । 

साबिकका यी दुई गाविसलाई संघीय संरचनाअनुसार चार वडामा विभाजन गरिएको छ । स्थानीय तहको निर्वाचनपछि तिला गाउँपालिकाको ६, ७, ८ र ९ नम्बर वडाका कतिपय गाउँ बस्तीसम्म सडकको ट्रयाक खनिएको छ । तर, रारालिहीस्थित तिला नदीमा पुल नबन्दा सवारीसाधन सञ्चालनमा आउन सकेको छैन । 

भौगोलिक विकटताका कारण चारवटा वडाका बालबालिकाले मावि कक्षामा पढ्न दैनिक पाँच घन्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । गाउँमा देवलक्ष्मी आधारभूत विद्यालय मात्रै छ । जहाँ कक्षा आठसम्म मात्रै पढाइ हुन्छ । 

गाउँमा मावि तहको विद्यालय नहुँदा कक्षा नौदेखि माथिका बालबालिका अध्ययनका लागि पाँच घन्टा टाढा घोडेगाउँमा रहेको जनजागृति मावि जाने गरेका छन् । ‘तिला गाउँपालिकाको ६ र ७ नम्बर वडामा एउटा मात्र मावि छ,’ देवलक्ष्मी आधारभूत विद्यालय सुडीगाउँका प्रधानाध्यापक झुपे रावतले भने, ‘घोडेसिम, पोख्री, रिपी, सुडी र घोडेगाउँ गरी पाँच गाउँका बालबालिका मावि तहको पढाइका लागि जनजागृति मावि जाने गरेका छन् । घोडेसिम र सुडी गाउँका बालबालिकालाई विद्यालय जान आउन पाँच घन्टा लाग्छ ।’ 

वर्षमा ३० प्रतिशत मात्रै हाजिर 
घरबाट विद्यालय निकै टाढा भएकाले बालबालिका नियमित विद्यालय जान सक्दैनन् । यहाँका विद्यार्थीको हाजिर वर्षमा ३० प्रतिशत मात्र हुने गरेको प्रधानाध्यापक रावतले बताए । 

सुडीगाउँबाट लेक काटेर जंगलको बाटो हुँदै घोडेगाउँ पुग्नुपर्छ । असार, साउन, भदौजस्ता वर्षात्को वेला अधिकांश बालबालिका विद्यालय जाँदैनन् । जाडोका पुस, माघ, फागुनजस्ता महिनामा पनि विद्यालय जान समस्या हुने गरेको कक्षा १० की विद्यार्थी सिर्जना रावतले बताइन् । ‘जंगलको बाटो लेक काटेर जाँदा जंगली जनावर र गलत नियत भएका मान्छेको डर हुन्छ,’ रावतले भनिन्, ‘हामीलाई कक्षा आठदेखि माथि अध्ययन गर्न निकै गाह्रो छ ।’

विद्यालय छाड्ने बालबालिका धेरै
घोडेसिम, रिपी र सुडीगाउँका आधाजसो बालबालिकाले बीचमै पढाइ छाड्ने गरेका छन् । पढ्नको लागि निकै टाढाको विद्यालय जानुपर्दा विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेका हुन् । गाउँमा कक्षा ८ पास गरेका झन्डै आधा बालबालिका माथिल्लो तहमा भर्ना हुँदैनन् । 

सुडीस्थित देवलक्ष्मी आधारभूत विद्यालयबाट बर्सेनि करिब २५ जना बालबालिकाले कक्षा आठ उत्तीर्ण गर्छन् । तर, कक्षा १० को एसइई परीक्षा दिने विद्यार्थीको संख्या भने ८–१० जना मात्र हुने गरेको प्रअ रावतले बताए ।  

गाउँमै मावि सञ्चालन गर्न माग
स्थानीयले रिपी, सुडी र ढिपु गाउँका लागि तिला गाउँपालिका –९ मानेचौरमा माध्यमिक विद्यालय सञ्चालन गर्न माग गर्दै आएका छन् । यस विषयमा स्थानीयले गाउँपालिकालाई पटक–पटक दबाबसमेत दिएको प्रधानाध्यापक रावतको भनाइ छ । तर, अहिलेसम्म गाउँपालिकाले भने गाउँमै विद्यालय सञ्चालन गर्ने विषयमा आवश्यक तयारी गरेको छैन ।