मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक २७ बुधबार १०:४२:००
Read Time : > 1 मिनेट
समाचार

दाङमा प्रदेश सभा उपनिर्वाचन : नेकपा र कांग्रेसबीच प्रतिस्पर्धा

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २७ बुधबार १०:४२:००

१४ मंसिरमा हुने प्रदेश सभा उपनिर्वाचनका लागि दाङ क्षेत्र नम्बर ३ (ख) मा सतारुढ नेकपा र प्रतिपक्षी कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने भएकोे छ । निर्वाचनका लागि नेकपाले तत्कालीन प्रदेश सभा सदस्य ओलीकी श्रीमती विमलाकुमारी खत्री र कांग्रेसले केशवराज शर्मालाई उम्मेदवार बनाएका छन् । उपनिर्वाचनका लागि यो क्षेत्रमा १२ दलसहित दुई स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । 

नेकपाकी उम्मेदवार विमलाकुमारी खत्री र कांग्रेसका उम्मेदवार केशवराज शर्मा ।

तत्कालीन प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको सडक दुर्घटनामा परी मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । गत निर्वाचनमा यो क्षेत्रमा तत्कालीन एमालेका तर्फबाट उम्मेदवार ओली विजयी भएका थिए । तत्कालीन नेकपा माओवादी (केन्द्रको) समर्थनमा ओलीले कुल ६७ हजार ६ सय ३७ मतमध्ये २३ हजार नौ सय ७० मत प्राप्त गरेका थिए । उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार बुद्धिराम भण्डारीले १७ हजार पाँच सय ३५ मत प्राप्त गरेका थिए । अहिले सो निर्वाचन क्षेत्रमा तीन हजार एक सय ५२ मतदाता थपिएर कुल ७० हजार सात सय ८९ पुगेको छ । 

सो निर्वाचन क्षेत्रमा पर्ने तीन स्थानीय तहमध्ये बबई र दंगिशरणमा नेकपा र शान्तिनगर गाउँपालिकामा कांग्रेसले जितेको थियो । सो क्षेत्रमा तुलसीपुर उपमहानगरपालिकाबाट सहभागी हुने चारवटा वडामध्ये तीन वडामा नेकपाले जितेको थियो । 

थपिएका मतदाता महत्वपूर्ण 
अघिल्लो चुनावमा नेकपा करिब ६ हजार बढी मतले अगाडि थियो । तर, हाल थपिएका मतदाताले अबको जित कसको हुने भन्नेमा महत्वपूर्ण भूमिका हुन सक्छ । थपिएका मतदाताले कुन उम्मेदवारलाई मत दिन्छन् भन्ने कुराले पनि निर्वाचन परिणामलाई प्रभाव पार्न सक्ने देखिन्छ । 

फेरबदल भइरहन्छ मतपरिणाम 
विगतको निर्वाचन परिणामअनुसार नेकपा कांग्रेसभन्दा धेरै बलियो देखिन्छ । यद्यपि, विगतको मतसंख्याका हिसाबले नेकपा बलियो देखिए पनि दाङको निर्वाचन परिणाम भने हरेकपटक फेरबदल भइरहेको छ । ०६४ सालमा तत्कालीन नेकपा माओवादीले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा जितेको थियो । ०७० सालको निर्वाचनमा परिणाम उल्टिएर नेपाली कांग्रेसले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा जितेको थियो । ०७४ सालको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा प्रतिनिधिसभातर्फका तीनवटै र प्रदेश सभातर्फका पाँचवटा निर्वाचन क्षेत्रमा नेकपाले जित हासिल गरेको थियो भने दाङ क्षेत्र नम्बर ३ (क) मा नेपाली कांग्रेसले जितेको थियो । यसरी हरेकपटकको निर्वाचनमा फरक–फरक परिणाम आएको दाङमा यसपटक नतिजा कसको पक्षमा जाने भन्ने विश्लेषण गर्न कठिन रहेको जानकारहरू बताउँछन् । 

दलहरूका आफ्नै दाबी 
यद्यपि, दुई प्रमुख प्रतिस्पर्धी दल नेकपा र नेपाली कांग्रेसले दाङ क्षेत्र नम्बर ३ (ख) को निर्वाचनमा आफ्नै दाबी गर्दै आएका छन् । पछिल्लो समय सरकारको अलोकप्रियता, कमजोर उम्मेदवारलगायत कारण जनतामा निराशा छाएकाले आफ्नो उम्मेदवारले निर्वाचन जित्ने कांग्रेस दाङका सचिव शंकर डाँगीले बताए । ‘पछिल्लो समय नेकपा सरकार तलदेखि माथिसम्म अलोकप्रिय छ । जनता नेकपा सरकारदेखि निराश छन्,’ सचिव डाँगीले भने, ‘कांग्रेसले एकमतका साथ त्यो क्षेत्रका पुराना नेतालाई उम्मेदवार बनाएको छ । जनताले हाम्रो उम्मेदवारलाई जिताउनेमा विश्वस्त छौँ ।’ यता, नेकपा दाङका सचिव सुवास पुनले विमलाको उम्मेदवारी जितको निरन्तरता भएकाले यो निर्वाचन पनि आफ्नो उम्मेदवारले जित्ने दाबी गरे । ‘नेकपाले पश्चिम क्षेत्रमा विकास गरेकै कारण विगतमा निर्वाचन जितेको हो । हालको जित पनि त्यसकै निरन्तरता हुनेछ,’ उनले भने । बलियो जनाधार, उपयुक्त उम्मेदवार र कुशल संगठन हाम्रो जितका आधार भएको उनले बताए ।