मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २७ बुधबार ०८:५३:००
Read Time : > 1 मिनेट
अर्थ

निर्यातको दिगो वृद्धि प्राथमिकतामा : अर्थमन्त्री

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २७ बुधबार ०८:५३:००

अर्थमन्त्री डा. युवराज खतिवडाले व्यापार घाटा न्यूनीकरणलाई प्राथमिकतामा दिँदै निर्यातको दिगो वृद्धिलाई जोड दिएको बताएका छन् । नेपाल उद्योग परिसंघका प्रतिनिधिसँग मंगलबार आफ्नै कार्यकक्षमा छलफल गर्दै उनले निर्यात प्रवर्द्धन र व्यापार घाटा न्यूनीकरणलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् । 

परिसंघले निर्यात व्यापारमा देखिएको सुधारलाई कायम राख्दै निर्यात प्रवर्द्धनका लागि थप सुधार गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएको थियो । जवाफमा अर्थमन्त्रीले नीतिगत सुधारका लागि अर्थ मन्त्रालयले समन्वय गरिरहेको बताए । ‘सरकारले निर्यातको दिगो वृद्धिलाई जोड दिएको छ, यसको योजना पनि बनाइरहेका छौँ,’ उनले भने, ‘निर्यात प्रवर्द्धन तथा व्यापार घाटा कम गर्ने विषयमा सरकारको विशेष प्राथमिकता रहेको छ ।’ उनले व्यवसायमैत्री वातावरण बनाउने कुरामा समेत आफ्नो विशेष ध्यान रहेको बताए । यसअघि परिसंघका अध्यक्ष सतिशकुमार मोरले निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापनमा भइरहेका सुधारको प्रशंसा गर्दै निर्यातका लागि थप प्रोत्साहन आवश्यक भएको बताए । उनले उत्पादन मूल्य कम गरी उद्योगहरूलाई थप प्रतिस्पर्धी बनाउन, आवश्यक नीतिगत सुधारका लागि पहल लिनसमेत अर्थमन्त्री खतिवडालाई आग्रह गरे । 

भेटमा परिसंघको प्रतिनिधिमण्डलले निर्यात प्रवद्र्धन र उद्योग व्यवसाय तथा समग्र अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि छलफल गरेको हो । भेटमा परिसंघका निर्वतमान अध्यक्ष हरिभक्त शर्मालगायतको उपस्थिति थियो ।

नेपाल समुद्रपार निकासी–पैठारी संघले सरकारले स्थापना गर्न लागेको राजस्व बोर्डमा आफ्नो संघलाई अनिवार्य रूपमा प्रतिनिधित्व गराउन माग गरेको छ । संघका उपाध्यक्ष सुनीलकुमार वंशलको टोलीले मंगलबार अर्थ मन्त्रालयका राजस्वसचिव शिशिरकुमार ढुंगानालाई भेटी राजस्व बोर्डमा आफ्नो प्रतिनिधित्व गराउन माग गरेको हो । 
भेटका अवसरमा प्रतिनिधिमण्डलका सहभागीले हार्मोनिक कोड नम्बर, भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भिसिटिएस), अधिकतम खुद्रा मूल्य र सन्दर्भ मूल्यले व्यापारमा सिर्जना गरेका समस्याबारे सचिव ढुंगानाको ध्यानाकर्षण गराए । उनीहरूले हार्मोनिक कोड नम्बरलाई १० डिजिट गर्न पनि आग्रह गरे । त्यस्तै, विश्वविख्यात ब्रान्डसँग मिल्दोजुल्दो आवरणमा सामान आयात हुने प्रवृत्तिलाई रोक्नसमेत उनीहरूले सचिव ढुंगानालाई आग्रह गरे । जवाफमा सचिव ढुंगानाले नक्कली सामान चिनाउन व्यवसायीले सहयोग गरे, भन्सारले त्यस्ता सामानको आयात रोक्ने बताए ।