१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक २७ बुधबार ०८:५४:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

करतारपुर : ७२ वर्षमा चार किलोमिटर यात्रा

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २७ बुधबार ०८:५४:००
मन्जिन्दर सिंह सिर्सा

मेरी आमाले मलाई दिएको पहिलो शिक्षा श्री गुरु नानकको पदचाप पछ्याउनू भन्ने थियो । शिख धर्मका संस्थापक नानकले भनेका छन्– किरत करो, नाम जपो, वान्डे छ को ।’ यसको अर्थ जीवनका लागि कडा मिहिनेत गर, भगवान्लाई सम्झिराख र आफ्नो मूल्य संसारसँग बाँड भन्ने हो । यो सुन्दर र भावनात्मक सन्देश गुरु नानकले श्री करतारपुर साहिबबाट दिनुभएको थियो । 

बाल्यकालदेखि नै मैले श्री करतारपुर साहिबबारे सुन्दै आएको छु, जहाँ गुरु नानकले आफ्नो जीवनको उत्तरार्ध बिताउनुभयो र मानवताका पक्षमा अहोरात्र योगदान गर्नुभयो । त्यसैले करतारपुर साहिब सधैँ शिख धर्मावलम्बीको हृदय र आत्मामा छ । म पनि यसबाट अछुतो छैन । हामी हरेक प्रार्थनामा भन्छौँ– खुले दर्शन दिदार बिछडे गुरुधाम ।

यसले हाम्रो पहुँचबाट टाढाको हाम्रो पवित्र तीर्थस्थल पुग्ने चाहना दर्साउँछ । श्री करतारपुर साहिब यस्ता ‘बिछडे गुरुधाम’मध्ये एक हो । म हुर्कंदै गर्दा र अहिले पनि प्रत्येक वर्ष, डेरा बाब नानक भ्रमण गर्छु । यो भारतको पन्जाबस्थित सीमावर्ती सहर हो । यहीँबाट हामीले टेलिस्कोपमार्फत गुरुद्वारा श्री करतारपुर साहिब हेथ्र्यौं र म कामना गर्थें कि कुनै दिन म यहाँ पुग्नेछु र गुरु नानकको भूमिमा शिर झुकाउनेछु । 

कसलाई थाहा थियो, यो सपना श्री गुरु नानक देवजीको ५५०औँ प्रकाश उत्सव (जन्मोत्सव) मा पूरा हुन्छ भनेर । मैले भन्नैपर्छ, गुरु नानकले यो कोरिडोर दुई देश (भारत–पाकिस्तान) लाई एकजुट गराउन बनाउनुभएको हो ।

करतारपुर कोरिडोरले गुरु नानकको हरेक दर्शनको संकेत गर्छ, यसले ती दुई देशबीच पुलको काम गर्छ, जोसँग एउटै भाषा, उस्तै खुसी र पीडा छन्

गुरु नानकको दर्शनको महत्व शान्ति, एकता र विश्वव्यापी भ्रातृत्व हो । उहाँले संसारलाई भन्नुभएको छ– यहाँ एउटै भगवान् छन् । उहाँ जात, धर्म र लिंगबीचको एकतामा विश्वास गर्नुहुन्छ । करतारपुर कोरिडोरले गुरु नानकको हरेक दर्शनको संकेत गर्छ । यसले ती दुई देशबीच पुलको काम गर्छ, जोसँग एउटै भाषा, उस्तै खुसी र पीडा छन् । त्यसैले अहिले दुवै देशका सीमा क्षेत्रका जनतामा ठूलो खुसी छ । 

करतारपुर कोरिडोर पुरातत्वको एउटा टुक्रा मात्रै होइन, यो कूटनीतिक कदम पनि होइन । यो आस्था र सत्कर्मको बाटोमा एउटा ठूलो छलाङ हो र गुरु नानक यस्तै चाहनुहुन्थ्यो । करतारपुर कोरिडोर हुँदै श्री करतारपुर साहिब पुग्ने पहिलो जत्थाको सदस्य हुन पाउँदा मैले भाग्यमानी महसुस गरेको छु । 

दिल्ली गुरुद्वारा व्यवस्थापन कमिटीको अध्यक्षका रूपमा मैले शिख धर्म र श्री गुरु नानक देवजीसँग सम्बन्धित धेरै समारोहमा धेरै आनन्ददायक र खुसीका पल बिताएको छु, तर आज मैले आफ्नो परिवारसँगै करतारपुर कोरिडोर नाघेर श्री करतारपुर साहिब पवित्रस्थलमा टेक्दाको खुसीसँग बराबर कुनै अर्को खुसी छैन । चार किलोमिटर कटेर यो पवित्र भूभागसम्म आउन ७२ वर्ष लाग्यो (१९४७ मा भारत–पाक विभाजन), यो यात्रामा खसेका आँसुले हाम्रो जीवन धन्य बनाइदिएको छ । 

(९ नोभेम्बरदेखि औपचारिक रूपमा पाकिस्तानको श्री करतारपुर साहिब गुरुद्वारा भारतीयका लागि खुला भएको अवसरमा दिल्ली शिख गुरुद्वारा व्यवस्थापन कमिटीका अध्यक्ष तथा दिल्ली विधानसभाका सदस्य सिर्साले राखेको विचार)रसिया टुडेबाट