१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
प्रविता श्रेष्ठ
२०७६ कार्तिक २७ बुधबार ०८:४१:००
Read Time : > 1 मिनेट
सप्तरंग

क्रेज साल्सा डान्सको

Read Time : > 1 मिनेट
प्रविता श्रेष्ठ
२०७६ कार्तिक २७ बुधबार ०८:४१:००

प्रज्ञा चित्रकार पेसाले फेसन डिजाइनर हुन् । उनले साल्सा सिक्न थालेको पाँच महिना भयो । भद्दा हुँदै गएको शरीर तन्दुरुस्त राख्नु उनका लागि अत्यावश्यक भइसकेको थियो । करिअरलाई अझ उचाइ दिन ‘फिट एन्ड फाइन’ रहनु आवश्यक देखिन्, उनले । १८ वर्षीया आयुष्का खनाल हिपहप डान्स सिक्न आएकी थिइन् । तर, साल्साको क्लास देखेपछि उनी त्यतै मोडिइन्, जो ‘बिगिनर कोर्स’ गरिरहेकी छिन् ।

पार्टनरसँग मिलेर गरिने नृत्य हो, साल्सा । फेसन डिजाइनर चित्रकारले सतीश मानन्धरलाई नृत्य सिक्ने पार्टनर बनाएकी छिन् । सतीश पनि साल्सामा रमाइरहेका छन् । भन्छन्, ‘बिहान चाँडै उठ्ने र दिनभर दौडधुप गर्ने हाम्रो दैनिकी छ । त्यसबाट बचेको समयमा केही नयाँ र भिन्न कुरा सिक्नु व्यक्तित्व विकासका लागि उपयोगी छ ।’ उनी साल्सालाई ‘प्यासन’ होइन, ‘पर्सनल ग्रोथ’का रूपमा लिन्छन् ।

अफ्रिकी मुलुकबाट सुरु भएको मानिने साल्सा दक्षिण अमेरिका पुगेर संसारभर फैलिएको मानिन्छ । यसमा ल्याटिन अमेरिकी संगीत नै हाबी हुन्छ । केटाले ‘लिड’ र केटीले त्यसको ‘फलो’ गर्छन् । जोडीविना साल्सा नृत्य गर्न मिल्दैन । नेपालमा साल्सा डान्स विनायकदास श्रेष्ठले भित्र्रयाएका हुन् ।

साल्साले सामाजिकीकरणमा जोड दिन्छ, सोही कारण यो सहरका व्यस्त मानिसको रोजाइ बन्न थालेको छ । सुरुमा पाँच प्रतिशत नेपाली र ९५ प्रतिशत विदेशीले साल्सा सिक्थे । अहिले भने ९९ प्रतिशत नेपाली र एक प्रतिशत मात्र विदेशी हुन्छन् ।

‘कंगोलगायत अफ्रिकी मुलुक र ल्याटिन अमेरिकाको संस्कृति सम्मिश्रण हुँदै फैलिँदा यसले संसारभर ख्याति कमाएको छ,’ श्रेष्ठ भन्छन् । सन् १९९५ मा जर्मनीका आन्द्रियाज लर्जले विदेशीहरूलाई सिकाइरहेको ठाउँमा श्रेष्ठ पनि साल्सा सिक्न पुगे । त्यसपछि स्पेन र जर्मनी गएर प्रशिक्षण लिए । र, सन् २००४ देखि काठमाडौंमा साल्सा सिकाउन थाले ।

त्यतिवेला यो नेपालमा नृत्यको नयाँ विधा थियो । सुरुमा पाँच प्रतिशत नेपाली र ९५ प्रतिशत विदेशीले सिक्थे । अहिले भने ९९ प्रतिशत नेपाली र एक प्रतिशत मात्र विदेशी प्रशिक्षार्थी हुने गरेको श्रेष्ठ बताउँछन् । खासगरी, आ–आफ्नो करिअरमा स्थापित हुने क्रममा रहेका युवा–युवती साल्सा सिक्न बढी लालायित देखिएको उनको भनाइ छ ।

प्रशिक्षार्थीहरूको उमेर समूह २० देखि ४० वर्षको हुन्छ । ‘शरीर तन्दुरुस्त राख्नु नै उनीहरूको मुख्य ध्येय देखिन्छ,’ श्रेष्ठ भन्छन् । साल्सामा दुईवटा अभ्यास हुन्छ– ‘थिम पार्टी’ र ‘सोसल’ । यसबीचमा करिब सात हजारले साल्सा सिकेको श्रेष्ठ बताउँछन् । तर, तीमध्ये अधिकांशले प्रारम्भिक चरणको कोर्स मात्र गरेका छन् । एड्भान्स कोर्समा कमै पुग्ने गरेका छन् । ‘एड्भान्स कोर्स गर्ने अधिकांश बिदेसिएको पाएको छु,’ श्रेष्ठ भन्छन् । 

काठमाडौंमा दुई स्थानमा मात्र साल्सा सिकाइन्छ– साल्सा डान्स एकेडेमी, बालुवाटार र दी डान्स फ्लोर, दरबारमार्ग । दुवैमा प्रशिक्षार्थीको भने कमी छैन । ‘साल्साले सामाजिकीकरणमा जोड दिन्छ, सोही कारण यो सहरका व्यस्त मानिसको रोजाइ बन्न थालेको छ,’ श्रेष्ठ भन्छन् ।