१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ कार्तिक २७ बुधबार ०८:२१:००
Read Time : > 1 मिनेट
खेलकुद

साग सुरु हुन १९ दिन बाँकी, मैदान खोज्दै कबड्डी 

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २७ बुधबार ०८:२१:००

१३औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता सुरु हुन अब १९ दिन मात्रै बाँकी छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको गत शनिबार काठमाडौंमा सम्पन्न बैठकले पूर्वनिर्धारित मितिमै साग आयोजना गर्ने निर्णय गरेको छ ।

यससँगै पूर्वनिर्धारित मिति १५–२४ मंसिरसम्म साग खेलकुद आयोजना हुने निश्चित देखिएको छ । तर, आफ्नो प्रतिष्ठासँग जोडिएको प्रतियोगिताको तयारीमा आयोजक नेपाल निकै कमजोर देखिएको छ । प्रतियोगिता आयोजनाका लागि मुस्किलले तीन साता बाँकी रहँदा नेपालले सागअन्तर्गत आयोजना हुने सबै खेलको आयोजनास्थल निश्चित गर्न सकेको छैन ।

साग खेलकुदमा समावेशमध्ये कबड्डीको खेल आयोजनास्थल अझै निश्चित भएको छैन । प्रतियोगिताको मिति मुखैमा आइपुग्दा अखिल नेपाल कबड्डी संघका पदाधिकारी सागअन्तर्गत आफ्नो खेलको आयोजनास्थल तय गर्न दौडधुपमा लागेका छन् । खेलस्थल नै निश्चित नभएपछि नेपालले सागको तयारी हेर्न आएका सहभागी सबै देशका प्रतिनिधिलाई कबड्डी खेलको खेलस्थल नै देखाउन सकेन । नियमअनुसार प्रतियोगिताअघि आयोजक राष्ट्रले सहभागी सबै देशलाई खेलस्थलदेखि प्रतियोगिताको सम्पूर्ण तयारीबारे अवलोकन गराउनुपर्नेछ । 

सोही उद्देश्यका लागि १३औँ सागमा सहभागी हुने राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सका प्रतिनिधि अहिले नेपालमा छन् । उनीहरू सहभागी रहेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले गत शनिबार १३औँ साग पूर्वनिर्धारित मितिमै आयोजना गर्ने निर्णय गरेको हो । तर, सो बैठकपछि खेलस्थलको तयारीबारे अवलोकनका लागि निस्किएका सबै देशका प्रतिनिधिले कबड्डी खेलको खेलस्थल हेर्न पाएनन् । 

यसमा सम्बन्धित खेल संघसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पनि गल्ती देखिएको छ । सागअन्तर्गत कबड्डी खेलको आयोजना कीर्तिपुरस्थित कभर्डहलमा आयोजना गर्ने जनाइएको थियो । सो खेलस्थल राखेपले नै निर्धारण गरेको हो । यद्यपि, सो कभर्डहल मापदण्डअनुसार नभएको पाइएको अखिल नेपाल कबड्डी संघले जनाएको छ । दसैंअघि नै तय भएको सो खेलस्थल अहिलेसम्म मापदण्डअनुसार भए–नभएको नहेर्नु संघ र १३औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत गठित प्राविधिक समितिको पनि गल्ती हो । 

संघका महासचिव विनोद प्रजापतिले पूर्वनिर्धारित खेलस्थल मापदण्डअनुसारको नभएकाले त्यसको विकल्पको खोजी भइरहेको जानकारी दिए । ‘पहिले आयोजना गर्ने भनिएको कीर्तिपुरको कभर्डहल आवश्यक मापदण्डअनुसारको भएन । खेलाडीले राम्रोसँग खेल्न मिल्ने ठाउँ नै भएन,’ महासचिव प्रजापतिले नयाँ पत्रिकासँग भने, ‘त्यसैले अहिले त्यसको विकल्पमा अर्काे ठाउँको खोजी गरिरहेका छौँ ।’साग खेलकुदअन्तर्गत कबड्डी १८–२३ मंसिरसम्म सञ्चालन हुनेछ । कबड्डीमा नेपालसँगै पाकिस्तान र श्रीलंकाले सहभागिता जनाउँदै छन् । 

एपिएफको कभर्डहल प्रस्तावित
कीर्तिपुरको कभर्डहल उपयुक्त नभएपछि कबड्डी संघले पछिल्लो केही दिनदेखि सम्भावित स्थलको खोजी गरिरहेको छ । त्यसक्रममा संघले मातातीर्थस्थित कभर्डहलको पनि अवलोकन गरेको छ । यद्यपि, सो कभर्डहल पनि आवश्यक मापदण्डअनुसार नभएको पाइएपछि संघले हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को कभर्डहलमा गर्ने प्रस्ताव गरेको छ । 

संघको प्रस्तावअनुसार १३औँ साग खेलकुदअन्तर्गत खेलस्थल निर्धारण समितिले एपिएफ क्लबलाई सो कभर्डहल उपलब्ध गराइदिन अनुरोधसहित पत्र पठाएको छ । यद्यपि, त्यसका लागि पनि १३औँ सागअन्तर्गत गठित प्राविधिक समितिले अवलोकन गर्न बाँकी रहेको छ । एपिएफले कभर्डहल उपलब्ध गराएपछि र त्यसलाई प्राविधिक समितिले पारित गरेपछि मात्रै कबड्डीको खेलस्थलको टुंगो लाग्नेछ ।

‘यसअघि तय गरिएको कभर्डहल मापदण्डअनुसार नरहेको संघले जनाएको छ,’ खेलस्थल निर्धारण समितिका सचिव लवभक्त श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘संघले एपिएफको कभर्डहलमा आयोजना गर्न सकिने भनेपछि त्यसअनुसार हामीले पत्र लेखेका छौँ । अब प्राविधिक समितिले हेरेर निर्धारण गरेपछि कबड्डीको खेलस्थल टुंगो लाग्नेछ ।’