२०७६ कार्तिक २७ बुधबार ०६:२१:००
नयाँ पत्रिका

आलमको पक्षमा वरिष्ठ अधिवक्ताहरूको परेड

बारका तीन पूर्वअध्यक्ष शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसी तथा पूर्वमहासचिवद्वय रमण श्रेष्ठ र सुनील पोखरेलसहित ३३ अधिवक्ताको शक्ति प्रदर्शन गरेर रौतहटका जिल्ला न्यायाधीशलाई मनोवैज्ञानिक दबाबमा पार्ने आलमको रणनीति, पीडित र साक्षीलाई अपहरण गरेर बयान फेर्न लगाउने क्रम पनि जारी

अफ्ताब आलमलाई मुख्य अभियुक्त किटान गर्दै प्रहरीमा जाहेरी दिने राजपुर बमकाण्डका पीडितलाई प्रलोभन र धम्कीमा बयान फेर्न लगाउने कोसिस भएको छ । प्रहरीले घटनाको साक्षीका रूपमा प्रस्तुत गरेको घाइतेमध्येका गौरीशंकर राम चमारलाई आलम पक्षले बयान फेर्न दबाब दिएको खुलेको छ । 

भारत सीतामढी बैरगनियाका उनी सोमबार बयान फेरिएको लिखित निवेदनसहित जिल्ला अदालत पुगेका थिए । अदालतभित्र चलिरहेको थुनछेक बहस प्रभावित पार्न खटाइएका चमार अदालत परिसरमै पक्राउ परेपछि तथ्य बाहिरिएको छ । 

यसअघि आफू राजपुर बम विस्फोटमा घाइते भएको र भारत गएर उपचार गरेको भन्दै मुख्य अभियुक्त आलमविरुद्ध किटानी जाहेरी दिएका चमारले सोमबार अदालत बुझाउन लगेको निवेदनमा भने सन् २०११ मा स्टोभ पड्किएर घाइते भएको उल्लेख छ । चमारले यो बयान आलमका मान्छेले नै लेखेर आफूलाई जबर्जस्ती हस्ताक्षर गर्न लगाएको बताएका छन् । 

‘चार दिनअघि बैरगनियास्थित घरमै बसिरहेको थिएँ, केही मान्छेहरू आएर जिपमा हालेर लगे । बन्धक बनाएर केही कागजातमा हस्ताक्षर गर्न लगाए,’ मंगलबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै चमारले भने, ‘सोमबार सोही समूहले बैरगनिया पेटल चोकमा ल्याएर छाड्यो । त्यहाँबाट राजपुरका शेख नौसादले मोटरसाइकलमा राखेर आलमको घरमा पुर्‍याए । दिउँसो १ बजेतिर उनैले अदालतनजिक छाडेर फर्किए ।’

२७ चैत ०६४ को विस्फोटमा चमारको दुवै कान गुमेको छ भने अनुहारको तल्लो भागदेखि छातीसम्म पूर्ण रूपमा जलेको छ । यससअघि २१ कात्तिकमा पनि अर्का साक्षीको बयान परिवर्तन गर्ने प्रयास भएको थियो । विस्फोटमा मारिएका मोहम्मद ओसी अख्तरकी पत्नी अमना खातुनलाई ‘पति वैदेशिक रोजगारीमा गएर नफर्किएको’ झुटो निवेदन इजलासमा पेस गर्न लगाइएको थियो । तर, अदालतले निवेदन दर्ता गरेन । जब कि अमना आफैँले ०७४ मै ओसीको मृत्युदर्ता प्रमाणपत्र बनाएर आलमलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएकी थिइन् ।  

हाल भाउजू अमनासँग विवाह गरेका ओसी अख्तरका भाइ बाडी जमी अख्तर भन्छन्–अमनाले अहिले दिएको निवेदन झुटो हो
मेरो नाम बाडी जमी अख्तर हो । म ओसी अख्तरको भाइ हुँ । उसको मृत्यु भयो । त्यसपछि मैले भाउजू अमना खातुनसँग विवाह गरेँ । उनको हेरचाह मैले गरेको छु । खानापिना मैले दिने गरेको छु । अफ्ताब आलमले मेरो दाइ ओसीलाई इँटाभट्टाको चिम्नीमा हालेर मारेको साँचो हो । ऊ जेलबाट छुटोस् या नछुटोस्, हामीलाई न्याय चाहियो । मेरी श्रीमती अमना खातुनले अहिले दिएको भनिएको निवेदन झुटो हो । मैले त निवेदन देखेको पनि छैन । हामी मरेर जाउँ, तर मुद्दा मिल्ने पक्षमा छैनौँ । हामी जस्तोसुकै जोखिम मोल्न पनि तयार छौँ । 

अमनाका बाबु समसुल मियाँ भन्छन्–ओसीको मृत्यु भइसकेको छ, मृत्युदर्ता प्रमाणपत्र मैले नै झिकेको हुँ 
मेरी छोरीले अदालत गएर बयान फेर्‍यो भन्ने सुनेँ । लिखित पनि बुझायो भन्ने छ । उसले ‘मेरो श्रीमान् जिउँदो छ, ऊ वैदेशिक रोजगारीमा छ’ भन्यो रे । त्यो बिल्कुल झुटो हो । मेरी छोरीले बयान फेरेको भनेर जुन कुरा मिडियामा आएको छ, त्यो पनि झुटो हो । छोरीले भनेको यति मात्रै हो– श्रीमान् दुई महिनाका लागि नेपाल आएको थियो, उसको मृत्यु भएको हो या बेपत्ता हो भन्ने मेरा सासूलाई मात्रै थाहा छ । ओसी अख्तर मेरो ज्वाइँ हो । उसको मृत्यु भइसकेको छ । मृत्युदर्ता प्रमाणपत्रसमेत मैले नै झिकेको हुँ । 

बयान फेर्न अदालत पुगेका गौरीशंकर भन्छन्–उनीहरूकै वकिलले तयार गरेको कागजातमा मलाई हस्ताक्षर गर्न लगाए 
म अफ्ताब आलमको राजपुरस्थित इँटाभट्टामा काम गर्थेँ । ज्याला लिनु थियो । त्यसैका लागि उनले मलाई राजपुरस्थित घरनजिकै बोलाए । म त्यहाँ पुगेको मात्रै थिएँ, नजिकैको टहरो घरमा बम विस्फोट भयो । छर्रा आएर मेरो छातीमा लाग्यो । म त्यहाँबाट उछिट्टिएर गहुँबारीमा लडेँ । ज्यान जोगाउन म त्यहाँबाट भागेँ । भारततर्फ लागेँ । गाउँकै अस्पतालमा आफैँले उपचार गरेँ । घटनाको १२ वर्षपछि अफ्ताब पक्राउ परेको सुनेँ । त्यसपछि उजुरी दिन म नेपाल आएँ । जिप्रका रौतहट पुगेँ । अफ्ताबविरुद्ध प्रहरीमा जाहेरी दिएँ । घटना सम्बन्धमा प्रहरीलाई बयान दिएँ । अनि घर फर्किएँ । 

चार दिनअघि म घरमै थिएँ । एउटा गाडी मेरो घरअगाडि रोकियो । त्यहाँबाट नौसाद आलमसहित अन्य केही अपरिचित मेरो घरतर्फ आए । केही कुरा गर्नु छ, सँगै जाउँ भने । म डराएको थिएँ । उनीहरूसँगै गाडीमा बसेँ । मलाई भारतकै सिभर भन्ने ठाउँमा लगे । चार दिनसम्म त्यहाँ राखे । हाम्रो मान्छे छुटाउनु भने । त्यसका लागि बयान फेर्न भने । मागेजति रकम दिन्छौँ पनि भने । ज्यान जोगाउनु थियो, त्यसैले उनीहरूले भनेको मानेँ । कागजात उनीहरूकै वकिलले तयार गरेका रहेछन् । त्यसमा हस्ताक्षर गर्न भने, मैले गरेँ । मेरो आधार कार्ड पनि लगेर गए । विस्फोटमा नभई स्टोभ पड्केर घाइते भएको बयान दिन मलाई दबाब दिए । त्यसो नगरे ज्यान मार्ने धम्की दिए । म राजी भएपछि हिजो (सोमबार) त्यो टोलीले मलाई बोर्डरमा ल्याएर छाड्यो ।  

रौतहटका डिएसपी नवीन कार्की भन्छन्–गौरीशंकर असिनपसिन हुँदै हतास मुद्रामा अदालत छिरेका थिए 
सोमबार अदालतमा अफ्ताब आलमको थुनछेक बहस चल्दै थियो । सुरक्षा प्रबन्ध मिलाउने काम चुनौतीपूर्ण थियो । त्यसैले म आफैँ फिल्डमा खटिएको थिएँ । दिउँसो १:३० तिर जिल्ला अदालत परिसरमै थिएँ । गेटबाट एक व्यक्ति असिनपसिन हुँदै हतास मुद्रामा अदालतभित्र छिरेको देखेँ । नियालेर हेर्दा गौरीशंकर राम चमार रहेछ । उसलाई अनुसन्धानका क्रममा भेटेको थिएँ । अफ्ताब पक्राउ परेपछि ऊ आफैँ अफ्ताबविरुद्ध जाहेरी लेखाउन हामीकहाँ आएको थियो । ऊसँग गोप्य बयान मैले नै लिएकाले पनि चिनेँ । 

ऊ निकै हतास देखिन्थ्यो । म नजिकै गएँ । ‘अरे ओ गौरीशंकरजी’ भनेँ । ऊ हच्कियो । म अझै नजिक गएँ । पसिनाले निथु्रक्कै भिजेको रहेछ । हातमा केही कागजात पनि बोकेको देखियो । मैले के हो भनेर सोधेँ । ऊ बोलेन । निकै डराएजस्तो देखेपछि आफूसँगै जिप्रका लगेँ । खाना खाएको रहेनछ । पानी दिएर उसैलाई खान पकाउन लगाएँ । खाना खाएपछि बल्ल केही फेरिएजस्तो देखियो । त्यसपछि मेरा प्रश्नमा ऊ खुल्न थाल्यो । ऊ भारतीय नागरिक हो । अफ्ताबविरुद्ध जाहेरी दिएपछि ऊसँग हामीले बयान लिएका थियौँ । मेडिकल रिपोर्ट पनि बनाएका थियौँ । उसले २७ चैत ०६४ मा राजपुरमा भएको बम विस्फोटमा आफू घाइते भएको बयान दिएको थियो । त्यसपछि घर फर्किएको थियो । अफ्ताब पुर्पक्षका लागि जेल जान सक्ने देखिएपछि उसका सहयोगी गौरीशंकरको घरमा गएछन् । घरबाटै अपहरण गरेछन् । चार दिनसम्म अज्ञात स्थानमा लगेछन् । बयान फेर्न प्रलोभन दिएछन् । नमानेपछि ऊसहित उसका परिवारको समेत ज्यान लिने धम्की दिएछन् । त्यसपछि ऊ बयान फेर्न राजी भएछ । उनीहरूले कागजातसमेत नक्कली बनाएछन् । हस्ताक्षर गर्न लगाएछन् । अफ्ताबकै सहयोगीले सोमबार उसलाई गौर ल्याएर छोडेछन् । सोही आदेशअनुसार ऊ सोमबार अदालत आएको रहेछ । अहिले ऊ हामीसँग सुरक्षित छ । तर, निकै डराएको छ । हामीले घर जान भनेका छौँ, उसलाई सहयोग गर्न भारतीय प्रहरीलाई पनि आग्रह गरिसकेका छौँ । तैपनि ऊ डराइरहेको छ । घर जानै मानेको छैन । 

आलमको पक्षमा वकालतनामा लेखाएका पूर्वमहान्यायाधिवक्ता तथा नेपाल बारका पूर्वमहासचिव वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ भन्छन्–सामाजिक प्रतिष्ठाको कुरा छाड्नोस्, मान्छेको व्यवसायको कुरा गर्नुस्

घरमा बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकालाई उपचार गर्नुको सट्टा जिउँदै इँटाभट्टामा हालेर खरानी बनाएको आरोपमा पक्राउ परेका मोहम्मद अफ्ताब आलमको पक्षमा पैरवी गर्न तपाईंजस्ता वरिष्ठ अधिवक्ताहरू लाइन लागेर रौतहट गइरहनुभएको छ । यस विषयमा समाजले प्रश्न गरेको छ, तपाईंको प्रतिक्रिया के छ ?

तपाईंले यस्तो प्रश्नै गर्न नमिल्ने हो । तपाईंलाई म उदाहरण दिन्छु, एउटा डाक्टरको काम बिरामीको उपचार गर्ने हो । म फलानो बिरामीको उपचार गर्छु, अर्कोको गर्दिनँ भन्न पाउँछ कि पाउँदैन ? बिरामीले उपचार पाउनुपर्छ नि । त्यो डाक्टरको व्यावसायिक धर्म हो । 

तर, उदाहरण अलि मिलेन अधिवक्ताज्यू । कुनै मान्छे बिरामी भएको छ, रोगले पीडित भएको छ भने उसले उपचार पाउनुपर्‍यो । त्यसमा डाक्टरले भेदभाव गर्न मिल्दैन । मोहम्मद अफ्ताब आलम पनि पीडित भएको भए उनले कानुनी सहयोग पाउनुपर्थ्यो । के उनी आफैं पीडित हुन् भन्ने अवस्था छ ? अहिले प्रकट भइरहेका प्रमाणहरूले पनि त्यसै भन्छ ? उनीमाथि अन्याय नै भएको हो भन्ने लाग्छ सरलाई ?

अन्याय र न्यायको त कुरै भएन नि । एउटा अपराधी नै रहेछ भने पनि उसले आफ्नो भनाइ त राख्न पाउनुपर्छ नि । संविधान हेर्नुभएको छ नि ? के भन्छ संविधानले ? कुनै व्यक्तिले आफैं वकिल राख्न सकेन भने अदालतले राखिदिनुपर्छ भन्ने व्यवस्था छ । 

जसले वकिल राख्न सक्दैन, अदालतले नै राखिदिने व्यवस्था छ । त्यो ठीक हो । तर, मोहम्मद अफ्ताब आलमको अवस्था त्यही हो ? नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, प्रेमबहादुर खड्का, शेरबहादुर केसी, पूर्वमहासचिव तपाईं र सुनील पोखरेललगायत ३३ जना वकिलको परेड खेलाउन सक्ने आलमलाई पनि निरीह भन्ने ? 

तपाईंले मैले भनेको कुरा बंग्याउनुभयो । सुन्नुस् न, सम्बन्धित मान्छेले वकिल राख्न सकेन भने पनि अदालतले राखिदिन्छ भनेको हुँ । 

तर, उहाँले वकिल राख्न नसकेर तपाईंहरूलाई खोज्नुपर्ने अवस्था आएको त होइन नि ? 

कसैले राख्न सकेन भने अदालतले राखिदिन्छ, राख्न सक्नेले त राखिहाल्छ नि । व्यावसायिक कुरा एकातिर छ, तपाईं अर्कै कुरा गरिरहनुभएको छ । आदर्शको कुरा गरिरहनुभएको छ । हाम्रोमा त मान्छेहरूले देउताभन्दा पनि ठूला कुरा गर्छन् । 

तर, स्पष्ट के छ भने बम विस्फोटलगत्तै नेपाल मानवअधिकार आयोग र नेपाल बारको टोली घटनास्थलमा गएको थियो । घाइतेलाई जिउँदै इँटाभट्टामा हालिएकाले यो विषयमा अनुसन्धान गर्नुपर्छ, दोषीलाई कारबाही गर्नुपर्छ भनेर थप छानबिनको माग गरेको थियो । तपाईं त्यतिखेर बारको महासचिव हुनुहुन्थ्यो । मान्छे इँटाभट्टामा हालेर जलाइयो भनेर अनुसन्धानको माग गर्ने पनि तपाईं । होइन आलम त निर्दोष हुन् भन्ने पनि तपाईं । 

तपाईं व्यावसायिक कुरा गर्नुस्, दशथरी कुरा नगर्नुस् । आ–आफ्नो ‘लिमिटेसन’ सबैले बुझेका छन् । मैले पनि आफ्नो ‘लिमिटेसन’ बुझेको छु । तर, हामी कस्तो ठाउँमा छौँ भने अरूलाई अर्ती–उपदेश दिन अघि बढ्छौँ । आदर्शको कुरा गर्छौँ । आदर्शको कुरा गर्दागर्दै देश कहाँ पुगिसक्यो । पुछारबाट नम्बर एक भइसक्यो । हामी यस्तै कुरा गर्दै गरौँ, देश अझैं माथि जान्छ । तर, म के भन्छु भने तपाईं–हामीले व्यावसायिक कुरा गर्नुपर्छ । हरेक विषयलाई राजनीतिसँग जोड्नुहुँदैन । तपाईंले म यसको समाचार लेख्छु, उसको लेख्दिनँ भन्न पाउनुहुन्छ ? हाम्रो व्यवसाय पनि त्यस्तै हो । 

हामीले समाचार त सबैको लेख्छौँ, तर जघन्य अपराध गर्ने र पीडित दुवै बराबर हुन् भनेर लेख्दैनौँ । पीडितको तर्फबाट आवाज उठाउँछौँ । अहिले पनि आलमले जघन्य अपराध गरेका हुन् र ओसी अख्तर तथा त्रिलोकप्रताप सिंहजस्ता युवालाई जिउँदै इँटाभट्टामा हालेर मारेका हुन् । उनको परिवारले न्याय पाउनुपर्छ भनेर लेखिरहेका छौँ 

समाचार तपाईं आफ्नो हिसाबले लेख्नोस् न, तर मसँग व्यावसायिक कुरा गर्नुस् । हामीलाई मन लागेको मुद्दामा लड्छौँ, नलागेको लड्दैनौँ । यसमा दायाँबायाँ कुरै छैन । 

तर, नेपाल बार एसोसिएसनले जसमाथि छानबिन गर्नुपर्छ भनेको थियो, त्यही मान्छे निर्दोष हो भनेर तपाईं आफैं उभिनु कति जायज हो ? 

बारले आफ्नो काम गर्छ, हामीले आफ्नो काम गर्छौँ । बार र व्यवसाय भनेको एउटै कुरा हो र ? 

कानुनका ज्ञाताहरूबीच एउटा भनाइ छ– ‘डक्ट्रिन अफ एप्रोवेट एन्ड रिप्रोवेट ।’ एउटै मुद्दामा एकजनालाई दोषी भन्ने र फेरि त्यही व्यक्तिलाई त्यही मुद्दामा निर्दोष भन्ने । यसरी दोहोरो फाइदा लिनेहरूलाई परिभाषित गर्न यो ‘डक्ट्रिन’ बनेको हो । तपाईंहरूको प्रवृत्ति यस्तै देखिन्छ नि ?

एप्रोवेट एन्ड रिप्रोवेट भनेको म बुझ्दै बुझ्दिनँ, त्यो भनेको के हो नेपालीमा भन्नोस् । 

यो भनेको एउटै मुद्दामा दुईतिरबाट फाइदा लिनु हो । पक्षबाट पनि फाइदा लिने, विपक्षबाट पनि फाइदा लिने प्रवृत्तिलाई कानुनका ज्ञाताहरूले यसै भन्छन् नि ।

एउटै मुद्दामा म पक्षबाट र विपक्षबाट पनि मुद्दा लडेको देख्नुभएको छ ? सुन्नुभएको छ ?

बारको महासचिव हुँदा रौतहटमा जघन्य अपराध भयो भनेर छानबिन समिति बनाउने र सामाजिक प्रतिष्ठा कमाउने, फेरि कानुन व्यवसायीका रूपमा त्यही आरोपीको पक्षमा मुद्दा लड्ने । दोहोरो प्रवृत्ति देखियो नि होइन ?

बारले के गरेको छ भन्ने कुरा उसैले जानोस् । त्यहाँ पदाधिकारी छन्, उनीहरूलाई नै सोध्नोस् । 

तर, तपाईं आफैं महासचिव हुँदा भएको निर्णय कसलाई सोध्ने ?
त्यो १२ वर्षअगाडि, १५ वर्षअगाडि भएको कुरा सोधेर मलाई कसरी थाहा हुन्छ ? बारमा पदाधिकारी छन्, उनैलाई सोध्नोस् ।

तर, तपाईं पूर्वमहान्यायाधिवक्ता, बारको पूर्वमहासचिव, सामाजिक प्रतिष्ठा र उत्तरदायित्व अवश्य छ । यो सबै बिर्सेर जघन्य अपराधको आरोप लागेका आलमको पक्षमा उभिन असजिलो भएको छ कि छैन ?

फेरि तपाईंले त्यही कुरा सोध्नुभयो । सामाजिक प्रतिष्ठा छाडिदिनुस् न, मान्छेको व्यवसायको कुरा गर्नूस् । तपाईं सबै कुरा सामाजिक प्रतिष्ठासँग जोड्नुहुन्छ ? प्रतिष्ठा भएको मान्छेले व्यवसाय गर्छ कि गर्दैन ? सबै कुरा यसरी नजोड्नुस् । व्यावसायिक रूपले मुद्दा हेर्न मिल्ने कि नमिल्ने भनेर हामी आफैं निर्णय गर्छौँ । 

आलमका वकिलहरूले बहस मात्र गरिरहेका छैनन्, सरकारी साक्षीलाई बयान फेर्न लगाएका छन् । आलमका मान्छेले कब्जामा लिने र वकिलले झुटो निवेदन लेखिदिने गरेका छन् । यसरी जबर्जस्ती बयान फेर्न लगाउनु त कानुनमाथिको पनि अपराध हो नि । 

यो काम जसले गरेको हो, उसैलाई सोध्नुस् । यो विषयमा मलाई जानकारी छैन । मलाई मेरो काम गर्न दिनुस्, मैले नसोचि बहसमा नाम लेखाएको छैन ।

आलमको पक्षमा वकालतनामा भरेका वरिष्ठ अधिवक्ताहरू

  •  प्रेमबहादुर खड्का 
  •  शम्भु थापा
  •  शेरबहादुर केसी
  •  रमणकुमार श्रेष्ठ
  •  सुनील पोखरेल
  •  योगेन्द्र अधिकारी

अधिवक्ताहरू

  •  अनिरुद्द महतो
  •  अनोजकुमार यादव
  •  रामनाथ कुसवाहा
  •  अफ्ताब आलम
  •  मो. सफी अहमद
  •  किशोर राउत
  •  रामबहादुर दास
  •  सवुरीलाल ठाकुर
  •  धीरेन्द्र तिवारी
  •  जगदीश राय यादव
  •  हरिशंकर प्रसाद
  •  सोनेलाल पटेल
  •  रामईश्वर प्रसाद
  •  रामविनोद पटेल
  •  नन्दकिशोर साह
  •  राजाराम राय यादव
  •  भाग्यनारायण झा
  •  हेमचन्द्रलाल कर्ण
  •  मोहम्मद मजरुल हक
  •  शेख मैनुद्दिन
  •  अनन्त अधिकारी
  •  रामदरेश प्रसाद
  •  रामविनोदकुमार गिरी
  •  सञ्जीवकुमार मलिक
  •  लालबहादुर यादव
  •  विनयलाल कर्ण
  •  जितेन्द्रकुमार सिंह

पीडितको पक्षमा वकालतनामा भरेका वरिष्ठ अधिवक्ताहरू

  •  युवराज संग्रौला
  •  दिनेश त्रिपाठी
  •  गोविन्द शर्मा बन्दी

अधिवक्ताहरू

  •  ओमप्रकाश अर्याल
  • मनिषकुमार श्रेष्ठ
  •  पुष्पराज पौडेल
  •  आशिकराम कार्की
  •  राजकुमार महासेठ
  •  अम्मरबहादुर राउत
  •  कुमार शर्मा


पीडितको पक्षबाट बहस गर्ने अधिवक्ता ओमप्रकाश अर्याल भन्छन्–आलमले सिलसिलेबार अपराध गरेका छन्, उनलाई संरक्षण गर्न खोज्नु सामाजिक मर्यादाको मात्र होइन, कानुनको पनि उल्लंघन हो

विशुद्ध व्यवसाय गर्ने कानुन व्यवसायीको विषयमा धेरै प्रश्न गर्न सकिँदैन । तर, म अगुवा हुँ, मैले यो पेसाको मर्यादा राख्ने हो, सामाजिक र राजनीतिक न्यायको वकालत गर्ने हो भन्ने कानुन व्यवसायीका आफ्ना सीमा हुन्छन् । सार्वजनिक रूपमा मर्यादाका कुरा गर्ने र इजलासमा पुगेर जघन्य अपराधको आरोप लागेका व्यक्तिको पक्षमा वकालत गर्नु अशोभनीय हो । त्यो विश्वासमाथिको बेइमानी पनि हो । मोहम्मद अफ्ताब आलमको विषयमा बार आफैं पनि एउटा पक्ष हो ।

किनकि, घटनालगत्तै बारले एउटा टोली पठाएको थियो । जसले गम्भीर अपराध भएको भन्दै थप अनुसन्धानको माग गरेको थियो । तर, थप अनुसन्धान हुन नपाउँदै बारकै अगुवाहरू आलमकै पक्षमा वकालत गर्न जानु नैतिक रूपमा पनि प्रश्न उठ्ने विषय हो । आलमको बहस जिल्ला अदालत रौतहटमा चलिरहेको छ । तर, सर्वोच्च अदालतमा बहस गर्ने वरिष्ठ अधिवक्ताहरू काठमाडौंबाट त्यहाँ धाइरहेका छन् ।

उनीहरू काठमाडौंमै व्यस्त हुने वकिलहरू हुन् । तर, यहाँका मुद्दा छाडेर उनीहरू जिल्ला धाइरहेका छन् । यसको अर्थ सबैले बुझ्न सक्छन् । तर, व्यावसायिक फाइदा हुन्छ भन्दैमा जघन्य अपराधीको पक्षमा वकालत गर्न मिल्दैन । किनकि, आलमले एउटा मात्र अपराध गरेका होइनन् । उनको अपराधको सिलसिला छ । पहिले बम बनाउन लगाए, पड्किएपछि घाइते भएकालाई जिउँदै इँटाभट्टामा हाले ।

अनुसन्धानमा अवरोध गरे । पीडितका परिवारलाई धम्क्याए । मृतक युवाकी आमालाई गोली हानेर मारे । १२ वर्षपछि अहिले मुद्दा चल्दा सरकारी साक्षी बनेका मान्छेहरूलाई अपहरण गरेर बयान फेर्न लगाएका छन् । बलजफ्ती कागज गराउन वकिलहरू पनि प्रयोग भएका छन् । साक्षीहरूलाई धम्की दिनु, बल प्रयोग गर्नु अर्को अपराध हो । त्यस्तालाई संरक्षण गर्नु सामाजिक मर्यादाको मात्र होइन, कानुनको पनि उल्लंघन हो ।