बाघको आक्रमणमा परी बाँकेमा तीन दिनमा दुई महिलाको मृत्यु भएको छ । पाटेबाघको आक्रमणबाट आइतबार र मंगलबार गरी दुईजनाको मृत्यु भएको हो । राप्तीसोनारी गाउँपालिका–८, बालापुरकी ६० वर्षीया ठगी खड्काको मंगलबार दिउँसो मृत्यु भएको हो ।
राप्तीसोनारी–८ स्थित शिवशक्ति सामुदायिक वनमा पर्ने डप्का खोलामा घाँस काट्न गएकी खड्कालाई बाघले आक्रमण गरी छातीको भाग खाएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी हेमबहादुर शाहीले जानकारी दिए । पति तिलक खड्काका अनुसार उनी बिहान ९ बजे जंगलमा घाँस काट्न गएकी थिइन् । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली त्यसतर्फ गएर अनुसन्धान अगाडि बढाएको शाहीले बताए ।
यसअघि २४ कात्तिकमा पाटेबाघको आक्रमणबाट कोहलपुर नगरपालिका–१३, नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेतको मृत्यु भएकोे थियो । दिउँसो ४ बजेतिर बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्रमा दाउरा लिन गएकी बस्नेतलाई पाटेबाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दाउरा लिन गएकी बस्नेत घर नफर्किएपछि खोज्न जाँदा पाटेबाघको आक्रमण परेर मृत भेटिएको स्थानीय निरकबहादुर शाहीले बताए ।