भरतपुर अस्पतालमा ल्याब परीक्षण गर्न जम्मा गरिएका पिसाबका नमूना ।
२०७६ कार्तिक २७ बुधबार ०६:२८:००

नेपाल क्यान्सर र भरतपुर अस्पतालको ल्याबमा कर्मचारीको बदमासी : निजी ल्याबमा नमुना संकलन गरेर सरकारी अस्पतालको ल्याबमा परीक्षण

भरतपुर अस्पताल र क्यान्सर अस्पतालको ल्याबमा कार्यरत प्राविधिक कर्मचारीले रगत परीक्षणमा बदमासी गर्ने गरेको भेटिएको छ । दुवै अस्पतालमा कार्यरत कर्मचारीले भरतपुरमा रहेका केही निजी रगत प्रयोगशाला परीक्षण (ल्याब)मा नमुना संकलन गरी सरकारी अस्पतालमा रहेको ल्याबमा जाँच गर्ने गरेको पाइएको छ । 

आफू कार्यरत निजी ल्याबमा नमुना संकलन गरेर सरकारी अस्पतालको ल्याबमा परीक्षण हुने गरेको स्वयं कर्मचारी बताउँछन् । कहिले सरकारी अस्पतालमा हुने जाँचलाई निजी ल्याबमा पठाउने र निजी ल्याबका नमुना सरकारीमा ल्याई परीक्षण गर्ने दोहोरो बदमासी सरकारी अस्पतालको कर्मचारीमा भेटिएको छ । 

कर्मचारीहरूले ड्युटीमा आउँदा नमुना भाइलहरू खल्तीमा हालेर ल्याउने, तर सरकारी अस्पतालको ल्याब प्रयोग गरेर रिपोेर्ट दिने गरेका छन् । ल्याबमा भएको बदमासीबारे मंगलबार दिउँसो बुझ्न जाँदा ल्याब इन्चार्ज हरिबहादुर थापा भेटिएनन् । पछि फोन सम्पर्कमा उनले ल्याबमा भएको बदमासीबारे गलत सूचना आएको दाबी गरे । एउटा मेसिनले काम गर्नुपरेको भन्दै उनले उल्टै प्रशासनको दोष देखाए । 

भरतपुर सरकारी अस्पतालको ल्याबमा भएको मनपरीबारे भने अस्पताल प्रशासन मौन छ । अस्पतालमा कार्यरत कर्मचारी निजी ल्याबमा समेत काम गर्छन् । वार्डका नर्सहरूले बिरामी निजी ल्याबमा पठाउने विषयमा प्राविधिक कर्मचारीलाई दोषी देखाएका छन् भने ल्याबका कर्मचारी माथिबाटै सेटिङ हुने गरेको भन्दै पन्छिने गरेका छन् । 

 आफ्नै लगानीमा ल्याब खोलेर अनुमतिविनै काम गर्छन् प्राविधिक 
स्वास्थ्य ऐनमा आफू सेवारत सरकारी स्वास्थ्य संस्थाबाट अनुमति लिएर मात्र अन्य निजी संस्थामा काम गर्न सकिने उल्लेख छ । तर, भरतपुर अस्पताल र क्यान्सर अस्पतालमा कार्यरत ल्याबका कर्मचारी सम्बन्धित अस्पतालको स्वीकृतिविनै निजी ल्याबमा काम गरिरहेका छन् । ‘अन्यत्र काम गर्न अस्पतालबाट अनिवार्य स्वीकृति लिनुपर्छ,’ क्यान्सर अस्पताल भरतपुरका प्रशासकीय अधिकृत गृहनारायण महतोले भने, ‘बाहिर क–कसले काम गर्छन् ? थाहा छैन । कसैले पनि स्वीकृति लिएका छैनन् ।’ 

भरतपुर अस्पतालको ल्याब इन्चार्ज हरिबहादुर थापाको भरतपुरकै आरडिएल ल्याबमा सेयर छ । सेयरसहित आरडिएल ल्याबमा कार्यरत कमल भट्टराई, तारापति भुर्तेल, अमृत विक, सृजेन्द्र श्रेष्ठ, विजय शाह सरकारी कर्मचारी हुन् ।

अस्पताल विकास समितिले करारमा नियुक्त गरेका ईश्वर महतो, अनिल न्यौपाने आरडिएलमा पनि कार्यरत छन् । ‘उनीहरूले अस्पतालबाट स्वीकृति लिए नलिएको थाहा छैन,’ ल्याबका इन्चार्ज थापाले भने, ‘स्वीकृति लिएर काम गर्नुपर्छ भन्नेबारे मलाई नै थाहा छैन ।’ आरडिएलको काममा प्रभावित नहोस् भनी ड्युटी समय पनि सोहीअनुसार मिलाउने गरेको पाइएको छ । क्यान्सर अस्पतालका प्रदीप हमाल र गोकुल भण्डारी पनि आरडिएल ल्याबमा कार्यरत छन् ।