१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक २६ मंगलबार ११:४२:००
Read Time : > 1 मिनेट
प्रदेश

पासाङल्हामु सडकमा खाल्डैखाल्डा

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २६ मंगलबार ११:४२:००

जोखिम मोलेर यात्रा गर्नुपरेपछि थालियो खाल्डो पुर्ने अभियान

पासाङल्हामु मार्गको बेत्रावतीदेखि स्याफ्रुबेँसीसम्मको सडकमा परेका खाल्डाखुल्डी पुर्न सुरु गरिएको छ । वर्षायाम सकेर सुक्खायाम सुरु भएसँगै बेत्रावतीदेखि कालिकास्थान, धुन्चे हुँदै स्याफ्रुबेँसीसम्मको सडकमा परेका खाल्डाखुल्डी पुर्न सुरु गरिएको हो ।  

सडक डिभिजन कार्यालय नुवाकोटले शनिबारदेखि धुन्चे–कालिकास्थान सडकखण्डअन्तर्गत स्याउबारीबाट खाल्डाखुल्डी परेको सडक मर्मत सुरु गरेको जनाएको छ । एउटा जेसिभी, एउटा लोडर र एउटा टिपर प्रयोग गरी बिग्रेको सडक मर्मत सुरु गरिएको सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख नीरज शाक्यले बताए । बिहीबार जिल्ला विपद् व्यवस्थापन समितिले सरोकारवालासँगको छलफलपछि बिग्रिएका सडक सुधारको अभियान सुरु गर्ने निर्णय गरिएको थियो । छलफलले  सडक डिभिजन कार्यालय नुवाकोटको समन्वयमा गोसाइँकुण्ड गाउँपालिका र कालिका गाउँपालिकाको नेतृत्वमा खाल्डाखुल्डी भई बिग्रेका सडक मर्मतको काम सुरु गर्ने निर्णय गरिएको थियो । सोहीअनुसार खाल्डाखुल्डी भई बिग्रेका सडक मर्मत सुरु गरिएको जनाएको छ । 

सडक मर्मत गर्न आवश्यक पर्ने स्रोतसाधन डोजर, ट्रिपर, रोलरलगायतका साधन सडक डिभिजन कार्यालय नुवाकोट, जिल्लाका गाउँपालिका, जलविद्युत् आयोजना, यातायात व्यवसायी समितिलगायत सरोकारवाला निकायलाई अनुरोध गर्ने निर्णय गरिएको थियो । त्यस्तै, हेभियन्त्रका लागि सडक विभागमा अनुरोध गर्ने निर्णय गरिएको थियो । त्यसका लागि आवश्यक पर्ने इन्धन सडक डिभिजन कार्यालय नुवाकोटले व्यहोर्ने भएको छ । 

मन्त्री आए, घुमे, सडक बनेन
भारतले नाकाबन्दी लगाएपछि पासाङल्हामु मार्ग स्तरोन्नति गर्ने भन्दै धेरै मन्त्री रसुवागढी नाकासम्म पुगेर अनुगमन गर्ने गरेका थिए । सडक स्तरोन्नति गर्ने र ठाउँठाउँमा गाडीलाई साइड दिन तत्काल पासिङ जोन बनाउने योजनासमेत सार्वजनिक गरिएको थियो । तर, सडकको अवस्था जस्ताको त्यस्तै छ । सरकारले त्यतिवेला नै सडक स्तरोन्नति गर्ने घोषणा गरे पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । सडक डिभिजन कार्यालय भने पर्याप्त बजेट नआएको हुँदा मर्मतसम्भार हुन नसकेको भन्दै पन्छिँदै आएको छ ।

 खाल्डा पुरेपछि ग्राभेल गरिने
बेत्रावतीदेखि कालिकास्थान, धुन्चे हुँदै स्याफ्रुबेँसीसम्मको  सडकखण्डमा बढी खाल्डाखुल्डी भएकाले सडक ग्राभेल गर्न आवश्यक देखिएकाले खाल्डाखुल्डी पुर्न सुरु भएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।  उनका अनुसार राम्चे, ग्राङ, सोले, धुन्चे र ठूलो भार्खुमा ग्राभेल गरिने भएको छ । 

स्याउबारीदेखि स्याफ्रुबेँसीसम्मको सडक जीर्ण छ । पासाङल्हामु मार्गको स्याउबारीदेखि स्याफ्रुबेँसीसम्मको जीर्ण तथा साँघुरो सडक मर्मत नगर्दा जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था छ । सडक जीर्ण हुँदासमेत सडक डिभिजन कार्यालयले काम गर्न नसकेको भन्दै सरोकारवालाले आक्रोश पोखेका छन् ।
 

जोखिम मोलेर यात्रा
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट नेपालतर्फ आयात तथा निर्यात हुने सामान यही सडकखण्ड हुँदै आवतजावत हुने गर्छ । मैलुङ, स्याफ्रुबेँसी सडकमा जोखिम रहेको हुँदा अधिकांश सवारी स्याफ्रुबेँसी, धुन्चे कालिकास्थान बेत्रावतीको सडक प्रयोग गरिराखेका छन् । 

रसुवागढी नाका हुँदै आउने तथा सदरमुकाम धुन्चे हुँदै जाने ठूला मालवाहक सवारीसाधन, निमार्णाधीन जलविद्युत् आयोजनाको निर्माण सामग्रीलगायत करोडौँ मूल्यका सामान सवारीसाधनमार्फत यही बाटोबाट जोखिम मोलेरै लाने ल्याउने गरेका छन् । सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढी नाका हुँदै सामान आयात भइरहेको छ ।