मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २६ मंगलबार ११:१६:००
Read Time : > 1 मिनेट
विश्व

बोलिभियामा ढल्यो  मोरालेसको १४ वर्ष लामो सत्ता

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २६ मंगलबार ११:१६:००

दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसले राजीनामा दिएका छन् । राष्ट्रपतिको राजीनामा माग गर्दै आन्दोलन चर्किएपछि उनले राजीनामा दिएका हुन् । आन्दोलन उत्कर्षमा पुगेपछि सेनाले पनि मोरालेसलाई समर्थन नगर्ने जनाएको थियो । 

तीन साताअघि सम्पन्न निर्वाचनपछि उनी पुनः राष्ट्रपतिमा निर्वाचित भएका थिए । मोरालेसले टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले पदबाट राजीनामा दिएको घोषणा गरे । सम्बोधनका क्रममा मोरालेसले आफ्नो कार्यकालमा भोकमरी हटेको र गरिबी न्यून भएको दाबी गरेका थिए ।

चरम असन्तुष्टि
१४ वर्षदेखि सत्तामा रहेका मोरालेसको विरोध गर्दै मन्त्री र केही सरकारी अधिकारीले एकपछि अर्को गर्दै राजीनामा दिएपछि उनी समस्यामा परेका थिए । तीन साताअघि सम्पन्न निर्वाचनबाट पुनः राष्ट्रपतिमा चयन भएका मोरालेसविरुद्ध चौतर्फी असन्तुष्टि बढेको थियो । आन्दोलनको दबाबपछि मोरालेस राजीनमा दिन बाध्य भएको भन्दै पूर्वराष्ट्रपति तथा मुख्य विपक्षी दलका नेता कार्लोस मेसाले बोलिभियाली जनताले विश्वलाई नै नयाँ सन्देश दिएको बताए ।

मेक्सिकोको दूतावासमा शरण
राष्ट्रपतिबाट राजीनामा दिएपछि मोरालेससहित २० जना सांसद र केही सरकारी अधिकारीले बोलिभियास्थित मेक्सिकन दूतावासमा शरण लिएका छन् । मेक्सिकोले राष्ट्रपति मोरालेसलाई आफ्नो देशमै शरण दिन तयार रहेको घोषणा गरेको छ । मोरालेसले ट्विट गर्दै आफूलाई गिरफ्तार गर्न सुरक्षाकर्मीले पक्राउपुर्जी जारी गरेको बताए । मोरालेसले आफ्नो घरमा आक्रमणकारीको एउटा समूहले ढुंगा प्रहार गरेको गुनासो गरेका छन् । तर, प्रहरी प्रमुख भ्लादिमिर युरी काल्डेरोनले भने मोरालेसको भनाइमा सत्यता नरहेको दाबी गरे । प्रहरीले आइतबार राति निर्वाचन अदालतका प्रमुख मारिया युजेनिया चोकलाई गिरफ्तार गरेको घोषणा गरेको छ । विपक्षीले अदालतको आडमा मोरालेसले चुनाव जितेको आरोप लगाउँदै आएका थिए ।

१४ वर्ष राष्ट्रपति 
आयमारा आदिवासी समुदायको प्रतिनिधित्व गर्ने मोरालेस किसान हुँदै राजनीतिमा होमिएका थिए । उनी सन् २००६ मा आदिवासी समुदायबाट बोलिभियाको पहिलो राष्ट्रपति बनेका थिए । त्यसपछि उनले लगातार चार पटक निर्वाचन जितेर करिब १४ वर्ष राष्ट्रपति बनेका थिए । यसै वर्षको अक्टोबर २० मा सम्पन्न चुनावमा उनी झिनो मतान्तरले चौथो कार्यकालका लागि विजयी भएका थिए । तर धाँधली गरेर चुनाव जितेको भन्दै विपक्षीले सो चुनावी परिणाम अस्वीकार गरेका थिए ।

विजयी भएको दुई सातामै राजीनामा
मोरालेस राष्ट्रपतिमा विजय भएको दुई सातामै राजीनामा दिन बाध्य भएका छन् । उनको विजयलाई अस्वीकार गर्दै भएको दुई सातादेखिको प्रदर्शनमा तीनजनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका थिए । 

विरोध प्रदर्शन जारी रहेकै बेला ६० वर्षीय मोरालेसले नयाँ चुनावका लागि पनि प्रस्ताव गरेका थिए, तर विपक्षीले उनको प्रस्ताव ठाडै अस्वीकार गरेका थिए । सशस्त्र फौजका प्रमुख एवं सेनापति विलियम्स कलिम्यानले मुलुकको स्थायित्व, विकास र सडक प्रदर्शन मत्थर पार्न मोरालेसलाई राजीनामा गर्न आफूले सुझाब दिएको बताएका थिए ।