मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २६ मंगलबार १०:४३:००
Read Time : < 1 मिनेट
खेलकुद

लिभरपुलको सानदार जित

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २६ मंगलबार १०:४३:००

इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा लिभरपुलले शीर्ष स्थानमा स्पष्ट आठ अंकको अग्रता लिएको छ । लिभरपुलले सोमबार घरेलु मैदान एनफिल्डमा साबिक विजेता म्यानचेस्टर सिटीमाथि ३–१ को सानदार जित निकाल्यो । लिभरपुलले १२ खेलमा ११औँ जित निकाल्दै ३४ अंक बनाएको छ ।

लिभरपुलले दोस्रो स्थानमा रहेको चेल्सीसित आठ अंकको अग्रता लिएको छ । थोरै खेलमा दोस्रो स्थानमा रहेको क्लबविरुद्ध फराकिलो अग्रताको रेकर्ड म्यानचेस्टर युनाइटेडको नाममा छ । युनाइटेडले सन् १९९३–९४ को सिजनमा १२ खेलमा नौ अंकको अग्रता लिएको थियो । लिभरपुललाई खेलमा अग्रता दिलाउनेक्रममा फाबिन्होले छैटौँ मिनेटमा गोल गरे । उनले काउन्टर एट्याकमा लामो दूरीबाट पहिलो बारमा १–० का लागि गोल गरे । 

लिभरपुलले अग्रता लिनुअघि सिटीको पेनाल्टी अपिल रेफ्रीले अस्वीकार गरेका थिए । घरेलु मैदानमा लिभरपुल पहिलो हाफमा उत्कृष्ट लयमा देखिएको थियो । मोहमद सलाहले १३औँ मिनेटमा हेडिङ गोल गरे । साडियो मानेले ५१औँ मिनेटमा लिभरपुलको अग्रता ३–० मा पुर्‍याए । मानेले चालू सिजनमा घरेलु मैदानमा गोल संख्या १६ पुर्‍याइसकेका छन् । सिटीका लागि भने एक मात्र गोल ७८औँ मिनेटमा बर्नान्डो सिल्भाले गरे । 

सलाहको ३८औँ गोल
सलाहले लिभरपुलको एन्डफिल्डमा ४४ खेलमा ५२ गोलमा आफ्नो  प्रत्यक्ष योगदान दिएका छन् । उनले ३८ गोल गर्दा १४ गोलका लागि असिस्ट गरेका छन् । लिभरपुलले पछिल्ला २३२ घरेलु खेलमा दुई गोलको अग्रता बनाउँदा पराजित हुनुपरेको छैन, जसमा २२७ खेल जितेको छ भने पाँच खेलमा बराबरी गरेको छ । प्रिमियर लिगमा म्यानचेस्टर सिटी सिजनमा दोस्रोपटक तीन गोल खान पुग्यो । यसअघि नर्विचसँग ३–२ ले पराजित भएको थियो । लिभरपुल पछिल्ला १७ प्रिमियर लिगको घरेलु खेलमा सिटीसँग पराजित भएको छैन ।