मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २६ मंगलबार ०९:५०:००
Read Time : > 3 मिनेट
अर्थ

विमानस्थलको साढे २ अर्ब बक्यौता

अस्तित्वमै नरहेका स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीबाट ३० करोडभन्दा बढी उठाउन बाँकी

Read Time : > 3 मिनेट
२०७६ कार्तिक २६ मंगलबार ०९:५०:००

अस्तित्वमै नरहेका स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीबाट ३० करोडभन्दा बढी उठाउन बाँकी


त्रिभुवन विमानस्थलको सेवासुविधा प्रयोग गरेबापत नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीसहित विभिन्न निकायबाट असुल गर्नुपर्ने बक्यौता रकम साढे २ अर्ब पुगेको छ । प्राधिकरणको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०७६/७७ को असोजसम्ममा प्राधिकरणले असुल गर्नुपर्ने रकम २ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवाशुल्क नियमावली २०६७ अनुसार वायुसेवा कम्पनी तथा विमानस्थल परिसरभित्र रहेका संस्थाहरूबाट शुल्क लिने व्यवस्था गरिएको छ । प्राधिकरणले अवतरण, भूमिस्थ, हवाई इन्धन, विज्ञान, सुरक्षा जाँच, मालसमान ढुवानी, भवन तथा कोठा प्रयोग, सञ्चार, क्याटरिङलगायतबाट शुल्क उठाउँदै आएको छ । 

नियमावलीअनुसार विमानस्थलको सेवा उपयोग गरेबापत तत्काल शुल्क भुक्तानी गर्नुपर्छ । त्यस्तै चार्डर्ट गरिएका विमान र सेडुअल नभएको उडान गर्नुपरेमा भने उडानपूर्व नै भुक्तानी गर्नुपर्छ । त्यस्तै, नियमावलीमा गरिएको व्यवस्थाअनुसार प्राधिकरणले मिल जारी गरेको ३० दिनभित्र बक्यौता रकम भुक्तानी गरिसक्नुपर्छ । कुनै सम्झौता भएमा ३० दिनभित्र बक्यौता बुझाउनुपर्छ । अन्यथा प्राधिकरणले तोकेको अवधि गुज्रिएको १५ दिनभित्र ५ प्रतिशत जरिवाना लाग्छ । १६ दिनपछि १५ प्रतिशत र ३० दिनपछि ३० प्रतिशत विलम्ब शुल्क लाग्छ । यस्तो बक्यौता रकम असुल गर्ने मुख्य जिम्मेवारी सम्बन्धित विमानस्थल प्रमुखको हुने नियमावलीमा उल्लेख छ । 

अन्तर्राष्ट्रिय कम्पनीबाट मात्रै सवा अर्ब बक्यौता 
स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीको बक्यौता मात्रै १ अर्ब १६ करोड रुपैयाँ रहेको प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले बताए । प्राधिकरणका अनुसार बन्द भइसकेका वायुसेवा कम्पनीबाट पनि रकम असुल गर्न बाँकी छ । सरकारी कम्पनी नेपाल एयरलाइन्सको बक्यौता मात्रै ३० करोड ७३ लाख रुपैयाँ छ । त्यस्तै एयर एसियाको १८ करोड ९४ लाख, हिमालयन एयरलाइन्सको १५ करोड ५ लाख, हङकङ ड्रागन एयरलाइन्सको १ करोड ४८ लाख, इत्तेहादको १ करोड १३ लाख, एयर इन्डियाको ४ करोड ८० लाख, जेट एयरवेजको २ करोड २ लाख, किंगफिसरको १ करोड १५ लाख, मालिन्दो एयरको २ करोड १२ लाख, ओमन एयरको १ करोड २३ लाख, कतार एयरवेजको ३ करोड, थाई लाएन एयरको १ करोड ९ लाख, थाई एयरवेजको १ करोड २१ लाख बक्यौता छ । बक्यौता रहेका कतिपय कम्पनी बन्द भइसकेका छन् । 

स्वदेशी कम्पनीबाट मात्रै ४० करोड बक्यौता बाँकी 
स्वदेशी निजी वायुसेवा कम्पनीबाट असुल गर्नुपर्ने रकम बक्यौता रकम ४० करोड पुगेको छ । जसमध्ये यति एयरलाइन्सको ६५ लाख ६५ हजार रुपैयाँ बक्यौता छ । ताराको ७ लाख १ हजार, सीता एयरको ४४ लाख ४६ हजार, सिम्रिकले १ करोड ४ लाख, अल्टिच्युडले ७८ हजार ४ सय ९१ रुपैयाँ, अल्पाइन एयर ७२ हजार ७२८, गोर्खा एयरलाइन्सको ६ लाख ५७ हजारलगायत अन्य कम्पनीको बक्यौता रहेको प्राधिकरणको तथ्यांक छ । 

सरकारी निकायले पनि गर्दैनन् भुक्तानी
विमानस्थल प्रयोग गरेबापत सरकारी निकायहरूले पनि लामो समयदेखि भुक्तानी गरेका छैनन् । प्राधिकरणका अनुसार बिमा संस्थानको बक्यौता रकम ७५ हजार छ । नेसनल ट्रेडिङको ३ लाख ७० हजार, आयल निगमको ६१ लाख १८ हजार, टेलिकमको २२ लाख ४९ हजार, पर्यटन बोर्डको ५ लाख ३५ हजार बक्यौता रहेको छ । 

साढे एक अर्ब आम्दानी 
प्राधिकरणले त्रिभुवन विमानस्थलबाट डेढ अर्ब रुपैयाँ आम्दानी गरेको छ । चालू आवको तीन महिनाको अवधिमा विमानस्थलबाट १ अर्ब ४५ करोड रुपैयाँ आर्जन भएको हो । प्राधिकरणले टर्मिनल भाडाबाट ५ करोड ४५ लाख, जग्गा भाडाबाट १ करोड ७९ लाख, अवतरण शुल्कबाट २२ करोड ९२ लाख, सञ्चार शुल्कबाट १० करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । 


बक्यौता असुल गर्न जटिल छ 
राजन पोखरेल
महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण 

बक्यौता भएका कम्पनीलाई पत्र काटिएको छ । यद्यपि, नेकोन र कस्मिकलगायतका कतिपय कम्पनी बन्द भइसकेका छन् । तैपनि, घरघरबाट नै रकम उठाउने भन्ने योजना पनि भएको थियो । तर, कम्पनीका मालिकहरू को कहाँ छन् भनेर खोज्न जटिल छ । यसको जिम्मेवारी टिआइएको हो । टिआइएले रकम असुल गर्न प्रक्रिया अगाडि बढाएको छ । 

नीतिगत तहबाट नै निर्णय हुनुपर्छ 

प्रतापबाबु तिवारी
प्रवक्ता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

बन्द भएका वायुसेवा कम्पनीबाट असुल गर्नुपर्ने विषयमा प्राधिकरणको तहबाट नै निर्णय हुनुपर्छ । टिआइए प्राधिकरणअन्तर्गत रहेको नीतिगत तहबाट नै निर्णय हुनुपर्छ । त्यस्तै, नेपाल एयरलाइन्स कम्पनीबाट पनि ठूलो रकम असुली हुन बाँकी छ । यस विषयमा सरकारको तर्फ नै निर्णय भयो भने हामीलाई समन्वय गर्न सहज हुन्छ ।

बन्द कम्पनीको बक्यौता उठ्ने सम्भावना न्यून 
नेपाल नागरिक उड्डयन प्राधिकरणले बन्द भएका वायुसेवा कम्पनीबाट मात्रै असुल गर्नुपर्ने रकम ३० करोडभन्दा बढी पुगेको छ । अस्तित्वमा नै नरहेका स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीको बक्यौता असुल हुने सम्भावना न्यून रहेको स्वयं विमानस्थलका अधिकारीहरू बताउँछन् । नेपाल उडान भर्दै आएका अन्तर्राष्ट्रिय कम्पनी एयर एसिया, जेट एयरवेज, किङफिसर बन्द भइसकेका छन् । तर, ती कम्पनीबाट मात्रै प्राधिकरणको बक्यौता २२ करोड १२ लाख रुपैयाँ छ । जसमध्ये एयर एसियाको १८ करोड ९४ लाख, जेट एयरवेजको २ करोड र  किङफिसरको १ करोड १५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बन्द भएका स्वदेशी वायुसेवा कम्पनीबाट पनि करिब ८ करोड असुल्न बाँकी छ ।   

स्वदेशी कम्पनीमध्ये कस्मिक एयरको ३ करोड ३३ लाख, नेकोन एयरको ४ करोड ६३ लाख, गोर्खा एयरलाइन्सको ६ लाख ५७ हजार, कर्णालीको १६ लाख ६४ हजार, माउन्टेनको ६ लाख ६ हजारलगायतका कम्पनीहरूबाट प्राधिकरणले असुल गर्नुपर्नेछ । तर, कम्पनीहरूको अस्तित्वमा नै नरहेकाले विमानस्थलले असुल गर्न सकेको छैन ।