१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सुदीप आचार्य काठमाडाैं
२०७६ कार्तिक २६ मंगलबार ०८:१२:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

तापक्रम वृद्धि र चासोे 

Read Time : > 1 मिनेट
सुदीप आचार्य काठमाडाैं
२०७६ कार्तिक २६ मंगलबार ०८:१२:००

पृथ्वीको तापक्रम वृद्धिमा महत्वपूर्ण कारक रहेको हरितगृह ग्यास उत्सर्जन अबको एक दशकमा उत्सर्जित हुने मात्राभन्दा धेरै गुणाले वृद्धि हुने एक अध्ययनले देखाएको छ । वैज्ञानिक जियाङ जु र उनका सहकर्मीले हालै गरेको अध्यनअनुसार भविष्यमा उत्सर्जन हुने हरितगृह ग्यासले मौसम संवेदनशीलतामा बढवा दिने र पृथ्वीको तापक्रम वृद्धिमा धेरै ठूलो असर गर्ने अनुमान गरेका छन् । अध्ययनअनुसार अहिलेभन्दा ६ करोड ६० लाख वर्षपहिले हरितगृह ग्यास एकाग्रता करिब एक हजार पिपिएम थियो, जुन अहिलेको हरितगृह ग्यास एकाग्रताभन्दा दोब्बर हो । त्यसवेला पृथ्वीको औसत तापक्रम अहिलेको भन्दा १४ डिग्री बढी थियो । यसलाई आधार मान्ने हो भन्ने अब उत्र्सजन हुने पाँच सय पिपिएम हरितगृह ग्यासले १० देखि १५ डिग्री तापक्रम वृद्धिमा मद्दत गर्नेछ । 

अनुमानित तापक्रम वृद्धि अहिले उत्र्सजन भएको हरितगृह ग्यासले गराएको तापक्रम वृद्धिको तुलनामा धेरै बढि हो । यही आधारमा तापक्रम वृद्धि भए छिट्टै पृथ्वीको औसत तापक्रम वृद्धि धेरै बढी हुने र यसले पृथ्वीमा मानव बस्तीलाई नै धरासयी गराउने चेतावनी वैज्ञानिकल दिएका छन् । हाल पृथ्वीको औसत तापक्रम करिब १५ डिग्री सेल्सियस र कार्बनडाइअक्साईडको एकाग्रता करिब चार सय १५ पिपिएम रहेको छ । पृथ्वीको औसत तापक्रम वृद्धि सन् १९८० को तुलानामा करिब १.४ डिग्रीले बढी छ । नेपालको भौगोलिक अवस्थाका कारण नेपालको औसत तापक्रम पृथ्वीको तापक्रम वृद्धिभन्दा बढी करिब १.८ छ । वैज्ञानिकका अनुसार यो तापक्रम वृद्धिमान निर्मित हरितगृह ग्यासका कारण भएको हो । 

हाल संसारभर जलवायु परिवर्तनले भविष्यमा पार्न सक्ने असरबारे चर्चा चलिरहेको छ । विश्वभरबाट वैज्ञानिकलगायत सम्पूर्ण सरोकालवाला व्यक्ति जलवायु परिवर्तनको कारक मानिएको मानवनिर्मित हरितगृह ग्यास उत्सर्जनमा कटौती गर्न लागिपरेका छन् । त्यसैबीच सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा पक्ष राष्ट्रको सम्मेलनले पृथ्वीको औसत तापक्रम दुई डिग्री कायम राख्ने भन्नेबारे महत्वपूर्ण सम्झौता गरेका छन् । जुन सम्मेलनमा एक सय ९४ देशका सरोकालवाला व्यक्तिको उपस्थिति थियो । सम्मेलनमा हस्ताक्षर गर्ने देशले पृथ्वीको औसत तापक्रम वृद्धि औद्योगिक क्रान्ति हुनुभन्दा पहिलेको तुलनामा दुई डिग्रीभन्दा तल र १.५ डिग्रीसम्म रोक्नका लागि प्रयास गर्ने उल्लेख गरेका छन् । तर, वैज्ञानिकका अनुसार त्यसको केही वर्षमै पृथ्वीको औसत तापक्रम वृद्धि औद्योगिक क्रान्ति हुनुभन्दा पहिलाको तुलनामा करिब १.५ डिग्री पुगिसकेको छ र यसलाई रोक्नका लागि अझै ठोस कदम नचालिए छिट्टै दुई डिग्रीभन्दा माथि तापक्रम वृद्धि हुने अनुमान गरिएको छ । 

वैज्ञानिक जियाङ जु र उनका सहकर्मीले जनाएअनुसार भविष्यमा उत्सर्जन हुने हरितगृह ग्यासबाट पृथ्वीको तापक्रम बढ्न केही मानवनिर्मित हरितगृह ग्यास नै पर्याप्त हुनेछन् । यसरी पृथ्वीको औसत तापक्रम दुई डिग्रीभन्दा माथि पुग्ने हो भने, त्यसले नेपालको तापक्रम पनि पक्कै बढाउनेछ । यसले नेपालको जलवायु परिवर्तनमा ठूलो प्रभाव पार्नेछ । 

यसले नेपालका हिमशृंखलालाई हिउँविहीन बनाउनेछ भने, बाढी, पहिरो, भूक्षयलगायत प्रकृतिजन्य विपत्तिलाई पनि निम्त्याउनेछ । यसले कृषि उपजमा समेत नराम्रो असर पार्ने सहजै अनुमान लगाउन सकिन्छ । सयौँ प्रकारका साना कीटको जीवनमा पनि नकारात्मक असर पार्नेछ, जसले समग्र पारिस्थितिक पद्धतिलाई नै खल्बल्याउनेछ । जलवायु परिर्वतन विश्वव्यापी समस्या भएका कारण नेपाल एक्लैले वा अन्य कुनै एक देशले मात्रै यसको समस्या समाधान गर्छु भनेर हुँदैन । त्यसकारण जलवायु परिवर्तनमा विश्वका समग्र देशको एक मत हुनु आवश्यक छ । अन्ततः यो हाम्रो मानवता जोगाउने प्रश्नसँग गाँसिएको छ । 

(आचार्य चाइनिज एकेडेमी अफ साइन्सेसमा जलवायु परिवर्तन विषयमा अध्ययनरत छन्)