मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक २६ मंगलबार ०८:२७:००
Read Time : > 1 मिनेट
समाचार

उपनिर्वाचनका उम्मेदवारले पाए चुनाव चिह्न

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २६ मंगलबार ०८:२७:००

१४ मंसिरमा हुने प्रतिनिधिसभाको एक र प्रदेश सभाका ३ सिटमा प्रतिस्पर्धा गर्न मनोनयनपत्र दर्ता गरेका उम्मेदवारलाई निर्वाचन आयोगले चुनाव चिह्न दिएको छ । आयोगले आइतबार प्रकाशित उम्मेदवारको अन्तिम सूचीमा परेकाहरूलाई सम्बन्धित निर्वाचन अधिकृतका कार्यालयहरूले सोमबार चुनाव चिह्न प्रदान गरेका हुन् ।

राजनीतिक दलका उम्मेदवारहरूलाई सम्बन्धित राजनीतिक दलको निर्वाचन चिह्न र स्वतन्त्र उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारहरूका लागि निर्धारण गरिएका निर्वाचन चिह्नमध्येबाट प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचन निर्देशिका–२०७६ को दफा ४६ बमोजिम चुनाव चिह्न प्रदान गरिएको आयोगले जनाएको छ । 

चुनाव चिह्न पाएसँगै कास्कीमा प्रचारप्रसार तीव्र

उम्मेदवारले चुनाव चिह्न पाएसँगै मतदातामाझ गएर प्रचारप्रसार गर्न बाटो खुलेको छ । प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने एक मात्र क्षेत्र कास्की–२ मा विभिन्न दलका ११ र स्वतन्त्र १० गरी २१ जना उम्मेदवार रहेका छन् । चुनाव चिह्न पाएपछि उम्मेदवारहरूले आ–आफ्ना चुनाव चिह्न लिएर प्रचारप्रसार तीव्र पारेका छन् ।

जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार दलबाट उम्मेदवार दिएकाहरू नेपाल कम्युनिस्ट पार्टी नेकपाकी विद्या भट्टराईलाई सूर्य, नेपाली कांग्रेसका खेमराज पौडेललाई रुख, समाजवादी पार्टीका धर्मराज गुरुङ पाँच औंलासहितको हत्केला, राप्रपाका रोमबहादुर भण्डारीलाई गाई चिह्न दिएको बताए । त्यस्तै, साझा पार्टीकी रजनी केसीलाई तराजु, देशभक्त समाज पार्टीका बीरबहादुर विश्वकर्मालाई जरायो, नेपाली कांग्रेस बिपीका चन्द्रबहादुर रानाभाटलाई करुवा, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानालाई घर, नेकपा मालेका टेकनाथ भण्डारीलाई हँसिया तारा, मंगोल नेसनल अग्रनाइजेसनका रियाज गुरुङलाई कुखुराको भाले, राप्रपा संयुक्तका गंगा मल्ललाई हलो चिह्न प्रदान गरिएको छ ।

स्वतन्त्र उम्मेदवारी दिएका पोखरा–१९ का उमनाथ गौतमलाई किताब, पोखरा–२५ का कमलजंग कुँवरलाई शंख, पोखरा–६ की जमुना शर्मालाई गुलाफको फूल, गुर्भाकोट नगरपालिका–८ सुर्खेतका दीपक रेग्मीलाई क्यामेरा, पोखरा–२८ का नवराज बाँस्तोलालाई कलम, वालिङ नगरपालिका–११ याङजाका यज्ञप्रसाद पंगेनीलाई आँप, पोखरा–१७ का रनबहादुर दमैलाई डोजर, पोखरा–२३ की लक्ष्मीकुमारी भुजेललाई माहुरी, पोखरा–४ का सुनीलबहादुर कोइरालालाई टेबुल र बुद्धभूमि नगरपालिका–९ कपिलवस्तुका सुनील भुसाललाई क्रिकेट ब्याट चुनाव चिह्न दिइएको छ । 

निर्वाचनका लागि ३२ मतदानस्थल र ८२ मतदान केन्द्र रहेका छन् । ती मतदान केन्द्रमार्फत ७१ हजार आठ सय ७१ जनाले मतदान गर्ने न्यौपानेले जानकारी दिए । यसअघि २१ मंसिर ०७४ मा भएको यस क्षेत्रको निर्वाचनमा विजेता तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमालेका उम्मेदवार रविन्द्र अधिकारीको दुर्घटनामा मृत्यु भएसँगै रिक्त यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । ०७४ सालको निर्वाचनमा १२ दलका र १ स्वतन्त्र गरी १३ जना उम्मेदवार थिए ।