मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २६ मंगलबार ०८:१०:००
Read Time : > 1 मिनेट
समाचार

माधव नेपालले भने– तत्कालै भारतीय प्रधानमन्त्री मोदीसँग वार्ता गर्नुपर्छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २६ मंगलबार ०८:१०:००

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सीमा अतिक्रमणबारे भारतीय समकक्षीसँग प्रधानमन्त्रीले सीधै वार्ता गर्नुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री नेपालले लिम्पियाधुरा नै नेपालको सिमाना हो भन्ने ऐतिहासिक तथ्यहरूबाटै पुष्टि भइसकेकाले सर्वदलीय बैठकपछि कायम राष्ट्रिय एकताको जगमा तत्काल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै वार्ता गर्नुपर्ने जिकिर गरेका हुन् । 

सत्तारुढ नेकपाको नीति अनुसन्धान प्रतिष्ठानद्वारा सोमबार आयोजित अन्तरक्रियामा बोल्दै नेपालले विभिन्न ऐतिहासिक तथ्य प्रमाणका आधारमा वार्ता गर्दा नेपाली सीमा लिम्पियाधुरा नै कायम हुने विश्वास व्यक्त गरे । 

सन् १९०३, १९२१ र १९३४ मा चीनबाट प्रकाशित समाचारपत्रहरूका साथै सूर्यनाथ उपाध्याय नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन र अन्य तथ्यले नेपाली सिमाना लिम्पियाधुरा नै रहेको पुष्टि हुने नेता नेपालको भनाइ थियो । उनले अर्को छिमेकी चीनसँगसमेत छुट्टै संवाद गर्नुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा बोल्ने अरु नेताहरूले पनि सीमा रक्षाका विषयमा कायम अभूतपूर्व राष्ट्रिय एकताको जगमा भारत सरकारसँग वार्ता गर्नुपर्नेमा जोड दिए ।

 नेपालकै मन्त्रालय र नापी विभागका गल्तीका कारण सीमा अतिक्रमण भएको हो : गौतम
नेकपाका सचिवालय सदस्य वामदेव गौतमले ०५४ सालमै आफूले कालापानीमा सीमा मिचिएको विषय उठाएकै कारण पार्टी विभाजनको स्मरण गर्दै २४ वर्षपछि नेपाली भूमि फिर्ताका सन्दर्भमा अभूतपूर्व एकता हुँदा खुसी लागेको बताए । उनले नेपालको भूमिसुधार मन्त्रालय र नापी विभागको गल्तीका कारण पनि नेपाली भूमि अतिक्रमित भएको टिप्पणी गरे । 

कांग्रेस नेता रमेश लेखकले बलियो राष्ट्रिय एकताको जगमा सरकारले प्रधानमन्त्रीकै तहबाट भारतीय प्रधानमन्त्रीसँग वार्ता गरेर सीमा विवाद समाधान गर्नुपर्ने सुझाब दिए । बलियो सरकार भएका वेला सीमा विवाद समाधान गर्न सहज भएकाले अब अग्नि परीक्षा सुरु भएको उनको भनाइ थियो ।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले भारतीय पक्षसँगको वार्ताबाट निकास नआए जनदबाब  सँगसँगै अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गरेर भए पनि नेपाली भूमि फिर्ता गर्नुपर्ने बताए ।