१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ कार्तिक २६ मंगलबार ०८:०८:००
Read Time : < 1 मिनेट
समाचार

नेपाली भूमि फर्काउन सरकारले पहल लिएन : देउवा

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २६ मंगलबार ०८:०८:००

कांग्रेस सभापति शेरबहादुर देउवाले कालापानी नेपालको भएकामा दुई मत नभए पनि सरकारले भूमि फर्काउन पर्याप्त पहलकदमी नलिएको आरोप लगाएका छन् । ‘प्रजातन्त्र, नेपाली कांग्रेस र सुवर्णशमशेर’ विषयक विचार गोष्ठी, सम्मान तथा पुरस्कार वितरण समारोहमा देउवाले भूमि फिर्ता गराउनुको साटो ओली सरकार भारतसँगै लम्पसार परेको आरोप लगाए । 

‘कालापानीको इस्यु अहिले धेरै उठेको छ । कालापानी नेपालको भन्ने कुरामा दुई मत छैन । तर, सरकारले यसबारे केही गरेकै छैन । भारतसँग वार्ता गर्नुपर्नेमा राष्ट्रवादी भन्ने ओली सरकार केही गर्दै गर्दैन, केही बोल्दै बोल्दैन । सबैले बोल्नुपर्छ भन्दा पनि बोल्न सकिरहेको छैन,’ देउवाले भने, ‘कालापानी हाम्रो हो । कुनै हालतमा हाम्रो भूमि छोड्न सक्दैनौँ । भारतसँग वार्ता गरेर तुरुन्त नेपालको भूमि फिर्ता गर्नुपर्छ । तर, लम्पसार परेर भारतसँगै घुँडा टेकेको सरकारले केही गर्नेवाला नै छैन ।’  

सुवर्णसमशेर स्मृति परिषद्ले गरेको कार्यक्रममा देउवाले राणाकै प्रेरणामा नेविसंघ खोलेको बताए । ‘धनी भएर पनि दानी र दिलदार मात्र होइन प्रजातन्त्रका लागि उहाँले लड्नुभयो,’ देउवाले भने, ‘जिन्दगीभर पाउनेभन्दा गुमाउने नै उहाँको परिचय हो । विद्यार्थी संगठन खोल्नुपर्छ भन्ने उहाँकै प्रेरणामा हामीले नेविसंघ गठन गरेका हौँ ।’ बिपी, गणेशमान, सुवर्णशमशेरहरूको चर्चा जति गरे पनि नसकिने उनको भनाइ थियो । आफू पार्टी सभापति भएदेखि गणेशमान र सुवर्णशमशेरको फोटो कार्यालयमा राख्न थालेको उनले बताए । 

 गोविन्द केसीलाई मर्न नदिऊँ
देउवाले चिकित्सा शिक्षा सुधारको माग गर्दै डडेल्धुरामा अनशन बसेका गोविन्द केसीलाई तत्काल काठमाडौं ल्याएर उपचार गर्न सरकारसँग माग गरेका छन् । ‘मेरै जिल्लामा गोविन्द केसी अनशन बसेका छन् । सबैभन्दा चिसो डडेल्धुरा जिल्ला तर केसी त्यहीँ अनशन बसेका छन्,’ देउवाले भने, ‘स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले तुरुन्त कठमाडौंमा ल्याएर उपचार गर्नुपर्छ । कमसेकम उहाँलाई मर्न त दिनुभएन नि ।’