मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २६ मंगलबार ०७:३४:००
Read Time : > 2 मिनेट
समाचार

रुइसेमा बढे पर्यटक

Read Time : > 2 मिनेट
२०७६ कार्तिक २६ मंगलबार ०७:३४:००

केही वर्षअघिसम्म ओझेलमा परेका म्याग्दीका पर्यटकीय स्थलमा पर्यटकको आवागमन बढ्न थालेको छ । पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको हो । 

संघीयता कार्यान्वयनमा आएसँगै म्याग्दीका स्थानीय तहले पर्यटन पूर्वाधार निर्माणमा चासो देखाउन थालेका छन् । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै संघ र प्रदेश सरकारले समेत म्याग्दीमा पर्यटन पूर्वाधार बनाउन स्थानीय तहसँग सहकार्य गरेका छन् । 

म्याग्दीका ओझेलमा परेका पर्यटकीय स्थलमा पदमार्ग निर्माण गर्ने क्रम बढेको छ । त्यससँगै खाना र बसोवासका लागि होटेल तथा रिसोर्टको निर्माण, दृश्य अवलोकनका लागि भ्युटावर निर्माणलगायतका पूर्वाधार बनाउने काम पनि भइरहेका छन् । पूर्वाधार निर्माणले पर्यटकको आगमन ह्वात्तै बढाएको छ । यतिवेला म्याग्दीका पर्यटकीय स्थलमा पर्यटकको घुइँचो लागेको छ । 

फुर्सदको समयमा घुम्ने संस्कृतिको विकासले पनि आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुगेको रघुगंगा गाउँपालिका–२ का वडाध्यक्ष रिमबहादुर कटुवालले बताए । उनका अनुसार भगवतीको रुइसे–भेडीओढार क्षेत्रमा पदमार्ग, भ्युटावरलगायतका पूर्वाधार निर्माण भएका छन् । यसले आन्तरिक पर्यटकको आगमन बढाएको छ । 

रुइसे–भेडीओढार रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । यहाँ अचेल दैनिक सयौँ पर्यटक आउने गरेका छन् । ‘गाउँपालिका र संघीय सरकारको साझेदारीमा रुइसेमा पदमार्ग, भ्युटावर र भ्यु–प्वाइन्ट निर्माणको काम भइरहेको छ,’ वडाध्यक्ष कटुवालले भने ।

रुइसेदेखि–थापाकोटको भ्युटावरसम्म जान व्यवस्थित पदमार्ग निर्माण गरिएको छ । दुई वर्ष लगाएर थापाकोटमा भ्युटावर निर्माण गरिएको हो । रुइसेमा गाउँपालिकाले ३० लाख लगानी गरेर भ्युटावर र शौचालय निर्माण गरेको छ । यहाँ तालिम केन्द्रका लागि भवन र वनभोज स्थलसमेत निर्माण गरिएको छ ।

यो वर्ष पदमार्ग निर्माणलाई पूर्णता दिन र टावरवरपरको घेराबेराका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । रुइसेसँगै भेडीओढारमा समेत पर्यटन पूर्वाधार निर्माण गरिएको छ । भेडीओढारको विशाल ढुंगाको भ्यु–पोइन्टमा संघीय सरकारमार्फत विनियोजित बजेटले गोलघरसहित सुरक्षाका लागि रेलिङ बनाइएको अध्यक्ष भण्डारीले बताए । 

खुल्न थाले होटेल
म्याग्दी सदरमुकाम बेनीबाट सवारीसाधनमा डेढ घन्टा र एक बिहान पैदल हिँडेपछि रुइसे पुगिन्छ । यहाँ आन्तरिक पर्यटकको आगमन बढेसँगै होटेल खुल्न थालेका छन् । परम्परागत रूपमा पशुपालनका लागि गोठ राख्दै आएका स्थानीयले पर्यटकलाई खाजा र खानाका लागि होटेल सञ्चालन गर्न थालेका हुन् । 

अहिले रुइसेमा तीनवटा सामान्य होटेल सञ्चालनमा छन् । भ्युटावरको संरक्षण र व्यवस्थापनका लागि गाउँपालिकाले प्रतिस्पर्धामार्फत् होटेल सञ्चालन गर्ने तयारी गरेको छ । भ्युटावरलाई भाडामा लगाउने तयारी गाउँपालिकाको छ । स्थानीय स्तरबाट समेत सुविधायुक्त होटेल सञ्चालनको तयारी भइरहेको छ ।

पयर्टक लोभ्याउने दृश्य
रुइसेबाट अन्नपूर्ण र धवलागिरि रेन्जका हिमालसँगै म्याग्दी, पर्वत र बाग्लुङका दर्जनौँ बस्ती अवलोकन गर्न सकिन्छ । संसारको सातौँ अग्लो धवलागिरि, अन्नपूर्ण, नीलगिरि, माछापुच्छ्रे, चुरेन, गुर्जालगायतका हिमाललाई नजिकैबाट देख्न पाउँदा पर्यटक मोहित हुने गरेका छन् । 

भ्युटावरबाट देखिने मनोरम दृश्यले निकै लोभ्याएको काठमाडौंबाट म्याग्दी घुम्न आएका भगवान हमालले बताए । ‘पर्यटन विकासका दृश्टिले यो क्षेत्र निकै राम्रो रहेछ,’ हमालले भने, ‘पदमार्गको प्रचार प्रसार र पूर्वाधार निर्माणमा जोड दिन सके आयस्रोत बढ्ने थियो ।’ यस क्षेत्रमा रहेका परम्परागत भेडाबाख्रा, गाई–भैँसीका गोठसमेत पर्यटकका लागि अध्ययन र चासोको विषय बन्ने गरेको स्थानीय युवा हरि भण्डारी बताउँछन् । 

रुइसेको ऐतिहासिक महत्व
प्राकृतिक रूपमा सुन्दर रुइसे धार्मिक र ऐतिहासिक महत्व बोकेको क्षेत्र हो । तत्कालीन बाइसे–चौबीसे राज्यको पालामा यहाँबाट राजाले शासन चलाएका थिए । रुइसेमा तत्कालीन राजाले बनाएको दरबारको भग्नावशेष, राजाको हात्ती बाँध्ने गह्रो, पानी खाने कुवा र पँधेरो, ओखल, आराम गर्ने थलो, चौतारो, गोठाला र हेराला बस्ने ठाउँ अझै देख्न सकिने स्थानीय अगुवा देवेन्द्रबहादुर मल्लले बताए । 

म्याग्दी जिल्लाकै पुरानो भगवती कोत मन्दिरको उद्गमस्थल रुइसेको थापाकोटमा छ । १७औँ शताब्दीको विरासतसँग जोडिएको कोत मन्दिर तत्कालीन राजाको वासस्थान तथा सुविधाका लागि बनाइएको स्थानीय बताउँछन् ।