मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २६ मंगलबार ०७:३४:००
Read Time : < 1 मिनेट
समाचार

नरभक्षी चितुवा खोज्न भानुको जंगलमा विज्ञ टोली परिचालन

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २६ मंगलबार ०७:३४:००

भानु नगरपालिकाको जंगलमा नरभक्षी चितुवा खोज्न ६ जनाको विज्ञ टोली परिचालन गरिएको छ । चितुवाले मानिसलाई आक्रमण गरी ज्यान लिन थालेपछि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट विज्ञ टोली झिकाइएको हो ।

डा. नरेश सुवेदी नेतृत्वको विज्ञ टोलीले जंगलमा निगरानी गरिरहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए । उनका अनुसार ६ दिनदेखि टोलीले जंगलमा चितुवाको निगरानी गरिरहेको छ । उनले भने, ‘चितुवाको पाइला देखिएको ठाउँमा उनीहरूले क्यामेरा जडान गरेका छन् भने नजिकै बाख्रा राखिएको छ ।’ विज्ञटोलीले साँझ ५ बजेदेखि राति ९ बजेसम्म गस्ती पनि गरिरहेको उनले बताए । 

केही महिनायता भानु नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ मा चितुवाले पटकपटक मानिसलाई  आक्रमण गरिरहेको छ । चितुवाको आक्रबाट यहाँका ६ बालबालिकाको ज्यान गइसकेको भने चारजना घाइते भएका थिए । गाउँमै चिुतवा पसेर बालबालिकालाई आक्रमण प्रयास गर्न थालेपछि स्थानीय  र संशस्त्र प्रहरीले गस्ती गर्दै आइरहेका थिए । 

वन कार्यालयले स्थानीयसँग समन्वय गरी जंगलमा परम्परागत काठका धराप राखेर चितुवा नियन्त्रणको प्रयास पनि गरेको सहायक वन अधिकृत बाबुराम उप्रेतीले बताए । धरापमा दुईवटा चितुवा पनि परेका थिए । उनले भने, ‘चितुवा धरापमा परेपछि स्थानीय खुसी भएका थिए । तर, उनीहरूको यो खुसी धेरै समय टिकेन । चितुवा खोरमा परेकै दिन चितुवाको आक्रबाट बालकको ज्यान गयो । यसले स्थानीय झनै त्रसित बने ।’ चितुवाले निरन्तर आक्रमण गरेपछि त्यस क्षेत्रका स्थानीय आतंकित बनेका छन् । बालबालिका विद्यालयसमेत जान छाडेको भानु–२ का अध्यक्ष अर्जुनबहादुर केसीले बताए ।