१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शुल्क फिर्ताको माग गर्दा निर्घात कुटिएका युनिभर्सल मेडिकल कलेजका विद्यार्थी । फाइल तस्बिर
२०७६ कार्तिक २६ मंगलबार ०७:१६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

केसीका मागप्रति उपेक्षा : विद्यार्थीमाथि दमन

Read Time : > 2 मिनेट
२०७६ कार्तिक २६ मंगलबार ०७:१६:००

निजी मेडिकल कलेजले सरकारको निर्देशन नमान्ने

निजी मेडिकल कलेजहरूले विद्यार्थीसँग बढी शुल्क लिएको भन्दै फिर्ता लिनुपर्नेलगायतका माग राखी डा. गोविन्द केसी नौ दिनदेखि डडेल्धुरामा अनशन बसेका छन् । चिकित्सा शिक्षा आयोग गठन गरी एमबिबिएस र बिडिएसमा शुल्क वृद्धिको निर्णय फिर्ता गर्नुपर्ने केसीको मुख्य माग छ । तर, केसीले राख्दै आएका मागप्रति न त सरकारले चासो देखाएको छ, न त मेडिकल कलेजहरूले चासो देखाएका छन् । बरु निजी मेडिकल कलेजहरूले सरकारले तोकेभन्दा बढी शुल्क विद्यार्थीसँग लिएका छन् । 

एक महिनाअघि सरकारले निजी मेडिकल कलेजलाई विद्यार्थीसँग लिएको शुल्क फिर्ता वा समायोजन गर्न निर्देशन दिए पनि कलेज सञ्चालकहरूले अवज्ञा गरेका छन् । बरु शुल्क फिर्ताको माग गर्दै आन्दोलनमा उत्रेका विद्यार्थीमाथि दमन गरिएको छ । कलेजहरूले तोकेभन्दा बढी शुल्क लिएपछि फिर्ताको माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरूमाथि चितवन मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज र गण्डकी मेडिकल कलेज व्यवस्थापन र प्रहरीले दमन गरेको थियो । युनिभर्सल र चितवन मेडिकल कलेजका दर्जनौं विद्यार्थी घाइते बनेका थिए । नेसनल मेडिकल कलेजले समेत विद्यार्थीसँग बढी शुल्क लिएको छ ।

चितवन, युनिभर्सल र गण्डकी मेडिकल कलेजमा तालाबन्दी
चितवन मेडिकल कलेजका विद्यार्थीले कलेजमा तालाबन्दी गरेका छन् । एमबीबीएस र बिडिएसमा अध्ययनरत विद्यार्थीसँग बढी शुल्क लिएका कारण फिर्ताको माग गर्दै चिकित्सा शिक्षा संघर्ष समितिले आइतबार कलेजमा तालाबन्दी गरेको संघर्ष समितिका प्रवक्ता नरेश भट्टले बताए । १५ कात्तिकमा चितवन मेडिकल कलेजले गत शैक्षिक सत्रका एमबीबीएस र बिडीएस अध्ययनरत विद्यार्थीसँग लिएको बढी शुल्क समायोजन गर्ने प्रतिबद्धता जनाएको थियो । सो प्रतिबद्धताअनुसार काम नहुने देखेपछि विद्यार्थीले कलेजमा पुनः ताला लगाउनु परेको बताएका छन् ।

यस्तै, गैरकानुनी शुल्क फिर्ता नभएको विरोधमा आन्दोलनरत विद्यार्थीहरूले चितवन युनिभर्सल कलेज अफ मेडिकल साइन्समा पनि तालाबन्दी गरेका छन् । विद्यार्थीहरूसँग लिइएको बढी शुल्क फिर्ता गराउन पटकपटक अनुरोध गरे पनि कलेजले अटेरी गरिरहेका कारण अनिश्चितकालीन तालाबन्दी गर्नुपरेको विद्यार्थीहरूको भनाइ छ । सो कलेजमा दर्जनौं विद्यार्थी कुटिएका थिए ।

यसअघि १५ कात्तिकमा बढी शुल्क असुलेको विरोध गर्ने युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवाका विद्यार्थी कुटिएका थिए । यसैगरी, गण्डकी मेडिकल कलेजमा लगाइएको तालाबन्दी कायमै छ । कलेजले विद्यार्थीसँग ९ लाख रुपैयाँसम्म बढी लिएको पाइएपछि तालाबन्दी गरिएको हो ।

नेसनल मेडिकलका विद्यार्थी आन्दोलनमा
वार्षिक तालिकाअनुसार आगामी मंसिरमा एमबीबीएस पहिलो र दोस्रो वर्षको परीक्षा हुृँदैछ । २१ कात्तिकमा तय भएको परीक्षा विद्यार्थीहरूको मागअनुसार एक महिनापछि सरेको थियो । अब सार्न नमिल्ने भएकाले नेसनल मेडिकल कलेजका विद्यार्थीहरू नियमित पठनपाठनमा फर्केका छन् । तर, विरोधका कार्यक्रम भने जारी राख्ने स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष डा.मिलन गैरेले बताए । करिब ६० जना विद्यार्थी काठमाडौ केन्द्रित आन्दोलन स्थगित गरेर कलेज फर्किएको उनले बताए । तत्काल नेसनल मेडिकल कलेजमा ताला लगाएर आन्दोलनमा जाने वातावरण नरहेको अध्यक्ष गैरेले बताए । बढी शुल्क फिर्ता गर्न माग गर्दा नेसनल मेडिकल कलेजले १० कात्तिकमा करिब ५० विद्यार्थीलाई बन्धक बनाएको थियो । कलेजले प्रति विद्यार्थी दुईदेखि तीन लाख रुपैयाँ बढी लिएको पाइएको छ ।

सरकारले द्वन्द्व निम्त्याउन खोजेको आरोप
सरकारले निजी मेडिकल कलेजहरूलाई विद्यार्थीसँग लिएको बढी शुल्क १५ दिनभित्र फिर्ता गर्न पुनः निर्देशन दिएको छ । यदि सो समयभित्र फिर्ता नगरे ठगी मुद्दा चलाउने चेतावनी पनि दिएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सोमबार पत्रकार सम्मेलन गर्दै विद्यार्थीसँग बढी लिएको रकम फिर्ता नगरे कलेज सञ्चालकहरूलाई ठगी मुद्दा लगाउने बताएका हुन् । शिक्षामन्त्रीले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयका उपकुललपति, चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष राखेर निजी मेडिकल कलेजलाई निर्देशन दिएका हुन् ।

शिक्षामन्त्रीको सो अभिव्यक्तिले निजी मेडिकल कलेजसँगको दूरी झन् बढेको छ । गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्यालले आफूहरूले समाधानको बाटो खोज्दै गर्दा सोमबार शिक्षामन्त्रीको अभिव्यक्तिले सरकार नै द्वन्द्वमा जान चाहेको बताए । ‘सरकारी निर्णयअनुसार नै त्रिवि कार्यकारी परिषद्ले सबै मेडिकल कलेजलाई परिपत्र गरेको छ । हामीले सिडिओ कार्यालय गएर भन्यौं, पत्र यस्तो आयो, बढी शुल्क समायोजन गर्न तयार छौं, अब छलफल सुरु गर्छौं भनेर लाग्यौ । तर शिक्षामन्त्रीले रिसइबी जस्तो देखाउनुभयो,’ अर्यालले भने, ‘हामीले नेपाल सरकारले तोकेकोभन्दा बढी शुल्क लिएका छैनौं । अन्य शिर्षकमा शुल्क लिएका हौं । अन्य शुल्क विश्वविद्यालयलाई तिर्नुपर्छ, लाग्ने शुल्क विद्यार्थीले सिधै तिरे पनि हुन्छ, हामीलाई तिर्नुपर्ने कुनै जरुरी छैन ।’

सरकारका प्रवक्ता भन्छन्–केसीका सबै माग पूरा भइसके
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अनशनरत डा.केसीले उठाएका सबै माग पूरा भइसकेको बताएका छन् । ‘डा. केसीले उठाएका माग पूरा भएका छन, अहिले किन अनशन बस्नुभएको छ, अनशन बस्नुपर्ने कुनै कारण देखिएको छैन,’ बाँस्कोटाले भने ।