मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २५ सोमबार १२:२७:००
Read Time : > 1 मिनेट
प्रदेश

भेरी–बबई प्रभावितलाई मुआब्जा वितरण सुरु 

लालपुर्जा भएका प्रभावितलाई मात्रै मुआब्जा दिन थालेपछि स्थानीय बासिन्दाको विरोध

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २५ सोमबार १२:२७:००

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्ददेश्यीय आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण गर्न थालिएको छ । प्रभावितसँग सहमति नगरी मुआब्जा वितरण हुन थालेपछि स्थानीय बासिन्दाले विरोध जनाएका छन् । 

आयोजना प्रभावित क्षेत्रमा बसोवास गर्ने अधिकांशसँग लालपुर्जा छैन । आयोजनाले लालपुर्जा भएका परिवारलाई मात्रै मुआब्जा वितरण गर्न थालेको छ । जसले गर्दा स्थानीय बासिन्दा विरोधमा उत्रिएका हुन् । उनीहरू मुआब्जा र पीडितलाई पुनस्र्थापनाको व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन् ।

आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जाका लागि मूल्यांकन समितिले गरेको सिफारिसका आधारमा वितरण गर्न लागेको हो । डुबान क्षेत्रमा अधिकतम प्रतिरोपनी दश लाख रुपैयाँसम्म मुआब्जा उपलब्ध गराउने गरी मूल्यांकन समितिले प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको थियो । ऐलानी, दर्ता जग्गा र सडकको पहुँच भए–नभएको आधारमा मूल्यांकन गरिएको आयोजनाले जनाएको छ । 

आयोजनाले स्थानीय बासिन्दाको माग सम्बोधन नगरी मुआब्जा वितरण सुरु गरेको हो । सबै माग सम्बोधन गर्ने गरी आयोजनाले मुआब्जा वितरण थालेको आयोजनाका इन्जिनियर शम्भुराज पण्डितले बताए । आयोजनाले लेकबेँसी नगरपालिकाको लेखफर्सामा र गुर्भाकोट नगरपालिकाको गुमीमा पहिलो चरणको मुआब्जा वितरण गरेको उनले बताए । मुआब्जा दिन आयोजनाले ८५ करोडभन्दा बढी बजेट खर्च गरिसकेको छ ।  

आयोजनाले पूरै डुबान भएका प्रभावितका लागि पहिलो चरणमा मुआब्जा वितरण गर्न थालेको हो । ‘आयोजनाले पूरै डुबानमा परेको र कित्ताकाँट गर्नु नपर्ने जग्गाधनीलाई पहिलो चरणमा मुआब्जा वितरण गरिरहेको छ,’ इन्जिनियर पण्डितले भने, ‘सबै प्रक्रिया पूरा गरी आएका प्रभावितले मूल्यांकन समितिले निर्धारण गरेको मुआब्जा पाउनेछन् ।’ ऐलानी जग्गाका प्रभावितका लागि मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्ने भएकाले केही ढिलाइ हुने उनको भनाइ छ । 

स्थानीय बासिन्दा विरोधमा
आयोजनाले लालपुर्जा भएकालाई मात्र मुआब्जा र क्षतिपूर्ति दिन थालेपछि स्थानीय बासिन्दाले विरोध जनाएका छन् । आयोजना प्रभावितले एकैपटक मुआब्जा पाउनुपर्ने भेरी–बबई सरोकार समितिका अध्यक्ष जेबी सुनारले बताए । ‘लालपुर्जा नभएका वर्षौंदेखि भोगचलन गर्दै आएकालाई पनि मुआब्जा दिनुपर्ने हाम्रो पुरानै माग हो । सुनुवाइ भएन भने आन्दोलन गर्नुको विकल्प हुन्न,’ उनले भने । 

दोस्रो चरणको निर्माण सुरु
पहिलो चरणमा सुरुङ निर्माण गरेको आयोजनाले दोस्रो चरणमा बाँध र विद्युत्गृह निर्माणका लागि चीनको गुवाङडुवाङ युएनटिएन इन्जिनियरिङ कम्पनी मुख्य निर्माण कम्पनी रहने गरी रमण जेभीसँग ठेक्का सम्झौता गरेको छ । दोस्रो चरणको पूर्वाधार विकासका लागि ६ अर्ब १६ करोड ५२ लाख रुपैयाँ लागत अनुमान गरी सम्झौता गरिएको हो । 

आगामी चार वर्षभित्र ४६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित भेरी नदीमा बाँध निर्माण तथा बबईमा विद्युत्गृह निर्माणको काम सुरु गरिएको आयोजनाका इन्जिनियर शम्भुराज पण्डितले बताए । निर्माण ठेक्का पाएका दुवै कम्पनीले पुलसहित बाँध, सर्जसाफ्ट (ट्यांकी) र विद्युत्गृह निर्माण गर्नेछन् । 

त्यस्तै, तेस्रो चरणमा सिँचाइका लागि काम हुनेछ । यहाँबाट उत्पादित ४८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने र बाँके बर्दियाको ५१ हजार हेक्टर जमिनमा १२ महिना सिँचाइ सुविधा पु¥याउन सकिने लक्ष्य आयोजनाले लिएको छ ।