मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २५ सोमबार १२:२१:००
Read Time : > 1 मिनेट
प्रदेश

दुई बालिका र महिलाको हत्या प्रकरण :दुई हप्तासम्म पनि भएन शव पहिचान  

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २५ सोमबार १२:२१:००

चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा दुई बालिका र एक महिलाको बिभत्स हत्या भएको दुई हप्ता बितिसक्दा पनि अहिलेसम्म शवको पहिचान भएको छैन । बाग्लुङ र गुल्मीको सिमाना पर्ने घटनाले स्थानीयवासीहरू त्रसित बनेका छन् । शवको पहिचान नहुनु र अपराधीसमेत पत्ता नलाग्दा त्रसित भएका स्थानीयहरू घटना भएको ठाउँबाट हिँड्नसमेत छाडेका छन् । 

शव भेटिएको नजिक चन्द्रकोट गाउँपालिका–३ को हर्राचौर र वडा नं २ को बिसुखर्क पर्छन् । घटनापछि गाउँलेहरू त्यो बाटो हिँड्दैनन् । गाउँनजिक प्रहरी छैन । जंगल जाने र घाँस दाउरा गर्नेहरू पनि नजाने गरेको बिसुखर्क बैरेनीका लालबहादुर हमालले बताए । उनले बैरेनी गाउँका स्थानीय जंगल मात्रै नभएर एक्लै घरमा बस्नसमेत डराउने गरेको बताए । बैरेनीकी धनकुमारी सार्कीको खरबारी हत्या भएको स्थानबाट केही तल पर्छ । धेरै दिनमा उनी छोरा सूर्यसँगै घाँस काट्न गइन् । ‘छोरी चेलीबेटी घर बाहिर निस्कने अवस्था छैन, छोरासँगै कति दिनमा घाँस काटेर आएँ,’ धनकुमारीले भनिन्, ‘छिटोभन्दा छिटो अपराधी पत्ता लगाए हुन्थ्यो ।’ 

घटनाबारे स्थानीय बेखबर
घटनास्थल गुल्मी हो । नजिकै बाग्लुङको गलकोटको थालेपोखरा, सल्यान तथा गुल्मीका, उर्लेनी, गैढुंगा, झारखर्कलगायतका गाउँहरू छन् । दुवै गाउँका स्थानीय घटनाका बारेमा बेखबर छन् । गाउँमा तिहार र त्यसपछि कामको चटारो भएकाले धेरै दिनपछि घटना बाहिर आएको स्थानीय तिर्खबहादुर रम्तेलले बताए । उनले बाग्लुङ वा गुल्मीकै व्यक्तिबाट हत्या हुनसक्ने भएकाले दुवै जिल्लाका प्रहरी प्रशासन सक्रिय भएर अनुसन्धानमा लाग्नुपर्ने बताए । त्यस्तै, चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका वडा सदस्य टेकबहादुर खत्रीले शवको पहिचान नै नहुनु तर तीनजनाको एकै ठाउँमा बिभत्स हत्या भएकाले अझै बढी हतास र त्रसित भएको बताए । त्यो घटना रातमा मात्रै सम्भव भएकाले स्थानीय कसैलाई पनि कुनै पत्तो नभएको बताए । हत्या गरी फालिएको अवस्थामा १७ कात्तिकमा जंगलमा फेला परेका अन्दाजी २७ वर्षीय महिला र ११  तथा सात वर्षीया बालिकाको शव पाल्पा अस्पतालमा राखिएको छ । 

 शव पहिचानको प्रयास गर्दै प्रहरी
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी मीन घलेले आफूहरू शव पहिचानमै केन्द्रित भएको प्रतिक्रिया दिए । दुई हप्तासम्म पनि शव पहिचान नभएकोले हत्यारा पत्ता लगाउन कठिनाइ भएको बताए । उनले बाग्लुङको गलकोट, बुर्तिवाङ, पाल्पाको प्रहरीलगायतका प्रहरी कार्यालयहरूसँग सम्पर्क भइरहेको बताए । पहिलो काम शव पहिचान भएकाले त्यसपछि मात्रै हत्याराको अनुसन्धान गरिने घलेले बताए । जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी झविन्द्र भट्टराईले गुल्मी र बाग्लुङका प्रत्येक गाउँपालिका, वडा कार्यालय, विभिन्न विद्यालयलगायतका संघ संस्था तथा समुदायसँग समन्वय गरिरहेको जानकारी दिए । उनीहरूले लगाएको कपडा हेर्दा बाग्लुङ पश्चिम, रुकुम पूर्व वा ढोरपाटन क्षेत्रको हुनसक्ने अनुमान गरिएको बताए । शवको पहिचान र हत्यारा पत्ता नलागुन्जेलसम्म आफूहरूको अनुसन्धान जारी रहने उनले बताए ।