Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ कार्तिक २५ सोमबार १२:१३:००
Read Time : > 2 मिनेट
प्रदेश

कास्की–२ उपनिर्वाचन अपडेट : मैदानमा अब २१ उम्मेदवार, एक स्वतन्त्र उम्मेदवारद्वारा नाम फिर्ता

Read Time : > 2 मिनेट
२०७६ कार्तिक २५ सोमबार १२:१३:००

कास्की–२ बाट प्रतिनिधिसभा सदस्य चयनका लागि आगामी १४ मंसिरमा हुन लागेको उपनिर्वाचनमा मनोनयन दर्ता गराएकामध्ये एक स्वतन्त्र उम्मेदवारले नाम फिर्ता लिएका छन् । गल्याङ नगरपालिका–९ स्याङ्जाका पुरुषोत्तम खनालले दिएको उम्मेदवारी फिर्ता लिएका हुन् । 

निर्वाचन कार्यक्रमअनुसार खनालले नाम फिर्ता लिनका लागि निर्वाचन आयोगमा आइतबार निवेदन दिएका थिए । उनको निवेदनअनुसार उम्मेदवारको सूचीबाट नाम हटाएको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । कास्की–२ मा विभिन्न दलका ११ र स्वतन्त्र ११ उम्मेदवार गरी २२ जनाले २१ कात्तिकमा उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।

यी हुन् मनोनयन दर्ता गराउने उम्मेदवार
उपनिर्वाचनमा नेकपाकी विद्या भट्टराई अधिकारी, कांग्रेसका खेमराज पौडेल, समाजवादी पार्टीका धर्मराज गुरुङ, राप्रपाका रोमबहादुर भण्डारी, साझा पार्टीकी रजनी केसी, देशभक्त समाज पार्टीबाट वीरबहादुर विश्वकर्मा, कांग्रेस बिपीबाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, नेकपा मालेबाट टेकनाथ भण्डारी, मंगोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङ, राप्रपा संयुक्तबाट गंगा मल्लले उम्मेदवारी दिएका छन् ।

यसैगरी, पोखरा महानगर–१९ का उमनाथ गौतम, पोखरा–२५ का कमलजंग कुँवर, पोखरा–६ की जमुना शर्मा, गुर्भाकोट नगरपालिका–८ सुर्खेतका दीपक रेग्मी, पोखरा–२८ का नवराज बास्तोला, वालिङ नगरपालिका–११ स्याङ्जाका यज्ञप्रसाद पंगेनी, पोखरा–१७ का रनबहादुर दमै, पोखरा–२३ की लक्ष्मीकुमारी भुजेल, पोखरा–४ का सुनीलबहादुर कोइराला र बुद्धभूमि नगरपालिका–९ कपिलवस्तुका सुनील भुषालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

३२ मतदानस्थल, ८२ केन्द्र 
उपनिर्वाचनका लागि ३२ वटा मतदानस्थल र ८२ वटा मतदान केन्द्र तोकिएको छ । केन्द्रमार्फत ७१ हजार आठ सय ७१ जनाले मतदान गर्ने न्यौपानेले जानकारी दिए । 

यसअघि २१ मंसिर ०७४ मा सम्पन्न निर्वाचनमा विजयी भएका तत्कालीन एमालेका उम्मेदवार रवीन्द्र अधिकारीको दुर्घटनामा मृत्यु भएपछि यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । ०७४ सालको निर्वाचनमा दलका १२ उम्मेदवार र एक स्वतन्त्र गरी १३ जना उम्मेदवार थिए । निर्वाचनमा अधिकारीले २७ हजार दुई सय सात मत ल्याई विजयी हँुदा निकटतम प्रतिस्पर्धी कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए । 

घरघर पुग्दै उम्मेदवार
कास्की–२ मा चुनावी सरगर्मी बढेको छ । प्रमुख प्रतिस्पर्धी ठानिएका नेकपा र कांग्रेस पार्टीले चुनावी प्रचार प्रसारका लागि पोखरा महानगरका ११ वटै वडामा कार्यालय र घरदैलो अभियान सुरु गरेपछि चुनावी रौनक बढेको हो । दुवै दलले ११ वटै वडामा आइतबार कार्यालय खोलेका हुन् । 

निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दुवै दलले केन्द्रदेखि वडा तहका सबै नेता कार्यकर्तालाई जिम्मेवारीसहित मतदाताको घरदैलोमा खटाएका छन् । वडा कमिटीको नेतृत्वमा केन्द्रदेखि टोलसम्म विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ता क्रियाशील रहेको नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । उनले भने, ‘यहाँबाट केन्द्र, प्रदेशमा प्रतिनिधित्व गर्ने नेता, जिल्लाका नेता सबै नेतालाई जिम्मेवारी दिएर खटाइएको छ ।’

कांगे्रस कास्कीका सभापति कृष्ण केसीले पनि केन्द्रदेखि जिल्ला र स्थानीय तहका सबै नेता कार्यकर्ता परिचालन गरेको बताए । ‘सम्पूर्ण रूपमा कांग्रेसका नेता कार्यकर्ता एकढिक्का भएर फिल्डमा खटिनुभएको छ,’ सभापति केसीले भने । 

साना दल पनि सक्रिय
निर्वाचन मिति आउन करिब २० दिन मात्रै बाँकी हुँदा मुख्य दलसहित साना दलका नेता कार्यकर्ता पनि सक्रिय बनेका छन् । उनीहरू हार्नका लागि उम्मेदवारी नदिएको प्रतिक्रिया दिँदै मतदाताको घरआँगनमा पुगिरहेका छन् । उनीहरूले सामाजिक सञ्जालका भित्ता पनि सोही ढंगले रंग्याएका छन् । सबैजसो दलका केन्द्रीय नेतृत्व अहिले पोखरामा उत्रिएका छन् । साझा पार्टीका संयोजक रवीन्द्र मिश्र निरन्तर आफ्ना उम्मेदवार रजनी केसीको घरदैलो अभियानमा छन् । विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायतका नेता पोखरा आउनेजाने गरिरहेका छन् । राप्रपाका नेता जयलाल पुनका अनुसार अध्यक्ष कमल थापा घरदैलो अभियानमा सहभागी हुने गरी मंसिर पहिलो साता पोखरा आउनेछन् । समाजवादी पार्टी, राप्रपा संयुक्तसहितका दल र स्वतन्त्र उम्मेदवार पनि घरदैलो र भेटघाटमै व्यस्त छन् ।