मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७६ कार्तिक २५ सोमबार ११:५३:००
Read Time : > 1 मिनेट
समाचार

सिरहामा अझै हटेन डेंगु संक्रमणको त्रास

गोलबजार र मिर्चैयामा विषादी छर्किँदै

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २५ सोमबार ११:५३:००

सिरहामा साउन दोस्रो सातादेखि फैलिएको डेंगु नियन्त्रणमा आए पनि सर्वसाधारणमा त्रास भने अझै घटेको छैन । लामो समयसम्म ज्वरो आउने, उपचार गर्दा पनि निको नहुने बिरामी गाउँगाउँमा भेटिन थालेपछि गोलबजार र मिर्चैया नगरपालिकाले केही दिनअघिदेखि कीटनाशक विषादी छर्किन थालेका छन् ।

मलेरिया, कालाजार तथा डेंगु सार्ने लामखुट्टे नियन्त्रण गर्न गोलबजार नगरपालिकाले शुक्रबारदेखि कीटनाशक विषादी छर्ने अभियान थालेको हो । गोलबजार नगरपालिकाका मेयर देवनाथ साह, कार्यपालिका सदस्य, स्वास्थ्य शाखाका कर्मचारीसहितको उपस्थितिमा नगरकार्यपालिका केन्द्रबाट कीटनाशक विषादी छर्न थालिएको हो । 

बजार क्षेत्रमा बढी त्रास
गोलबजार क्षेत्रमा पर्ने ४ र ६ नम्बर वडामा ढेंगुको त्रास बढी रहेको नगरका स्वास्थ्यकर्मी पवन पञ्जियारले बताए । उनका अनुसार फोरम्यानसहित १७ जनाको टोलीले बजार क्षेत्रमा विषादी छर्किएका छन् । ‘एक साताभित्र नगरका ग्रामीण भेगमा पर्ने अन्य वडामा पनि विषादी छरिसक्ने योजना बनाएका छौँ,’ मेयर साहले भने ।

गोलबजार नगरपालिकाका १३ वटा वडाका करिब १० हजार एक सय १० घर, गोठ, टहरा, कटेरामा औषधि छर्किने नगरपालिकाको तयारी छ । विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको लमडासाइहाइलोथ्रिन नामको विषादी छर्किएको स्वास्थ्य कार्यालय सिरहाका भेक्टर कन्ट्रोल निरीक्षक अन्देश्वर चौधरीले जानकारी दिए । 

मिर्चैयामा शंकास्पद मृत्यु 
सिरहाको मिर्चैया नगरपालिका–६ मा डेंगुको प्रारम्भिक परीक्षणमा शंकास्पद देखिएकीे महिलाको उपचारका क्रममा मृत्यु भएको छ । महिलाको मृत्युपछि शुक्रबारदेखि नै बजार क्षेत्रमा विषादी छर्किन थालिएको नगर स्वास्थ्य संयोजक सुरेशकुमार सिंहले बताए । ‘मिर्चैयाको बजार क्षेत्र पर्ने ५ र ६ नम्बर वडामा विषादी छर्दै छौँ, त्यसपछि नगरका बाँकी १० वडामा विषादी छर्ने कार्यक्रmम छ,’ उनले भने । मिर्चैया–६ स्थित माइतीनजिकै आफ्नो घर बनाएर बस्दै आएकी करिब ३५ वर्षीया निर्मला महतोको बुधबार मृत्यु भएपछि तत्काल नगरको स्वास्थ्य टोली गएर बुझ्दा प्रारम्भिक जाँचमा डेंगु पोजिटिभ देखिएको पाइएको छ । 

गोलबजारमा १६ बिरामी
भदौमा गोलबजार ३ र ४ नम्बर वडामा नौजना डेंगु संक्रमित बिरामी भेटिएका थिए । कात्तिक लागेपछि नगर क्षेत्रका विभिन्न वडामा थप सातजना शंकास्पद बिरामी भेटिएपछि डेंगु संक्रमितको संख्या १६ पुगेको स्वास्थ्यकर्मी पञ्जियारले बताए । ‘नगरबाहेक अन्य ठाउँमा समेत उपचार गराएकाले स्वास्थ्य शाखासँग समन्वय नहुँदा डेंगु संक्रमितको संख्या यकिन नभए पनि बढेको छ,’ उनले भने । 

त्यस्तै, धनगढीमाई ४, १२ र १३ नम्बर वडामा गरी चारजना डेंगु संक्रमित भेटिएको भेक्टर कन्ट्रोल निरीक्षक चौधरीले बताए । धनगढीमाई १२ का वडाध्यक्ष राजु श्रेष्ठका अनुसार स्थानीय ६ वर्षीय र चार वर्षीय बालक डेंगु संक्रमित भएको पुष्टि भएलगत्तै विराटनगरमा उपचार गरेपछि निको भएका छन् ।