मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २५ सोमबार ११:३१:००
Read Time : < 1 मिनेट
खेलकुद

यू–१९ दुईदिवसीय क्रिकेट हुने 

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २५ सोमबार ११:३१:००

यू–१९ उमेर समूहमा दुईदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ । ग्रेट हिमालयन क्रिकेट एकेडेमीले आयोजना गर्न लागेको प्रतियोगिता १९ पुसदेखि ४ माघसम्म सञ्चालन हुनेछ । मूलपानीस्थित मैदानमा हुने प्रतियोगिता सेतो जर्सी र रातो बलमा खेलाइने आयोजकले जनाएको छ । यो प्रतियोगिता नेपालको घरेलु क्रिकेटमा घोषणा भएको पहिलो बहुदिवसीय प्रतियोगिता बनेको छ । नेपालको घरेलु क्रिकेटमा अहिलेसम्म दुई वा त्योभन्दा बढी दिनको क्रिकेट प्रतियोगिता आयोजना भएको छैन । 

उमेर समूहमै खेलाडीलाई बहुदिवसीय क्रिकेट प्रतियोगितामा अभ्यस्त बनाउने उद्देश्यस्वरूप प्रतियोगिताको आयोजना गर्न लागेको आयोजक ग्रेट हिमालयन क्रिकेट एकेडेमीका अध्यक्ष सुदीप शर्माले जानकारी दिए । ‘हामीले उमेर समूहबाटै खेलाडीलाई बहुदिवसीय खेलमा अभ्यस्त बनाउनुपर्छ भन्ने उद्देश्यले यो प्रतियोगिता आयोजना तयारी गरेका हौँ,’ अध्यक्ष शर्माले भने, ‘हामीलाई विश्वास छ, प्रतियोगिताबाट धेरै खेलाडीले आफूलाई माथिल्लोस्तरको प्रतियोगिताका लागि शारीरिक तथा मानसिक रूपमा परिपक्व बनाउनेछन् ।’

प्रतियोगितामा देशभरबाट ६ वटा क्लब र एकेडेमीले सहभागिता जनाउने आयोजकले जनाएको छ । यद्यपि, सहभागी टोलीको टुंगो लाग्न बाँकी नै छ । प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरी खेलाइनेछ । समूहमा रहेका टोलीले कम्तीमा दुईवटा दुईदिवसीय खेल खेल्नेछन् । त्यसबाट दुवै समूहमा शीर्ष स्थान कायम गर्ने टोली फाइनलमा प्रवेश गर्नेछन् । यही दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । विजेता टोलीलाई नगद पुरस्कारको व्यवस्था भए पनि आयोजकले सार्वजनिक गरेको छैन ।