मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक २५ सोमबार ११:११:००
Read Time : < 1 मिनेट
खेलकुद

दशरथ रंगशाला निर्माणमा खटिएका एकको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक २५ सोमबार ११:११:००

दशरथ रंगशालाको भिआइपी प्यारापिटमा पोल लगाउने काममा संलग्न क्रेनचालक इन्द्रलाल श्रेष्ठको शनिबार दिउँसो हृदयाघातका कारण निधन भएको छ । बा.२क ४७८ नम्बरको क्रेनका चालक श्रेष्ठ लगातार ३७ घन्टा पोल ठड्याउनमै व्यस्त भए । उच्च रक्तचाप र सुगरका रोगी श्रेष्ठले शनिबार ११ बजेसम्म पनि आफ्नो ड्युटी निर्वाह गरिरहेका थिए । शनिबार दिउँसो नै हृदयाघातबाट उनको निधन भयो ।

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) निर्धारित समयमै हुने निर्णय भएपछि रंगशालाको प्यारापिटमा पोल ठड्याउनेदेखि अन्य काम तीव्रताका साथ बढिरहेको छ । मुख्यतः भिआइपी प्यारापिटको छानो राख्न १५ वटा पोल यसै साताभित्र सकाउनुपर्ने भएकाले अहिले यही काममा कामदार ओभरटाइममा छन् । 

कम्पनीको निर्देशनअनुसार ६० वर्षीय श्रेष्ठ एक सातादेखि पोल ठड्याउने मुख्य काममै संलग्न थिए । उनले चलाएको क्रेनले आधाभन्दा बढी पोल ठड्याएको थियो । राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ इन्जिनियर अरुण उपाध्यायले रंगशाला निर्माणमा जुटिरहेका कामदारको निधन भएको स्विकारेका छन् । ‘ठेक्का पाएको कम्पनीले सम्झौताअनुसार नै काम सकाउनुपर्छ, कम्पनीको नियमअनुसार श्रेष्ठले निरन्तर काम गर्नुभयो,’ वरिष्ठ इन्जिनियर उपाध्यायले नयाँ पत्रिकासँग भने, ‘कम्पनीले प्रेसर भएका व्यक्तिलाई त्यति धेरै काम नलगाउनुपर्ने थियो ।’

२ मंसिरमा छानो बिछ्याइने
१५ वटै पोल ठडिएसँगै छानोको काम सुरु हुनेछ । यद्यपि, अहिलेसम्म भिआइपी प्यारापिटमा लगाइने छानो चीनमै छ । परिषद्का इन्जिनियर उपाध्यायका अनुसार २ मंसिर सोमबारका दिन प्यारापिटमा छानोको काम सुरु भइसक्नेछ । ‘अर्को सोमबार भिआइपी प्यारापिटको छानोको काम सुरु हुनेछ,’ उनले भने, ‘यसै साताभित्र प्यारापिटका सबै पोल ठडिनेछन् ।’ चीनमा रहेको छानो थाई एयरलाइन्सबाट कार्गो भएर आउने उपाध्यायले जानकारी दिएका छन् । ‘थाई एयरबाट छानो आउनेछ,’ उनी भन्छन्, ‘छानो आएलगत्तै प्यारापिटमा राख्ने काम सुरु हुनेछ ।’