मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २५ सोमबार ०७:४२:००
Read Time : > 1 मिनेट
सप्तरंग

स्ट्यान्ड–अप कमेडी : कसैको पूर्वतयारी कसैको स्वतस्फूर्त

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २५ सोमबार ०७:४२:००

हास्यकलाकार मनोज गजुरेल अमेरिकामा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको ‘क्यारिकेचर’ गर्दै थिए । उनले लगाएको नक्कली जुँगा अचानक फुत्कियो । गजुरेल रातोपिरो भए, तर नयाँ कमेडी संवाद फुराउँदै उनी सम्हालिए । ‘स्टेज सो’हरूमा झुल्किने हास्यकलाकारका लागि पूर्वतयारी मात्र पर्याप्त नहुने उनी बताउँछन् । भन्छन्, ‘परिस्थिति हेरेर तत्काल संवाद सिर्जना गर्न सक्नुपर्छ ।’

धाराप्रवाह कमेडीका साथ दर्शकलाई आफूतिर खिचिरहन पूर्वतयारी आवश्यक हुन्छ नै । तर, त्यस्तो तयारीको हिस्सा ४० प्रतिशत मात्र हुने गजुरेल बताउँछन् । ‘६० प्रतिशत कमेडी तत्कालीन परिस्थिति हेरेरै तय गरिन्छ,’ उनी भन्छन्, ‘आफू कस्तो समाज, दर्शक र परिस्थितिमा उभिएर कमेडी गरिरहेको छु भन्ने कुराले त्यसको निर्धारण गर्छ ।’ समय र सन्दर्भ विचार गरेर कमेडी गर्न सक्ने कलाकार दर्शकको प्रिय हुने उनको भनाइ छ ।

‘स्ट्यान्ड–अप कमेडी’मा लोकप्रिय बनेका सुबोध गौतम दैनिक दुई घन्टा कमेडीको तयारी गर्छन् । भन्छन्, ‘बाटो, बजार र यात्रामा कमेडीका ‘पन्च लाइन’ भेट्छु । घरमा वा एकान्तमा त्यसलाई थप बलियो बनाउन सोच्छु । लेख्छु, घोक्छु अनि स्टेजमा जान्छु ।’ नेता, कलाकार र सामाजिक जीवनका विभिन्न व्यक्ति गरी सयजनाभन्दा बढीको आवाज ‘क्यारिकेचर’ गर्दै आएका छन्, उनले । एकपटक सुनेको आवाज उनी जस्ताको तस्तै उतार्न सक्छन् । भन्छन्, ‘तर, रेडिमेडभन्दा स्टेजमै फुरेको संवादले दर्शकको मन ज्यादा तानेको पाउँछु ।’

‘पूर्वतयारीको हिस्सा ४० प्रतिशत हुन्छ । ६० प्रतिशत कमेडी तत्कालीन परिस्थिति हेरेरै तय गरिन्छ । आफू कस्तो समाज, दर्शक र परिस्थितिमा उभिएर कमेडी गरिरहेको छु भन्ने कुराले त्यसको निर्धारण गर्छ ।’

हास्यकलाकार सुरवीर पण्डितलाई भने ‘स्टेज सो’हरूमा पनि ‘स्क्रिप्ट’ पाए हुन्थ्यो जस्तो लाग्छ । सुरुदेखि नै स्क्रिप्टअनुसार नै कमेडी गर्दै आएका छन्, उनले । भन्छन्, ‘कमेडीका लागि स्क्रिप्टमै अभ्यस्त छु । टेलीशृंखलाहरूमा संवाद घोकेर कमेडी गर्ने बानी प¥यो । त्यसैले कतिपय स्टेजमा पनि लेखेरै लगेको छु ।’

गजुरेल भने पूर्वतयारीका क्रममा तयार पारिएको स्क्रिप्टलाई ‘गाइडलाइन’ बनाएर आफू अघिल्तिर देखिएका दर्शकको रुचिसम्मलाई ध्यानमा दिँदै सिर्जनशील हुन सक्दा मात्र सफलता मिल्ने बताउँछन् । स्थानीय परिवेश र पात्रलाई पनि समेट्न सक्नुपर्ने उनको भनाइ छ । स्टेजमा उभिने अधिकांश कलाकारले त्यसका लागि कमेडी ‘पन्च लाइन’ कण्ठस्थ गरेरै गएका हुन्छन् । हास्यकलाकार नीरू खड्का त्यसमा माहोल हेरेर नयाँ सिर्जना पनि पस्किन्छिन् । उनी भन्छिन्, ‘दर्शकमा हाँसोको फोहोरा ल्याउने गरी मञ्चमै पनि पन्च लाइन फुर्छ ।’

०३७ सालदेखि निरन्तर कमेडीमा देखिँदै आएका शैलेन्द्र सिंखडा विषयवस्तुमाथि पूर्वाभ्यास गर्दै पन्च लाइन खोजिने बताउँछन् । उनी भन्छन्, ‘कमेडी लाइन विषयवस्तुको पूर्वाभ्यास हो र स्टेजमा पुगेपछि कमेडियनले परिस्थिति हेरेर प्रस्तुति गर्छन् ।’ उनी कवितात्मक शैलीमा कमेडी गर्न रुचाउँछन् । दर्शकको उमेर, मुड र लोकेसनले पनि कमेडियनहरूमा सिर्जनशीलता आउने गरेको उनको भनाइ छ । ‘सोचेर, सम्झेर कमेडी गर्नुपर्छ । समस्या देखाउँदै कमेडी गर्ने हो, कसैलाई होच्याउनु पनि हुँदैन,’ उनी भन्छन् ।

नेपाली कमेडीको सुरुवाती चरणमा भद्दा शारीरिक हाउभाउ र होच्याउने खालका संवादलाई कमेडी भन्ने गरिन्थ्यो । नयाँ पुस्ताका कलाकारले भने हाउभाउभन्दा शब्द संवादमा बढी ध्यान दिने गरेका छन् ।

नेपाली कमेडीको सुरुवाती चरणमा भद्दा शारीरिक हाउभाउ र होच्याउने खालका संवादलाई कमेडी भन्ने गरिन्थ्यो । तर, नयाँ पुस्ताका कलाकारले हाउभाउभन्दा शब्द संवादमा बढी ध्यान दिने गरेका छन् ।